पेशोक सरस्वती उमाविमा शिक्षक नियुक्तिमा भाइभतिजावादको आरोप

0
1022

दार्जीलिङ, 23 जुलाईः पेशोकको सरस्वती उच्चतर माध्यमिक विद्यालयका प्रधान अध्यापकले यस विद्यालयमा आफ्नै सन्तानका धेरै सदस्यलाई शिक्षकका रूपमा नियुक्त गरेको आरोप उठेको छ।

यसै मूल विषयलाई आधार गरी अनइम्प्लोयमेन्ट युथ एण्ड सिटिजन राइट फोरमले आरटीआई गरेको छ। तर, यो आरटीआई गरिएको 3 महिना बितिसक्दा कुनै जवाब नपाएपछि फोरमका कार्यकर्ताहरू क्रमैले प्रभा राई, राजीव योञ्जन आदि मिडियामा आएका हुन्।

उनीहरूले यस विद्यालयका प्रधान अध्यापक योञ्जनले अन्य दक्ष उम्मेदवारहरूलाई टाढ़ा राखेर आफ्नी भाञ्जी बुहारीसमेतलाई नियुक्त गरेको आरोप लगाएका छन्।

यसैले यस विद्यालयमा कार्यरत प्रत्येक शिक्षक-शिक्षिकाहरूको शैक्षिक योग्यता, प्रधान अध्यापकका कतिजना आफन्त यस विद्यालयमा कार्यरत छन् भन्ने जस्ता विषयमाथि पनि प्रश्न गर्दै आरटीआई गरिएको प्रभा राईले बताएकी छन्।

उनले भनिन्, “विद्यालयमा कतिजना स्थायी, कतिजना स्वयंसेवी शिक्षकहरू छन् अनि यस विद्यालयको आर्थिक लेनदेनको जानकारी पनि सार्वजनिक गर्ने माग छौँ। तर, अहिलेसम्म हामीले यसको जवाब पाएका छैनौं।”

यसैले यी प्रश्नहरूका जवाब प्राप्त नभए शीर्ष निकायसमक्ष उजुरी गर्न बाध्य हुने पनि उनले बताएकी छन्।

यसै विषयमाथि बल दिँदै फोरमका कार्यकर्ता राजीव योञ्जनले आफू पेशोककै बासिन्दा रहेको बताउँदै सरस्वती उच्चतर विद्यालयका प्रधान अध्यापक योञ्जनले आफ्नो परिवारका 5 जनालाई यस विद्यालयमा नियुक्त गरेको आरोप लगाए।

राजीवले अझै अघि भने, “सबैका लागि पढ्ने अधिकार प्राप्त हुनपर्छ। तर यस विद्यालयमा विद्यार्थीहरूले पढ़्नका लागि वार्षिक शुल्क पनि भुक्तान गर्नुपर्छ।”

अब यस विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई यहाँ निःशुल्करूपमा पठन-पाठनको सुविधा उपलब्ध गराउनुपर्ने माग राखेका छन्। पेशोकको सरस्वती उच्चतर माध्यमिक विद्यालयमा हाल 400 जना विद्यार्थी अध्ययनरत छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here