कोलकाता, २३ जुलाई : शिक्षक नियुक्ति घोटाला मामिलामा प्रवर्तन निदेशालय अर्थात ईडीले राज्यका मन्त्री पार्थ च्याटर्जीलाई आज बिहान पक्राउ गरेको छ ।
हिजोदेखि ईडीका अधिकारीहरूले पार्थ च्याटर्जीलाई शिक्षक नियुक्ति घोटाला मामिला केरकार गरिरहेका थिए भने आज उनलाई बिहान पक्राउ गरेका हुन् ।
हिजो शुक्रबारदेखि नै ईडीले मन्त्री च्याटर्जी र उनका अत्यन्त नजिकका अर्पिता मुखर्जीको घरमा खानतलासी गरिरहेको छ ।
अर्पिता मुखर्जीको घरबाट ईडीले हिजो २० करोड नगद रुपियाँ जफ्त गरेको छ । यति मात्र होइन अर्पिता मुखर्जीको नाममा केही सम्पत्तिका दस्तावेज पनि प्राप्त भएको र यसको पनि जाँच ईडीले शुरूले गरेको बताइएको छ ।
ईडीले मन्त्री पार्थ च्याटर्जी र अर्पिता मुखर्जीको घर बाहेक अन्य स्थानमा पनि खानतलासी गरेको छ ।
खबरका अनुसार ईडी अधिकारीहरू कोचबिहार जिल्लानिवासी राज्यका एक अन्य मन्त्री परेश अधिकारीको घर पुगेर उनका परिवारका सदस्यहरूसँग कुराकारी गरे ।
यसका साथै ईडीले पश्चिम बङ्गाल स्कूल सेवा आयोग (एसएससी)-का पूर्व सल्लाहकार शान्ति प्रसाद सिन्हा, पश्चिम बङ्गाल माध्यमिक शिक्षा बोर्डका पूर्व अध्यक्ष कल्याणमय गाङ्गुली र अन्य नौजनाको घरमा पनि खानतलासी गऱ्यो ।
स्मरण रहोस् उच्च न्यायालयको निर्देशमा सीबीआईले पश्चिम बङ्गाल स्कूल सेवा आयोगको सिफारिसमा सरकारद्वारा प्रायोजित वा सहयोगप्राप्त स्कूलहरूमा ग्रुप सी र डी –का कर्मचारी एवं शिक्षक नियुक्तिमा भएको कथित घोटालाको जाँच गरिरहेको छ भने ईडी यसै मामिलासँग सम्बन्धित कथित धनशोधनको जाँचमा जुटेको छ ।