कालेबुङ, 23 दिसम्बरः गिरी जयन्ती अर्थात् आउँदो 27 दिसम्बरका दिन कालेबुङको त्रिकोण पार्कमा जातीय कवि अगमसिंह गिरीको सालिकको अनावरण गरिनेछ।
आज एक पत्रकार सम्मेलनको आयोजन गरी सालिक निर्माण समितिका अध्यक्ष भुवन पी. खनालले यसबारे जानकारी गराएका हुन्।
यसका साथै उनले कालेबुङमा जातीय गौरव अगमसिंह गिरीको सालिक खड़ा गर्न पाउँदा अपार हर्ष लागेको पनि बताए।
खनालका अनुसार कालेबुङमा गिरीको सालिक स्थापना गर्ने घोषणा
20 अगस्तका दिन भाषा दिवसको अवसरमा गरिएको थियो।
उनले थप बताएअनुसार सालिक अनावरणपछि स्थानीय रामकृष्ण रङ्गमञ्चमा गिरी जयन्ती पालन गरिनेछ।
यसै कार्यक्रमअवधि ‘माटोको माया’ र ‘बास सल्किरहेछ’-जस्ता चर्चित उपन्यासका लेखक भगीरथ रावतलाई साहित्य सम्मान र शिक्षाविद् कुमार छेत्रीलाई शिक्षा सम्मान प्रदान गरिने खनालले जानकारी गराए।
कालेबुङका सबै सङ्घ संस्थाका प्रतिनिधि, साहित्यकार, सबै राजनीतिक दलका प्रतिनिधिहरू, अग्रज, भाषा-साहित्य र जातिप्रेमी, सबैलाई कार्यक्रममा उपस्थित भइदिन कवि गिरी सालिग निर्माण समितिको तर्फबाट अनुरोध गरिएको छ।
सालिक अनावरण कार्यक्रम बिहान 10:30 बजी तथा गिरी जयन्ती कार्यक्रम 11 बजीदेखि शुरू हुने पनि भुवन पी, खनालले जानकारी गराएका छन्।