मिरिक, 23 नोभेम्बरः गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-का अध्यक्ष मन घिसिङ अहिलेघरी दार्जीलिङ महकुमाका विभिन्न समष्टिमा पुगिरहेका छन्।
जनसम्पर्क अभियान नाम दिएको उक्त समष्टि भ्रमणअवधि घिसिङले जनताका दुःख र समस्या बुझ्नका साथै साङ्गठनिक सुदृढ़ीकरणबारे पनि चर्चा गरिरहेको बताइएको छ।
रिम्बिक-लोधोमा समष्टिबाट पछिल्लो 17 नोभेम्बरदेखि शुरु गरिएको जनसम्पर्क अभियान अवधि शनिवारदेखि मिरिक क्षेत्रअन्तर्गत् विभिन्न ठाउँको भ्रमण शुरु गरेका छन्। यसअवसरमा उनीसँग गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीका अध्यक्ष अजय एड्वर्डलगायत मिरिकका पदाधिकारीवर्ग पनि उपस्थित छन्।
गोरामुमो मिडिया सेलका प्रभारी दिनेश साम्पाङले जानकारीअनुसार गोरामुमो अध्यक्षले दार्जीलिङ पहाड़, तराई-डुवर्सको वर्तमान स्थिति र राजनीतिक गतिविधि तथा क्षेत्रका मुद्दाहरूलाई लिएर भइरहेका कार्यहरूबारे जनतालाई अवगत गराइरहेका छन्।
जानकारीका अनुसार भ्रमणअवधि घिसिङले पार्टीका कार्यकर्ताहरूसँग पनि साङ्गठनिक गतिविधिबारे चर्चा गर्नका साथै पुराना कार्यकर्ताहरूसँग पनि भेटवार्ता गरिरहेको बताइएको छ।