सिङ्गो भूभाग र जातिको ‘परिचय’ खोज्ने डा. होम बहादुर छेत्री

0
923

० ज्ञानेन्द्र खतिवडा

बगुन्द्रो असफलताले छोपिएको दार्जिलिङको महाकाल डाँडा र धिरधाम भनौँ इष्ट देवता (देवभूमि) अझ भनौँ जन्मस्थानका सबै सबै मोह त्यागेर उमेरको त्यो शेष भाग सालबारीमा बिताउन आइपुगे डाक्टर होम बहादुर छेत्री ।

दार्जिलिङेलाई फलेको फुलेको हेर्न चाहने डाक्टर छेत्रीले तर सधैँ  दार्जिलिङ कोपिलामै ओइलिएको देखेर साह्रै दुखी थिए । भन्थे डाक्टर छेत्री – ‘दार्जिलिङेले राजनीति शुरूदेखि नै अर्काको मुख ताकेर गर्नथालेको अर्काकै इसारामा लागेर हो । आफ्नो जनतालाई बन्धक राख्ने नेतृत्व जन्माइरह्यो दार्जिलिङले । त्यही नै दार्जिलिङको दुर्भाग्य बन्यो । साहित्यकार (रूपनारायण सिंह छाडेर) कोही दुरदर्शी निस्किएन । पहाडको राजनीतिक नेतासितै धेरै साहित्यकार पनि त्यतिकै दोषी छन् । भिजन नभएकाहरू…।’

यसैले डाक्टर होमबहादुर छेत्री सालबारी झरे । हो, दुई काँधमा दुई झोला झुण्ड्याएरै आइपुगे सालबारी । दाहिने काँधको झोलाभित्र शिशुहरूका लागि शिक्षा र देब्रे काँधको झोलाभित्र शिशु र जन-साधारणका लागि औषधिमूलो बोकेर डा. छेत्री असफलताको थुप्रोले पुरिएको दार्जिलिङ सहरलाई सधैँका लागि छोडे । र, त्यही दार्जिलिङ जिल्लाको पुछारको महकुमाको सिरान सालबारीमा आइपुगे ।

सित्तल दार्जिलिङको वातावरणमा जन्मिएर हुर्किएका डाक्टर छेत्रीले उमेरको त्यो पछिल्लो भाग सालबारीको प्रचण्ड गर्मीलाई बरु सहर्ष रुचाए । तर असह्य असफलताको डङ्गुरले छोपिएको जन्मस्थानलाई बाई बाई नै गरे ।

र त उमेरको त्यो रहल समय र पसिना सालबारीकै सेवा र समर्पणका लागि भनेर भाग लगाए । डा.  छेत्री पहाडबाट झर्दा एउटै गतिलो प्राथमिक विद्यालयसम्म थिएन सालबारीमा । स्वास्थ्यको पहिलो आधा वर्ण ‘स’ सँग  सालबारीको कुनै साइनो नै थिएन । सालबारी अलिक मानिस मानिसजस्ताहरूले बास गर्ने ठाउँ झण्डै झण्डै थिएन । छेउको सुकुनाको पटेर जङ्गलको अँध्यारो अनुहार समयको पानीले पखालिसकेकै थिएन, यहाँको अनुहारभित्र लुकेको आचरण र स्वभावमा । 

यसैले डाक्टर छेत्रीले विद्यालय खोले र शिक्षा दान गर्न शुरू गरे । विद्यालयमा भएको त्यही प्रिन्सिपलको आफ्नो कार्यालयमा बिरामीहरूको स्वास्थ्य निःशुल्क जाँचे र बिनामूल्यमा औषधि वितरण गरे । यसरी शिक्षा र स्वास्थ्य सँगसँगै दान गरिरहे । डा. छेत्रीबाट सालबारी र वरपरका शिशुहरूले शिक्षा र रोगीहरूले निरोगी शरीर पाइरहे ।

+ + +

सालबारीलाई सत्ता र शासकले सधैँ  सानीआमाले ध्रुवलाई हेर्ने लेन्सबाटै हेर्थ्यो / हेरेर देख्नेगर्थ्यो । र, सधैँ  यसरी नै  हेर्छ पनि / देख्छ पनि ।

