रोज काट्ने कुराले क्षुब्ध, सिङ्तामका श्रमिकहरूले भोलिदेखि काम बन्द राख्ने

0
1199

दार्जीलिङ, २३ अक्टोबरः सिङ्ताम चियाकमानका श्रमिकहरूले भोलि अर्थात् बिहीवारदेखि काम नगर्ने घोषणा गरेका छन्। यो चियाकमान  दार्जीलिङ शहरदेखि करिब १० किलोमिटर टाढ़ा अवस्थित छ।

चियाकमानका प्रबन्धनपक्षले केही साताअघि भएको बोनसको मागमा गरिएको दैनिक 2 घण्टा गेटसभाको हिसाब गरेर श्रमिकहरूलाई एक दिनको रोज नै नदिने अड़ान राखेको छ।

प्रबन्धनपक्षको यस्तो अड़ानले क्षुब्ध भएका सम्पूर्ण श्रमिकहरूले कारखानाअघि विक्षोभ प्रदर्शन गरेका थिए। यसका साथै अन्य मागहरूका लागि पनि ती श्रमिकहरूले आवाज उठाउरहेका थिए।

तरै पनि प्रबन्धनपक्षले उनीहरूको मागबारे कुनै ठोस आश्वासन नदिएको कारण यहाँका श्रमिकहरूले भोलिदेखि बगानको काममा नजाने निर्णय गरेको विनयपन्थी गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियन (डीटीडीपीएलयू) सिङ्ताम शाखाका नेता अनुप राईले जनाए।

यसबारे बोल्दै उनले भने, “यस चियाकमानका मालिकवर्गले चियाश्रमिकहरूमाथि विगत धेरै वर्षदेखि नै शोषण गरिरहेको छ। यति मात्रै होइन, गत केही दिनअघि चियाकमानमा बोनसका लागि भएका दैनिक २ घण्टाको गेटसभाको हिसाब गरेर श्रमिकहरूलाई एकदिनको रोजी नै नदिने अड़ान राखेको छ। आज यसै विषय लिएर कमानका सम्पूर्ण चियाश्रमिकले कारखानाअघि विक्षोभ प्रदर्शन गरेका थिए। तरै पनि चियाबगान मालिकपक्ष एकदिनको रोजी कुनै पनि स्थितिमा नदिने अड़ानमा अडिग बसेको छ।”

यसैकारण यहाँका चियाश्रमिकहरूले भोलिदेखि काममा नजाने निर्णय लिनका साथै  चियाकमानमा रहेको रिसोर्ट पनि बन्द गर्ने चेताउनी दिएको तामाङले बताएका छन्। उक्त रिसोर्ट यसै चियाकमानका श्रमिकहरूलाई लगाएर सञ्चालन गरिरहेको त यसबाट कमानका मालिकले राम्रो आयआर्जन गरिरहेको तामाङको भनाइ छ।

“अहिले चियापत्तीको मौसम होइन, तर यो रिसोर्टले गर्दा चियाकमानको आयआर्जन राम्रो छ”, तामाङले भने। यसैले यो चियाकमान नोक्सानमा चल्दैछ भन्ने प्रबन्धनपक्षको दाबी एकदमै झूटो रहेको उनले बताए।

यसैबीच, यस चियाकमानका श्रमिकहरूले पाउनुपर्ने सहुलियतहरू सही समयमा पाउनुपर्ने, रहल ८ प्रतिशतको बोनस पनि सही समयमा पाउनुपर्ने माग गरिरहेका छन्।

यसका साथै भोलिदेखि यहाँका चियाश्रमिकहरू काममा नजाने विषय लिएर आज नै चियाकमान प्रबन्धकवर्गलाई पत्र दिएको तथा सह-श्रमायुक्तलाई पनि शीघ्रै पत्र दिने योजना तयार पारिएको पनि तामाङले जनाए। हाल सिङ्ताम चियाकमानमा लगभग ८५० जना श्रमिक-कर्मचारी कार्यरत छन्।

यति मात्रै होइन, यस चियाकमानले विशेष चियापत्ती नहुने समय अर्थात् वर्षको करिब ४ महिना चियाश्रमिकहरूलाई बगानमा कुनै काम नगराउने योजना बनाएको पनि तामाङले जनाए, जुन निर्णयको पनि यहाँका श्रमिकहरूले विरोध जनाइरहेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here