विश्व पर्यटन दिवसमा जीटीएले ल्याण्ड रोभर र साइकल ऱ्याली आयोजना गर्ने

0
1125
अनित थापा (फाइल फोटो)

दार्जीलिङ, 23 सेप्टेम्बरः आउँदो 27 सेप्टेम्बरका दिन विश्व पर्यटन दिवसको अवसरमा जीटीएले ल्याण्ड रोभर र साइकल ऱ्याली आयोजना गरेको छ।

आज जीटीए बीओएका अध्यक्ष अनित थापाले यसबारे जानकारी गराएका छन्।

उनका अनुसार यो बृहत् ऱ्याली जीटीएअधीनस्थ पर्यटन विभागले आयोजन गर्नेछ।

यस ऱ्यालीमार्फत् सिक्किम, दार्जीलिङ र कालेबुङका विभिन्न पर्यटकीय केन्द्रहरूसँग पोस्ट कोभिड पर्यटकहरूलाई परिचय गराइने पनि थापाले बताएका छन्।

उनले बताएअनुसार ल्याण्ड रोभर ऱ्याली मानेभञ्ज्याङबाट शुरू भएर चौरस्तामा आएर टुङ्गिनेछ। त्यसरी नै साइकल ऱ्याली सुकेपोखरीबाट शुरू भएर चौरस्तामा आएर टुङ्गिनेछ। ऱ्याली शुरू हुनअघि सहभागीहरूलाई ‘ओरिएन्टेनशन क्लास गराइनेछ। कार्यक्रमको अन्य आकर्षणमा ‘पर्यटन र ग्रामीण विकास-माथि एक कार्यशाला पनि राखिएको छ।

पहाड़को पर्यटनलाई पुनर्स्थापित गर्न विश्व पर्यटन दिवसका दिन आयोजना गरिने ल्याण्ड रोभर र साइकल ऱ्यालीले पर्यटकहरूलाई पहाड़मा पुनः एकपटक आकर्षण गर्ने कुरामा जीटीए बीओएका अध्यक्ष विश्वस्त छन्।

थापाका अनुसार यस ऱ्यालीमा भाग लिन कुनै प्रकारको रजिस्ट्रेशनको आवश्यकता छैन। न त उमेरको छेकाबार नै छ। ऱ्यालीमा स्थानीयलगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय आगन्तुकहरूलाई पर्यटन विभागले सहभागिताका लागि प्रोत्साहित गर्नेछ।

‘मानेभञ्ज्याङस्थित उत्तर पूर्वीय एशियाकै मानिएको सबैभन्दा ठूलो ल्याण्ड रोभर एशोसिएसनको अर्धशताब्दीभन्दा पुरानो, 1960-को मोडल ल्याण्ड रोभर ऱ्यालीमा भाग लिनु पाउनु भन्दा बढ़ी चित्ताकर्षक कुरा के हुनु सक्छ?  पश्चिम बङ्गाल सरकारले पर्यटन विभाग, जीटीएको तत्वावधानमा बृहत् कार्निभलजस्तो ऱ्याली विश्व पर्यटन दिवसको उपलक्षमा 27 सेप्टेम्बर 2020-का दिन भाग लिन सुनौलो मौका तपाईंलाई दिँदैछ’, उनले थप भनेका छन्, ‘2150 मिटर उँचाइमा रहेको मानेभञ्ज्याङ दार्जीलिङ सदर महकुमाको सानो बजार हो। मानेभञ्ज्याङ दार्जीलिङ शहरदेखि 28 किलोमिटर टाढ़ा अवस्थित छ। यो बजारलाई सिङलिला राष्ट्रिय पार्कको ढोका पनि मानिन्छ। 1960-को मोडल ल्याण्ड रोभर नै यो सानो बजारमा प्रयोग हुने यातायातको साधन हो, जसले विश्वमा नै ख्याति पाएको छ।’

जीटीए बीओएका अध्यक्ष अनित थापाले थप भनेका छन्, ‘पश्चिम बङ्गाल सरकार र जीटीए पर्यटन विभाग कोरोना सङ्क्रमणको वैश्विक महामारीपछि सम्पूर्ण सहभागीलाई दुई हात जोड़ी ‘नमस्ते’ गर्दै सहृदय स्वागत गर्दछ।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here