पत्रकारितामा कोभिड 19-को प्रभावमाथि कार्यशाला

0
943

गान्तोक, 23 नोभेम्बरः  कोभिड-19 ले पत्रकारितामा परेको प्रभाव र पत्रकारमाथि हुने अपराधलाई नियन्त्रण गर्ने विषयलाई लिएर इण्डियन जर्नलिस्ट युनियनको सहयोगमा सोमबार जर्नलिस्ट युनियन अव् सिक्किमले एउटा कार्यशाला आयोजन गऱ्यो।

यस कार्यशालामा राज्यका विभिन्न डिजिटल तथा प्रिन्ट मिडिया हाउसमा कार्यरत् युनियनका सदस्यहरूले भाग लिएका थिए।

कार्यशालाको मुख्य विषयमाथि युनियनका सदस्य तथा सिक्किम एक्सप्रेसका एसोसिएट एडिटर विजय गुरुङले मुख्य वक्ताका रूपमा सम्बोधन गरे।

कोभिड-19 महामारी र लकडाउनको अवस्थाले पत्रकारहरूले आर्थिक रूपमा प्रभावित बनेको उल्लेख गर्दै कोभिड कालको प्रभावपछि गएर अझ व्यापक हुनसक्ने सम्भावना रहेकाले मिडिया हाउस र पत्रकारहरूले आफ्नो स्थायीत्वलाई बनाइराख्न अझ सङ्घर्ष गर्न तयार रहनुपर्ने बताए।

उनले महामारी काललाई पत्रकार  मिडिया हाउसले अग्नि परीक्षाका रूपमा सामना गरेको र यसबाट प्रभावित बनेर बन्द भएका मिडिया हाउसका पत्रकारलाई सहयोग पुऱ्याउन युनियनले पहल गर्नुपर्ने आवश्यकता बोध गराए।

गुरुङले पत्रकारमाथि हुने अपराधलाई नियन्त्रण गर्न युनियनका सदस्यमा एकजुटता हुनुपर्ने कुरामा पनि जोड़ दिए।

युनियनका अध्यक्ष भीम रावतले कार्यशाला आयोजन गर्नुको उद्देश्यमाथि प्रकाश पारे।

समन्वयक दिछेन अङ्मु भोटियाले युनियनद्वारा गरिएका विभिन्न कार्यक्रम र सिक्किमलाई दिएको प्रोजेक्टबारे जानकारी गराइन्।

कार्यशालामा प्रदीप लोहागण, कविता शर्मा, अर्पण प्रधान, सागर छेत्री, नीता निरास, पारिजात शर्मा आदिले कोभिड काल तथा लकडाउन अवधिमा पत्रकारहरूले झेल्न परेका समस्या र युनियनलाई कसरी अघि बढ़ाउन सकिन्छ भन्ने कुरामा आफ्नो अनुभव र सुझाउ राखे।

यसै गरी पत्रकारका रूपमा काम गर्दा-गर्दै कोभिड सङ्क्रमण बन्नु परेको अवस्थामा उपचार अवधिमा गरेको अनुभव र आफ्नो परिवारमा कोभिड सङ्क्रमण हुँदा त्यो अवस्थासितै लड्दै पत्रकारिता धर्मलाई निभाउनुपर्ने अवस्थाको अनुभव विशाल गुरुङ र शेखर खवासले साझा गरे।

कार्यशालाको अवधिमा सबै पत्रकारले कोभिड 19 कालमा गरेका अनुभवलाई दस्तावेजीकरण गर्ने सहमति भएपश्चात  युनियनले चाँड़ै एउटा पत्रिका प्रकाशित गर्ने निर्णय लिएको छ।

यस कार्यलाई अघि बढ़ाउने जिम्मेवारी विजय गुरुङ र प्रदीप लोहागणलाई दिइएको छ भने अध्यक्ष भीम रावत र महासचिव सुजल प्रधानले यसमा सहयोग गर्नेछन्।

युनियनले सिङ्तामनजिक चुहाटारमा अवस्थित पुनर्वास केन्द्रमा एउटा पुस्तकालय स्थापना गर्ने पनि निर्णय गरेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here