दार्जिलिङ, २३ जुलाई : हिजो २२ जुलाईका दिन राज्य सचिवालय नवान्नमा बसिएको ‘जीटीएको अफिसियल रिभ्यु मिटिङ’-लाई लिएर तृणमूल कङ्ग्रेस नेता एवं ब्लुमफिल्ड-ऋषिहाट समष्टिका सभासद विनय तामाङले जीटीए चिफ अनित थापाको तीखो आलोचना गरेका छन्।
साथै नवान्नमा राज्यका मुख्यसचिवसँग भएको भेटलाई ‘जीटीएको रिभ्यु मिटिङ’ भनेर अनित थापाले एकपक्षीय बयान दिएको भन्दै ‘यदि त्यो जीटीएको रिभ्यु मिटिङ हो भने’ एक निर्वाचित सभासदको नाताले यसप्रति आपत्ति जनाउने पनि तामाङले एक प्रेस विज्ञप्तिमा बताएका छन्।
यति मात्र होइन, जीटीए चिफ अनित थापाको यस्तो कार्यलाई ‘एक्लै आफूखुशी निर्णय लिने तानाशाही मनोवृत्ति’-को संज्ञा दिँदै यस्तो कार्यले जीटीए सभाको गरिमालाई ठूलो आघात परेको विनय तामाङको भनाइ छ।
जीटीए रिभ्यु मिटिङमा चर्चा गरिएका सबै विषय जटिल, महत्त्वपूर्ण र संवेदनशील र स्वागतयोग्य हुँदाहुँदै पनि सरकारसमक्ष लैजानअघि जीटीए सभामा किन प्रस्ताव ग्रहण गरिएन? भन्ने उनको प्रश्न छ।
‘उनको (अनित थापा) भनाइमा त्यो जीटीएको रिभ्यु मिटिङ आधिकारिक नै हो भने सो मिटिङको मिनट पश्चिम बङ्गाल सरकारलाई मागेर प्रत्येक निर्वाचित सभासदलाई जीटीए सभामा जानकारी गराइयोस्। सरकारद्वारा बोलाइएको आधिकारिक सभाको मिनट सभा भएको २४ घण्टाभित्र सम्बन्धित निकायकहाँ उपलब्ध गराउने सरकारी नियम-कानुन छ’, तामाङले प्रेस विज्ञप्तिमा भनेका छन्।
अर्कोतर्फ, हिजो बाँडिएको जीटीएका विभिन्न विभागका पदभारलाई लिएर पनि विनय तामाङले अनित थापाको आलोचना गरेका छन्। विशेष गरी केही सभासद्हरूलाई ‘मेम्बर अन् ड्युटी’-माथि उनको आपत्ति छ।
विनय तामाङका अनुसार ‘मेम्बर अन् ड्युटी’ जीटीएको एक्ट-२०११-मा नै छैन।
‘जीटीए एक्ट २०११ उल्लेख नै नभएको प्रावधान मेम्बर अन् ड्युटी पदहरू जुन देखाइएको छ, साथै विभागहरू पनि सुम्पिएको छ-सो गैरकानुनी अनि जीटीए एक्ट २०११ को उल्लङ्घन गरेकोमा म यसको घोर विरोध गर्दछु’, विनयले थप भनेका छन्, ‘हुनसक्छ सबैका मन राख्नका लागि उनले यी उपायहरू निकालेका हुन् – यदि जीटीएको कानुन र संविधानभित्र भएको भए कुनै आपत्ति थिएन तर जीटीए एक्ट २०११-को परिधि बाहिर भएकाले म यसलाई अपमान सम्झन्छु ।
उनका अनुसार जीटीएका पूर्व मुख्य कार्यपाल विमल गुरुङले पनि उनका ज्वाइँ एवं तत्कालीन पेदोङका सभासद् दावा लेप्चालाई २०१२-मा पर्यटन विभागका मेम्बर अन् ड्युटी बनाएका थिए, तर उनलाई पनि त्यसताक राज्य सरकारले अनुमोदन गरेन । यदि जीटीए एक्ट २०११ -मा संशोधन गरी यी पदहरू समावेश गर्नपरे – राज्यको मन्त्रिपरिषद्ले अनुमोदन गरेको हुनुपर्छ । यसरी मन्त्रिपरिषद्ले अनुमोदन नगरी मेम्बर अन् ड्युटी कानुनको विरोध हो ।
‘मैले अघिबाट नै भनेको छु, गैरकानुनी अनि गैरजिम्मेदार कार्यको म विरोध गर्नेछु भनेर – यो गैरकानुनी र गैरजिम्मेदार क्रियाकलाप भएकाले जीटीएको गरिमालाई सम्मान जनाउँदै औ जनताको मतलाई आदर सत्कार गर्दै यो मेरो पहिलो विरोध हो । म आशा साँच्छु यो नै अन्तिम विरोध पनि होस् ताकि आउने दिनहरूमा यस्ता भुलहरू नदोहोरियोस् कसैबाट पनि’ विनय तामाङले भनेका छन्, ‘यस विषयहरूलाई लिएर म एक निर्वाचित सभासद भएकाले म कोलकाताबाट फर्केपछि सम्बन्धित जीटीएमा पदासीन मान्यगणलगायत सरकारपक्षलाई पत्रचार गर्नेछु ।