सिलगढ़ी, 23 अगस्त : रेलवेका कर्मचारीहरूले शुक्रवार बिहानै एनजेपी नजिक रेलवे लीकबाट करिब 10 महिने शिशु उद्धार गरे। त्यसपछि आरपीएफ र जीआरएफका जवानहरूले ती शिशुलाई तत्कालै न्यु जलपाइगढ़ी अस्पतालमा भर्ना गरे।
अस्पताल सूत्रका अनुसार अहिले ती शिशुको अवस्था धेरै राम्रो भएको छ। जानकारीका अनुसार शिशुको शिर र शरीरमा चोटका निशानहरू छन्। रेलबाट शिशु खसेको हुनसक्ने मानिसहरूले अनुमान लगाएका छन्।
रेलवे कर्मचारीका अनुसार शिशु बरामद हुनभन्दा केही अघि 13141 नम्बरको टिस्टा-तोर्सा एक्सप्रेस पार भएको थियो। सम्भवतः त्यसै रेलबाट शिशु खसेको हुनसक्ने अनुमान लगाइएको छ।
अर्कोतिर उक्त घटना सुनेपछि जलपाइगढ़ीका सांसद जयन्त रोय न्यु जलपाइगढ़ी रेलवे अस्पतालमा पुगी शिशुको अवस्थाबारे जानकारी लिएका थिए। साथै शिशुको उचित उपचारका लागि डाक्टरहरूलाई सुझाएका छन्।
सांसद रोयले शिशुको आमा-बुवाको पत्तो नलागेसम्म यी शिशुको उचित हेर्चाह गरिने पनि बताएका छन्। पुलिसले बताएअनुसार यो समाचार लेखुञ्जेलसम्म कसैले पनि शिशु हराएको सम्बन्धमा प्राथमिकी दर्ता गरेको छैन।