+++

देशले अघिल्लो शताब्दीको सत्तरको दशकमा आपत्कालीन शनि ग्रह भोगिरहेको समय दार्जिलिङ सहरभित्रैबाट डा. छेत्री र लेखवीर गुरुङहरू माटो र जातिको परिचय बोकेको परिचय नामक पुस्तिका प्रकाशन गर्नतिर व्यस्त थिए ।

कस्तो आँट र उत्साह । जोश र जाँगर । भयमाथि भावनाको चढाइ । जातीय जाग्रतिको आह्वान । दुई-चार सचेत साथीको सत्प्रयास । ठगिएको, लुटिएको जातीय अस्मिताको उन्मुक्तिको  कामना । शुभ पहल । कठोर पहल । तर, प्रशासनले उक्त पुस्तिकाबारे आफ्नो मालिकलाई पोल झोस गरेरै छोड्यो । प्रशासनका ती पोलाहा अधिकारी सधैँ  ठगिएरै अस्तित्व गुम हुनलागेकै गोर्खा जातिभित्रकै हाकिम थिए ।

प्रान्त परिषद् र गोरामुमोको जन्म पनि भएको थिएन त्यस समय । डाक्टर छेत्रीहरू भने जाति र माटाको परिचय गराउँदैथिए । युगौँदेखि ठगिएका पहाडी जन-मानसलाई आपत्कालको त्यो अँध्यारा गल्ली गल्छेँडामा पनि आफ्नो माटो र अस्तित्वको परिचय दिइरहेका थिए ।

डा. छेत्री र लेखवीर गुरुङहरूले नै आँट र आधार जोगाड गरिदिएको बाटो हुँदै प्रान्त परिषद् र गोरामुमोको हौसला बढेको कुरो पनि सम्झनामा ल्याउँदा अनर्थ नहोला कि ! प्रान्त परिषद्ले सुकेमा छ्वास्स झोस्यो, हो । गोरामुमोले चलाकीसित त्यही झोसेको अँगेनामा पुल्ठो बालेर कुद्नथाल्यो ।

यसरी कुदेको, कहिलेको गोरामुमो र कहिलेको गोजमुमो आफ्ना  कुदाइको रिले रेसमा दुवैले बोकेको ब्याटनलाई बिचबाटैमा फ्याँकेर कुदेको  देखे जन-साधारणसितै डा. छेत्री र लेखवीर गुरुङहरूले ।

यसैले आफ्नो होमल्यान्ड दार्जिलिङलाई डा होमबहादुर छेत्रीले मनबाट निकाल्न सकेनन् ।  सालबारीमा त्यो होमको तृष्णा मेटाउन होम निर्माण कन्स्ट्रक्सन कम्पनी एसके छेत्रीसित मिलेर खोल्नपुगे । उनले खोजेको परिचयभित्र जातिकै होम थियो । त्यही जातिको होमलाई सालबरीस्थित चार तल्ले विशाल होम निर्माण गरेर तृष्णा मेटाए । खोजेको परिचय पाए पाएनन्- त्यो हामीलाई थाहा नदिई मध्यरातमा सुटुक्क गए । हो, त्यही होम-निर्माण कन्स्ट्राक्सन कम्पनीद्वारा निर्मित बास भवनमा नै दुई हजार बाइस सालको विजय दशमीको रात बितेर गए । विजय भएर बिते कि पराजय भएर – त्यो पनि थाह पाएनौँ हामीले । तर गए उनी । 

जातीय मुद्दाको ठुलो भार उमेरभरि बोकेर परिचय खोज्दै खोज्दै बिते । सिङ्गो सिक्किमको बेवारिसे भूभागको अनुहारलाई बान्की दिन उनी सधैँ तत्पर रहन्थे । यसैले त परिचय खोज्दै हिँडे । जातीय एकतामा खलल उत्पन्न हुन्छ कि भन्ने शङ्का र उपशङ्काले सधैँ साह्रै चिन्तित रहन्थे उनी ।

