बोर्ड हत्याउन नगरपार्षद्हरूलाई अनितले रुपियाँ र फ्ल्याटको लोभ देखाइरहेको एड्वर्ड्सको आरोप

0
1064

दार्जिलिङ, २३ नोभेम्बरः दार्जिलिङ नगरपालिकाको बोर्ड भत्काएर आफ्नो पक्षमा पार्न अनित थापाले हाम्रो पार्टीका नगरपार्षद्हरूलाई लाखौँ रुपियाँ र सिलगढीमा फ्ल्याट दिने लोभ देखाइरहेको अजय एड्वर्ड्सले आरोप लगाएका छन् ।

हाम्रो पार्टीका अध्यक्ष एड्वर्ड्सका अनुसार दार्जिलिङ नगरपालिकाले अवैध निर्माणविरुद्ध कारबाही शुरू गरेदेखि नै जीटीए चिफ अनित थापा बोर्ड भङ्ग गर्ने षड्यन्त्रमा सक्रिय बनेका छन् । बोर्ड भत्काएर आफ्नो बनाउन थापा र उनका ठेकेदारहरूले हाम्रो पार्टीका नगरपार्षद्हरूलाई लोभ देखाइरहेका छन् ।

दार्जिलिङ नगरपालिकामा हाम्रो पार्टीको बोर्ड छ । चुनावी वाचाअनुसार यो बोर्डले अवैध निर्माणविरुद्ध कारबाही शुरू गरेको छ, जुन कार्य एकपक्षीय रहेको आरोप पनि उठिरहेको छ ।

एड्वर्ड्सको भनाइ छ – दार्जिलिङ नगरपालिकाका निर्वाचित नगरपार्षद्हरू आर्थिक रूपले कमजोर छन्, तर उनीहरू दार्जिलिङ शहरका लागि राम्रो कार्य गर्न सङ्कल्पित छन् ।

यसैबिच, उनले नगरपार्षद्हरूमाथि भरोसा गरेका छन् । साथै चुनाउका समय गरेका सबै वाचा पाँचवर्षे म्यादअवधि पूरा गरेरै देखाउने प्रतिबद्धता पनि जाहेर गरेका छन् ।

उल्लेखनीय छ, हाम्रो पार्टीका दुई सभासद् प्रमोष्कर ब्लोन र भुपेन्द्र छेत्री अघिबाटै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भइसकेका छन् । उक्त सामेल कार्यक्रममा थापाले जीटीए सभामा आफ्नो सभासद् सङ्ख्या ४३ पुऱ्याउने दाबी नै गरिसकेका छन् ।

यसैले पनि हाम्रो पार्टीका नगरपार्षद्हरूलाई प्रलोभन देखाएर अनित तापाले दार्जिलिङ नगरपालिकाको बोर्ड आफ्नो पक्षमा पार्ने डर अजय एड्वर्ड्सलाई छ ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here