‘शपथ दिवस’ होइन ‘पश्चताप दिवस’ मनाउने विनयको सुझाउ, भने – विमल-रोशनले शहीदहरूको बलिदानको सिँड़ी लगाएर राजनीतिक स्वार्थ पूरा गर्छन्

0
1004
गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङ (फाइल फोटो)। 

खरसाङ, 23 अक्टोबर : गोर्खा जनमुक्ति मोर्चा (दोस्रो खेमा)-का अध्यक्ष एवं गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (जीटीए) -का बोर्ड अव् एड्मिनिस्टेटर (बीओए) विनय तामाङले वरुण भुजेललगायत अन्य शहीदहरूका लागि विमल गुरुङ र रोशन गिरीलाई दोष्याएका छन्। उनले सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, “शहीद वरुण भूजेललगायत अन्य हाम्रा गोर्खे आफन्तहरूलाई शहीद बनाउने परिवेश तयार पार्ने विमल गुरुङ र रोशन गिरीलाई हामी शहीद वरुण भुजेलको शहादत दिवसलाई शपथ दिवस’-को रूपमा होइन,  तर पश्चताप दिवस’-को रूपमा पालन गरून् भनी हामी सुझाउ दिँदछौं, किनभने हरेकपल्ट गोर्खाल्याण्डको नाममा गोर्खाल्याण्डप्रेमीहरूलाई वलिवेदीमा चढ़ाएर उनीहरूले सत्ता हत्याउने र आफ्नो पराक्रम प्रदर्शन गर्ने काममात्रै गरेका छन्।विमल र रोशनले अझै पनि पश्चताप नगरेन बौद्धिक एवं शिक्षित बन्दै गइरहेको गोर्खाहरूको भावी पिँढ़ीले कहिले यी दुई नेतालाई माफी नगर्ने तामाङले बताएका छन्।
उनले विमल गुरुङ र रोशन गिरीले शहीदहरूको बलिदानलाई सिँड़ी लगाएर आफ्नो राजनीतिक स्वार्थ पूरा गरेको आरोप पनि लगाएका छन्। “2007 वर्षमा गोर्खा जनमुक्ति मोर्चाको स्थापनापछि शहीद प्रमिला शर्माको बलिदानको फाइदा उठाउँदै सुवास घिसिङलाई पहाड़बाट धम्कीपूर्ण तरिकाले खेदौरे लगाएर उनीहरूले पहाड़को राजनीतिक बागडोर हत्याए”, विज्ञप्तिमा आरोप लगाउँदै विनय तामाङले भनेका छन्, “त्यसपछि अकबर लामा र 8 फरवरी 2011 –मा सिप्सुका शहीदहरू क्रमैले नीता खवास, विमला राई, बिक्की लामाहरूको बलिदानलाई सिँड़ी बनाएर विमल गुरुङले लगत्तै जुलाई 2011 –मा गोर्खाल्याण्डको सट्टा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा सहीछाप गरी जीटीएको चीफ एक्जुकेटिभ बने। यसपछि पुनः तेलङ्गाना राज्य गठन हुँदा जनाक्रोशलाई साम्य पार्न जुलाई 2013-मा विमल गुरुङले जीटीएको चौकी त्यागेको नाटक गरे र त्यसपछि गोर्खाल्याण्डका लागि आत्मदाह गर्ने अमर शहीद मङ्गलसिंहको बलिदानलाई सिँड़ी बनाएर फेरि केही दिनपछि लगत्तै जीटीए चीफको रूपमा दिसम्बर 2013 –मा कलकत्तामा शपथ ग्रहण गरे।
तामाङले विज्ञप्तिमा थप आरोप लगाए अनुसार  2007 सालदेखि शहीदहरूको वलिदान र गोर्खाल्याण्डको सपनालाई बेच्दै आउनेहरू विमल गुरुङ र रोशन गिरी नै हुन्। विमल गुरुङ सत्तामा रहँदा नै मदन तामाङको हत्याकाण्डजस्ता घटनाहरू घटेको पनि सर्वविदित नै छ”, उनले विज्ञप्तिमा लेखेका छन्।
