दार्जीलिङ, 23 अगस्तः गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आज (आइतबार) गोर्खा नागरिकता दिवस पालन गऱ्यो।
गोरामुमोका विभिन्न भ्रातृ सङ्गठनको पहलमा आयोजन गरिएको यस नागरिकता दिवस समारोहबीचै गोरामुमो दार्जीलिङ शाखा समिति अध्यक्ष अजय एड्वर्डलाई संवर्द्धना पनि जनाइयो।
नागरिकता दिवस पालन गरिएको सम्बन्धमा गोरामुमो केन्द्रिय कार्यालय प्रवक्ता वाई. लामाले भने, “भारतीय गोर्खा र नेपालका नेपाली नागरिकहरूमाझ स्पष्ट अलग पहिचानका लागि नै 27 जुलाई 1986-मा गोरामुमोका संस्थापक अध्यक्ष स्व. सुवास घिसिङको नेतृत्वमा कालेबुङमा सन् 1950-को भारत-नेपाल मैत्री सन्धिको धारा 7 जलाउने कार्यक्रम गरिएको थियो, जसमा सामेल गोर्खाल्याण्डप्रेमीहरूमाथि पुलिस र सीआरपीएफले गोली चलाएर कैयौंको ज्यान लिने कार्य गरेको थियो। त्यसै दिनको स्मरणमा दार्जीलिङ पहाड़मा प्रत्येक 27 जुलाईमा शहीद दिवस पालन गर्ने चलन नै छ। गोर्खाल्याण्ड आन्दोलनको फलस्वरूप 22 अगस्त 1988-को दिन दार्जीलिङ गोर्खा पार्वत्य परिषदमाथि सम्झौता भएको थियो भने 23 अगस्तको दिन तत्कालीन केन्द्रिय गृह सचिवले एक ग्याजेट नोटिफिकेशन जारी गरी भारतीय गोर्खाहरू देशका प्रथम दर्जाका नागरिक हुन् भन्ने स्पष्टीकरण दिएको थियो। त्यसैको आधारमा देशमा एनआरसी लागू होस् वा सीएए, भारतीय गोर्खाहरू पूर्णरूपले सुरक्षित छन्। यसैलाई ध्यानमा राखेर गोरामुमोले बर्सेनि नागरिकता दिवस पालन गर्दै आइरहेको छ।’