हाइवे दुर्घटनाः अझै चारजना बेपता, खोजीकार्यमा एनडीआरएफको टिम ओर्लिने

0
1340
खोजीकार्यमा जुट्दै राफ्टिङ टिम।

कालेबुङ, 24 जनवरीः शुक्रवार बिहान करिब 10 बजे गेलखोलानजिक लिखु भिरमा राष्ट्रिय राजमार्ग 10 मा वाहन दुर्घटना हुँदा एकै परिवारका चार सदस्यलगायत वाहनका चालक गरी कुल पाँचजनाको मृत्यु भएको छ।

टिस्टा थानाका ओसी लाक्पा भोटियाका अनुसार दुर्घटना परी ज्यान गुमाउनेहरूमा चन्दन राई (43) उनकी पत्नी तुलसी राई , छोरा सरगम राई (19) र छोरी साक्षी राई (13) तथा वाहनका चालक देवदत्त तामाङ छन्।

यद्यपि साक्षी राईको मात्र शव बरामद भएको छ भने अन्यको शव बरामद हुनसकेको छैन।

आज टिस्टा-रङ्गीत राफ्टिङ उद्धार टिमका सदस्यहरूले वाहन र चारजनालाई खोज्नका लागि टिस्टामा दिनभरि पसिना बगाए तापनि वाहनसँगै चारजनाको कुनै पत्तो पाउन सकेनन्।

भोलि पुनः एनडीआरएफको टिमले खोजीकार्य गर्ने बताइएको छ। पुलिसका अनुसार मूल सड़कबाट वाहन सोझै टिस्टा नदीमा खसेको छ।

यसैले वाहनसमेतको टुङ्गो लाग्न सकेको छैन। तथापि नदीको एक ठाउँबाट तेल बगिरहेको कारण त्यसै ठाउँमा वाहन हुनसक्ने अनुमान गरिएको छ।

साक्षीको शव भने पानीमा तैरिरहेको कारण बरामद गर्न सकिएको हो। पुलिसले शव कब्जामा लिएर पोस्टमर्टमका लागि कालेबुङ थानामा पठाइएको छ।

जानकारीका अनुसार मूलरूपले दार्जीलिङस्थित सिंहमारीनिवासी चन्दन राई गान्तोकको सेना मुख्यालयमा कार्यरत् थिए। यसैले उनको परिवार गान्तोक बाइपासमा बस्दै आएका थिए।

जानकारीका अनुसार एक धार्मिक कार्यक्रम (सेवा)-मा सहभागी हुन उनीहरू आज बिहान गान्तोकबाट  डुवर्सको वीरपाड़ातर्फ गइरहेको समय लिखु भिरमा दुर्घटनामा परेका हुन्।

मृतक साक्षी राई गान्तोकस्थित आर्मी स्कूलमा सातौं श्रेणीमा पढ़्थिन्।

यसैबीच कालेबुङ आईसी अविनन्दो भट्टाचार्यले जानकारीका अनुसार खोजीकार्यका लागि आज रातीसम्म एनडीआरएफको एक टिम टिस्टा आइपुग्नेछ भने भोलि बिहान 6 बजेदेखि खोजी कार्य शुरु गर्नेछ। आज पुलिस-प्रशासन दिनभरि राहत एवं उद्धार कार्यमा खटिएको थियो।

अर्कोतिर यो दुर्घटनाले राष्ट्रिय राजमार्गमा सुरक्षा उपायलाई लिएर पुनः एकपटक प्रश्न तेर्सिएको छ।

किनभने उक्त अल्टो कार जुन ठाउँबाट खसेको छ, त्यहाँ दुर्घटनालाई रोक्नका लागि न त पारापेडको निर्माण गरिएको छ न त स्टिल बार नै लगाइएको छ।  पारापेड र स्टिल बार नभएकै कारण उक्त बीभत्स दुर्घटना भएको धेरैले बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here