विनयले यो विज्ञप्ति विमल गुरुङले आगामी 25 अक्टोबरको दिन वरुण भुजेलको पुण्यतिथिलाई शपथ दिवसको रूपमा पालन गर्ने निर्णय गर्दै जारी गरेको प्रेस विज्ञप्तिमाथि प्रतिक्रियास्वरूप दिएका हुन्। यसैले विज्ञप्तिमा तामाङले गुरुङ र गिरीको खोइरो खन्दै विभिन्न आरोप लगाएका छन्। उनले गुरुङ र गिरीले गोर्खाल्याण्डको नाममा युवाहरूलाई ब्रेनवासगरी हतियार र हिंसात्मक आन्दोलन गरेर आफै भूमिगत भएपछि अहिले आएर फेरि 105 दिनको आन्दोलनकालका शहीद वरुण भुजेललगायत अन्य शहीदहरूको बलिदानलाई सिँड़ी बनाएर गुमेको सत्ता पुनः हात पार्ने प्रयास गरिरहेको थप आरोप लगाएका छन्। “2007 सालदेखि यताको विमल गुरुङले आफ्नो राजनीतिक करिअर नै गोर्खाहरूको रगतले कोरेका छन्। विमल गुरुङ गोर्खाल्याण्डको नाममा निर्दोष गोर्खाल्याण्डप्रेमीहरूलाई वलिवेदीमा चढ़ाएर सत्ताको सुखभोग गर्ने स्वार्थी नेतामात्र हुन्। विमल गुरुङको गणतान्त्रिक आन्दोलन कालमा पार्टीका धेरैजना नेतृत्व र कार्यकर्ता बेपत्ता भएका छन्। उनीहरू जीवित छन् या हत्या गरियो, कसैलाई थाह छैन”, विज्ञप्तिमा विनय तामाङले गम्भीर आरोप लगाएका छन्।
उनले पछिल्लो 105 दिनको आन्दोलनमा आफ्नो ज्यानको बलिदान दिने शहीद वरुण भुजेललगायत अन्य सबै शहीद क्रमैले विमल शशाङ्कर, महेश गुरुङ, सुनिल राई, टासी भोटिया, सुरज भुसाल, समीर गुरुङ, अशोक तामाङ, आशिष तामाङ, दावा छिरिङ भोटिया र रोमिला राई आदिप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
विमल गुरुङको खोइरो खन्दै उनले विज्ञप्तिमा लेखेका छन्, “आफू सुरक्षित बसेर जनतालाई निधारमा गोली थाप्न लगाउने र यस प्रकारको हिंसात्मक स्थिति सृजना गर्ने कारक तत्त्वहरूको हामी खुलेर विरोध गर्दछौं। गोर्खाल्याण्डका लागि धेरैलाई शहीद बन्न उक्साउने, सयौंलाई जेलमा सड़ाउने तर आफूचाहिँ जेल जानसमेत डराउने तथा जनतालाई भने भावनामा डुबाएर शहीद बन्न अह्राउने नेताहरू गोर्खाल्याण्डका लागि होइन, तर सत्ताप्रेमी हुन्। आजसम्म पनि उनीहरू गोर्खाल्याण्डका लागि होइन, तर जेल जानुपर्ने डरले मात्रै भाग्दै हिड़िरहेका छन्। यदि यो दाबी झूटो हो भन्छन् भने रोशन गिरी र विमल गुरुङले गोर्खाल्याण्डका लागि भनेर एकैदिन पनि जेल गएको अथवा अनशन बसेको रेकर्ड देखाऊन्, हामी चुनौती दिन्छौं।
तामाङले आफूहरूको मूल माग गोर्खाल्याण्ड रहेको पनि विज्ञप्तिमा दाबी गरेका छन्। साथै यो संवैधानिक मागलाई संवैधानिक एवं बौद्धिक आन्दोलनमार्फत् नै प्राप्त गर्ने विनयको दाबी छ। गोर्खाल्याण्डप्रेमीहरूलाई मारेर होइन, तर उनीहरूलाई बचाएर हामी गोर्खाल्याण्ड राज्य गठन गर्नेछौं। यसका लागि देश, काल अनि परिस्थिति अनुकूल बनाउनु आवश्यक छ”, उनले विज्ञप्तिमा दाबी गरेका छन्, “हामी त्यसैको पूर्वाधारहरूको विकास गर्न लागिपरेकाछौं। देशका लागि रगत बगाउने गोर्खाहरूले अपमानित बनेर होइन, तर सम्मानित बनेर नै एकदिन गोर्खाल्याण्ड थाप्नेछन्। यो हाम्रो प्रतिबद्धता हो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here