21 दिसम्बरको बैठकले दार्जीलिङ तराई अनि डुवर्सलाई कुनै फाइदा हुनेछैनः गिरी

0
984

दार्जीलिङ, 23 दिसम्बरः पछिल्लो 21 दिसम्बरका दिन दिल्लीमा केन्द्रिय गृहमन्त्री अमित शाहसित भएको बैठकले दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका जनतालाई कुनै फाइदा नहुने विमलपन्थी गोजमुमोका महासचिव रोशन गिरीले आज दावी गरे।

ज्ञात रहोस्, गत 21 दिसम्बरका दिन दार्जीलिङ पहाड़बाट गएका गोरामुमो, क्रामाकपा, गोर्खा लीग प्रताप गुट, गोरानिमो र सुमेटि मोर्चाका शीर्ष प्रतिनिधिहरूसँग केन्द्रिय गृहमन्त्री अमित शाहले एक बैठक गरेका थिए।

त्यस बैठकपछि गोर्खा लीग नेता प्रताप खातीले 2021-को बङ्गाल विधानसभा चुनाउअघि जनजातिको मुद्दा फत्ते भएरै छोड्ने दावी गरेका थिए, जसमाथि स्वयं गोर्खालीगकै महासचिव एसपी शर्माले पनि आशङ्का जाहेर गर्दै खातीको दावीलाई पत्याउन नसकिने बताएका थिए।

अर्कोतिर आज विमल गुरुङपन्थी गोजमुमोका महासचिव रोशन गिरीले पनि केन्द्रिय गृहमन्त्री अमित शाहसित भएको बैठकले दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका जनतालाई कुनै फाइदा नपुग्ने दावी गरेका हुन्।

“केन्द्रिय गृहमन्त्री साथै अन्य शीर्ष नेतृत्वहरूसित हामीले धेरैपल्ट भेट गरिसकेका हौँ, राजनाथ सिंह गृहमन्त्री हुँदादेखि अमित शाहसम्म उनीहरूसित धेरैपल्ट भेट गरेर कुराकानी गरिएको हो। तर उनीहरूबाट झूटो आश्‍वासनबाहेक केही पाउन सकिएन। ती भेटहरू आश्‍वासनका भेटहरू मात्रै भए’’, उनले थपे, “यसै वर्षको 21 जुलाईका दिन पार्टी अध्यक्ष विमल गुरुङ, म स्वयं र हाम्रा पार्टीका अन्य नेतृत्वहरूले केन्द्रिय गृहमन्त्री शाहसित भेट गर्दा उनले जनजातिको मुद्दाबारे असम चुनाउपछि हेर्ने बताएका थिए। तर, 2019-को लोकसभा चुनाउअघि अमित शाहले हाम्रा पार्टी अध्यक्षलाई दार्जीलिङ पहाड़ फर्किँदा 11 जातगोष्ठीका लागि जनजातिको मर्यादा लिएर जाने वचनसमेत दिएका थिए। तर, ती वचन, आश्‍वासनहरू झूटबाहेक अन्य केही थिएन। यसैकारण गोर्खा जनमुक्ति मोर्चाले भाजपाको साथ छोड़ेको हो।’’

भाजपाको यस्तो झूटो राजनीतिबाट दार्जीलिङ पहाड़का राजनैतिक पार्टीहरू क्रमैले क्रामाकपा, गोर्खालीग, गोरामुमो, गोरानिमो, सुमेटि मुक्ति मोर्चा आदि पनि सतर्क रहनुपर्ने गिरीले बताएका छन्। किनभने, भाजपा विस्तारवादी पार्टी हो, यसले आफ्नो पार्टी मात्रै बढ़ाउने काम गरिरहेको उनको भनाइ छ।

“भाजपाले घरीघरी ढाँटेको कारण नै हामीले भाजपासितको सम्बन्ध तोड़ेका हौँ। भाजपाले हामीलाई हावा मिठाइबाहेक अन्य केही दिएन’’, रोशन गिरीले थपे, “राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले स्थायी राजनैतिक समाधान दिने कुरा गरेकी छन्, त्यसैमा हामीले आशा गरेका छौं।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here