दार्जिलिङ जिल्लासितै डुवर्स भूभागमा माटासितै टाँसिएको आफन्तहरूको परिचय खोज्न पुगे परिचय नामको पुस्तिका प्रकाशित गरेर । परिचय प्रकाशित भएको समय देशले भने गणतन्त्रलाई सत्ताको बुटले किचिमिची बनाएर पिस्दैथियो । देशले देशभरिकै राजनेताहरूलाई अँध्यारो कालकोठरीमा कोचिरहेको समय डा. छेत्री र लेखवीर गुरुङहरू भने नेपाली /गोर्खालीको परिचय खोज्दै प्रशासनलाई हाँक दिइरहेका थिए। सत्ता र सेनासित पौठेजोरी खोज्दै थिए ।

देश हाँक्ने सत्ताको शासक भने हान्ने गोरु भएर जताततै ढुक्रिरहेको समय थियो त्यो आपत्कालीन समय । प्रजातन्त्र आफै निमुखा जनतासँग टाढिएर जेलभित्र कैदीको कालो पहिरण पहिरिएको थियो । अक्षर र शब्दहरू/ आवाज र सूचनाहरू सत्ताको बन्दुकको नालमा झुण्डिएर आत्महत्या गरिरहेको समय थियो ।

आपतकालले सिङ्गो देशको जनतालाई भोटेताला लगाइदिएको समय होमबहादुर छेत्री र लेखवीर गुरुङहरू बङ्गालभित्र नेपाली जाति कागका माझमा बकुल्ला बनाइएको अवस्थाबाट उन्मुक्ति खोज्न आ-आफ्ना कलमलाई घसेटिरहेका थिए ।

+++

सालबारीमा झरेर डा. छेत्रीले स्प्रिङफिल्ड अकादेमी खोले । दुई तीन साथीका साथ र सहयोग लिए । तीमध्ये अन्यतम थिए, स्थानीय शिवकुमार छेत्री । दार्जिलिङ छोडेर पनि डाक्टर छेत्रीले दार्जिलिङका मानिसहरूलाई होमियो चिकित्साको सुविधाबाट वञ्चित गराएनन् । सप्ताहान्तका दुई दिन सिलगढी सहरबाट दुईचार काटुन औषधिमूलो किनेर शनिबार र आइतबार रोगी जाँच्न र निःशुल्क औषधि वितरण गर्न दार्जिलिङ पुग्थे । हरेक शुक्रबार विद्यालय बन्द भएपछि डा. छेत्री उकालो लाग्थे ।

केही समय डा. छेत्रीले सालबारी र वरिपरिका बिरामीहरूलाई पनि रोग जाँचेपछि औषधि निःशुल्क नै वितरण गर्थे । तर यता अलकत्रा पनि फोकटे पाए खाने मानसिकता भएको मानिसहरूका सङ्ख्या धेरै देखेर डाक्टर छेत्रीले औषधि निःशुल्क वितरण गर्न बन्द गरे । रोगीहरूलाई जाँच गरेपछि पर्चामा औषधिको नाम लेखेर छेवैको सिलगढी सहरमा गएर लिने सुझाउ दिन्थे । डा. छेत्री भन्थे- “दार्जिलिङमा होमियोको औषधि पसल  छैन । भए पनि सबै औषधि पाइँदैन । यसर्थ  म दार्जिलिङमा निःशुल्क वितरण गर्दैछु । दार्जिलिङमा पनि त्यस्ता औषधि पाइने पसलहरू भए म रोगीमात्र जाँच्न जान्थेँ ।”

सालबारीमा प्रमिथियसको पुल्ठो र  सेमुएल हेनिमनको हातको होमियोका साथमा प्रवेश गरेका डा. होमबहादुर छेत्री भर्खरै सिद्धिएको गोर्खाहरूको सांकृतिक चाड दसैँको दशमीकै दिन बिते । दार्जिलिङको माटाले १९ मई १९२७ मा जन्माएको एकजना महान् सपुतको जाति र माटाको परिचय खोज्दै खोज्दै अन्तमा जीवनको अन्त्य भयो।

 शिक्षा र स्वास्थ्यजस्ता अत्यन्त महत्त्वपूर्ण विषय दान गर्ने  विशाल हृदयका डाक्टर हाम बहादुर छेत्रीलाई  शब्द समय सालबारीले श्रद्धाञ्जलि अर्पण कार्यक्रम आयोजना गरेर श्रद्धा-सुमन प्रकट गऱ्यो । यस्ता गुनिलो मानिसको गुण मान्यो ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here