6 दिनमा 5 गैंडाको मृत्यु, टीकाकरण अभियान शुरु

0
1003
केही महिनाअघि जलदापाड़ा राष्ट्रिय निकुञ्चमा गैंड़ा।

सिलगढ़ी, 24 फरवरीः वन विभागले जलदापाड़ा राष्ट्रिय निकुञ्चमा टीकाकरण अभियान शुरु गरेको छ। पछिल्ला 6 दिनमा पाँचवटा गैंड़ाको मृत्यु भएपछि विभागले यो टीकाकरण अभियान शुरु गरेको हो।

सन्दिग्ध एन्थ्रेक्स भाइरसकै कारण गैंड़ाको मृत्यु भएको अनुमान गरिएको छ। यद्यपि एन्थ्रेक्स भाइरस नै गैंड़ाको मृत्युको कारण हो भन्ने कुरा पुष्टि भने भएको छैन।

पछिल्लो 18 फरवरीका दिन पहिलोपटक वन विभागका कर्मचारीले सिसामरी बिटमा एउटा गैंडा मरिरहेको पाएका थिए। त्यसको 48 घण्टाभित्र त्यसै ठाउँमा थप चार गैंडा मृत अवस्थामा बरामद भएको थियो।

यसैबीच, वनविभागले जमिनीस्तरमा टीकाकरणका लागि बृहत् अभियान शुरु गरेको बताइएको छ।

विभागीय सूत्रका अनुसार लक्षण एन्थ्रेक्सको जस्तै भए तापनि एन्थ्रेक्स भाइरसकै कारण यी गैंडाहरूको मृत्यु भएको पुष्टि भएको छैन। वनविभागले रिपोर्ट पर्खेर बसेको छ।

वनविभागका सेवानिवृत्त पीसीसीएफ अतानु राहाका अनुसार  उत्तर बङ्गालमा 1995 -मा अन्तिमपटक एन्थ्रेक्स भाइरसको मामिला प्रकाशमा आएको थियो। त्यसबेला मृगको मृत्यु भएको थियो।

राहाले थप बताएअनुसार  एन्थ्रेक्स भाइरसको मुख्य वाहक गाई-वस्तु हो। यसको रोकथामका लागि टीका रहेको पनि उनले बताएका छन्।

“त्यसबेला म सीएफ थिएँ। मैले जलदापाड़ा र गोरुमाराका गैंड़ाहरूलाई त्यस समय टीकाकरण गरेको थिए”, उनले भने।

गैड़ाहरूको मृत्यु रोक्न र टीकाकरणका लागि स्पेसिस एण्ड ह्याबिटेट कन्जर्भेशन फ्राटरनिटीले पनि सहयोग गर्ने बताएको छ।

अर्कोतिर, उत्तर बङ्गालका मुख्य वन संरक्षक (वन्यजीव) उज्ज्वल घोषका अनुसार 18 देखि 21 फरवरीसम्म गरी कुल पाँचवटा गैंड़ाको शव बरामद भएको थियो।

प्रारम्भिक जाँचमा पशु चिकित्सकहरूले  एन्थ्रेक्सको कारण गैंड़ाहरूको मृत्यु भएको शङ्का गरेका छन्। तथापि पुष्टि भने अहिले नै नभइहालेको घोषले बताएका छन्।

एक वन्य कर्मचारीका अनुसार क्षेत्रमा 13 वटा गैंड़ा छन्, जसलाई टीकाकरण गर्ने कार्य शुरु गरिएको छ।

यो घटनाले सिलगढ़ीका पशुप्रेमीहरू चिन्तित बनेका छन्। यदि सटीक टीकाकरण नभएमा जलदापाड़ा राष्ट्रिय निकुञ्चभित्र र यस क्षेत्रका गाउँलेहरू आ-आफ्ना घरमा पालेका पशुहरूसमेत सङ्क्रमित हुने चिन्ताले उनीहरूलाई सताइरहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here