कालेबुङ, 23 अक्टोबर : कालेबुङको सिञ्जीनजिक मन्दिर खोलामा मङ्गलवार सांसद राजु विष्टमाथि भएको हमलाको अखिल भारतीय गोर्खा लीग प्रताप गुटका महासचिव प्रताप खातीले तीखो शब्दमा भर्त्सना जनाउँदै ‘नयाँ सोच, नयाँ विचार’-का नारा दिनेहरू नै अहिले हिंसाको राजनीतिमा ओर्लेर दार्जीलिङ पहाड़मा आतङ्कको माहोल सिर्जना गरिरहेको आरोप लगाए।
जनसंवादसँग कुराकानी गर्दै उनले भने, “राज्यको आड़मा विनयपन्थी गोजमुमोले दार्जीलिङ पहाड़मा आतङ्क सिर्जना गर्दैछ। उनीहरूको जनाधार पनि छैन। राज्यले पालेको भरमा यहाँ राजनीति गर्दैछ।”
यसै सन्दर्भमा उनले मदन तामाङ हत्याकाण्डका धेरजसो आरोपी अहिले गोजमुमो-2 मा रहेको बताए।
“हाम्रा नेता मदन तामाङको हत्या गर्ने धेरजसो आरोपी पनि अहिले गोजमुमो-2-मा नै छ। एकजना भाइले त यहाँ घर जलाउने, मान्छे मार्ने हामीसँगै छन् भनेर स्वीकार पनि गरेका रहेछन्। यसका लागि पुलिसले कारबाही गर्न पर्नेछ”, गोर्खा लीग नेता खातीले भने। अर्कोतिर, उनले पुलिसको भूमिका पनि प्रश्न गर्दै निष्पक्ष भएर कार्य गरिदिने माग गरेका छन्। “पुलिस राज्यको नोकर होइन। तर, जनसेवक हो। यसैले पुलिस प्रशासनले निष्पक्ष भएर काम गर्नुपर्छ। हामी यो हमलामा पुलिसले निष्पक्ष भएर कार्य गर्नेछ भन्ने आशा गरेका छौं”, गोर्खा लीग महासचिवले भने।
अर्कोतिर, उनले दार्जीलिङ पहाड़मा संविधान धारा 355 लागू गरिनुपर्ने र यसका लागि सांसद विष्टले पहल गर्नुपर्ने माग गरेका छन्। यसैबीच उनले विनयपन्थी गोजमुमोले हिजो पत्रकार सम्मेलनमा दिएको बयानलाई पनि तीखो शब्दमा खण्डन गर्नअघि झूट बोल्नअघि एकपटक सोच्नपर्ने सुझाए।
“हिजो विनयपन्थी मोर्चाकाहरूले गरेको पत्रकार सम्मेलन सुने। तर त्यति साह्रो झूटो पनि बोल्नु हुँदैन। नेता भएपछि आफूले र आफ्ना साथीहरूले गल्ती गरेका छन् भने जिम्मा लिनु सक्नु पर्छ। जिम्मा लिन नसक्नेले राजनीति नगरेकै राम्रो हो”, उनले थपे, “हिजो राजु विष्टमाथि जुन प्राणघातक हमला भयो, उनका साथीहरूलाई कुटपिट गर्ने, गाड़ी-बाइकहरू फुटाउने जुन घटना भयो, त्यसलाई भर्त्सना गर्ने शब्द नै छैन।”
साथै अहिले दार्जीलिङ, खरसाङ र कालेबुङ क्षेत्रमा कानून व्यवस्था एकदमै खराब रहेको पनि दाबी गरे।
“यहाँ यूएपीए हुनेहरू बङ्गाल सरकारसँग मिलेर खुल्ला रूपले हिँड़िरहेका छन्। यहाँ नगरपालिकाका अध्यक्षलाई मार्ने खोज्नेहरूलाई बेल दिइन्छ। त्यस्ता व्कतिहरू पनि पुलिससँगै हिँड़िरहेका छन्” गोर्खा लीग नेताले थपे, “यूएपीएमा हुने अरूको भने घर कुड्की गरिन्छ। जेलनेल भएको छ। यहाँ पुलिसले दुई प्रकारको नीति अपनाइरहेको छ।”