आफ्नै बूथ जित्न नसक्नेहरूले सांसदमाथि हमला गर्दैछन् : विमल

0
1193
विमल गुरुङ।

कालेबुङ, २३ अक्टोबर : सांसद राजु विष्टमाथि कालेबुङको ४२ नम्बरपर्ने सिञ्जीनजिक मन्दिर खोलामा भएको हमलाको गोर्खा जनमुक्ति मोर्चा पहिलो खेमाका अध्यक्ष विमल गुरुङले तीखो शब्दमा भर्त्सना गरेका छन्।

मङ्गलवार गुरुङले प्रेसविज्ञप्ति जारी उक्त हमलाको तीखो शब्दमा निन्दा गरेका हुन्। यसका साथै सांसदको लश्करमाथि हमलाका दोषी तथा यो हमलाका षड़यन्त्रकारीहरूलाई चाँड़ोभन्दा चाँड़ो पक्राउ गर्नपर्ने माग गरेका छन्।

‘निजी आनन्द र स्वार्थका लागि हाम्रो मातृभूमि बेच्ने एकमुठी मान्छेले दार्जीलिङका सांसद राजु विष्टमाथि कायरतापूर्ण र घृणित प्रकारले आक्रमण गरेको घटनाले मलाई विरक्त पारेको छ’, विज्ञप्तिमा उनले भनेका छन्, ‘जसको जनाधार शून्य छ, जसले आफ्नै बूथबाट पनि चुनाउ जित्न सकेको छैन, उनीहरूले आज पहाड़, तराई र डुवर्सका जनताले मन पराएका माया गरेका निर्वाचित जनप्रतिनिधिलाई आक्रमण गर्ने आँट गरेका छन्।’

विमलले थप भनेका छन्, ‘हाम्रो मागलाई बेचेर जीटीएको बोर्ड अव् एड्मिनिस्ट्रेशन र अन्य कुर्सीमा नोमिनेटेड भएर बसेकाहरूले आज फेरि एकपटक आफैलाई अनि उनीहरूलाई पैसाले किन्नेहरूलाई पनि लज्जित पार्दै जनप्रतिनिधिलाई आक्रममण गरेका छन्।’

सिञ्जीस्थित भक्तिमाया प्राथमिक पाठशालाको स्वर्ण जयन्ती कार्यक्रममा भाग लिन गइरहेका सांसदको बाटो रोक्ने तथा आक्रमण गर्नेहरूले आज हजारौं युवा अनि नानीहरूको भविष्यलाई खतरामा हालेका पनि बताएका छन्।

‘उनीहरू आज पनि ५००० भन्दा अधिक युवालाई घर-परिवार छोड़ेर बाहिर बस्न बाध्य गराउनेहरू हुन्’, गुरुङले भनेका छन्, ‘सयौं गोर्खाल्याण्ड समर्थकहरूलाई पक्राउ गर्न जाल बुन्ने, गोर्खाल्याण्ड समर्थकहरूको घर जलाउने, कुड्की गर्न लगाउने यिनीहरूले नै हुन्।’

विमलका अनुसार मुख्यमन्त्री पहाड़ आएको बेला उनी बसेको करिब १०० किमोमिटरको दूरीमा सांसदमाथि आक्रमण हुनु भनेको तृणमूल कङ्ग्रेसको पक्षमा जनाधारलाई नीच  देखाउने सुनियोजित षड़यन्त्र हो। राज्यको कानून व्यवस्था पूर्ण रूपले ध्वस्त भएको ज्वलन्त उदाहरण हो।

‘यदि सांसद नै सुरक्षित हुँदैनन् भने जनताको सुरक्षाको आशा कसरी गर्न सकिन्छ?’, गुरुङले प्रश्न गरेका छन्। यसका साथै हिंसाको राजलाई अन्त्य गर्न सबै जनता एक भएर उभिदिने अपील गरेका छन्।

अर्कोतिर, विमल गुरुङपन्थी युवा मोर्चाले पनि सांसद राजु विष्टमाथि भएको घटनाको घोर भर्त्सना जनाएको छ। साथै उक्त घटनाका दोषीहरूलाई यथाशीघ्र पक्राउ गर्नुपर्ने माग गरेका छन्। 

‘जनप्रतिनिधिलाई जनताका समस्याहरू बुझ्न जान आवश्यक छ, जसको उठान संसदमा गर्न जरूरी छ। सांसद विष्टले आजसम्म नउठाएका कुराहरू संसदमा उठाइहेका छन्। अनि २०२४ अघि नै दार्जीलिङ तराई डुवर्सको समस्याको राजनीतिक स्थायी समाधान गर्ने र हुने भनिसकेका छन्’ विमलपन्थी युमो अध्यक्ष प्रकाश गुरुङले भनेका छन्, ‘हिजको आक्रमण राजु विष्टको मनोबल टुटाउन तृणमूल कङ्ग्रेस प्रायोजित घटना हो। भर्खरै भ्रमणमा रहँदा ममता ब्यानर्जीले बङ्गालमा विभाजनको राजनीति हुन नदिने भनेकी थिइन्। हिजको घटनाले प्रमाण गर्दछ, पैसा र आफ्नो स्वार्थका लागि विनय र अनित पन्थीहरूले कति नीच राजनीति गर्न सक्छन्। अनि, दिदी (ममता)-लाई खुशी बनाउन कुनै पनि हदसम्म झर्नसक्छन् भन्ने सत्यता सांसद आक्रामणको घटनाले प्रमाणित गरेको छ यस प्रकारको राजनीतिलाई युवा मोर्चा ठाडो खण्डन गर्दछ।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here