-कृष्ण खरेल
‘‘शक्तिको आधारमा पार्टी छान्नेहरू लामो समय त्यहाँ बस्दैनन्। तिनीहरू पण्डितले दानमा ल्याएका गाईजस्ता हुन्, मौका मिल्यो कि आफ्नै गोठमा फर्किन्छन्।’’
भर्खरै एउटा दलका प्रवक्ताले दलबदलका घटनालाई लक्ष्य गर्दै उक्त कुरा भनेका हुन्। नेपालतिर त यस्ता दलबदलुहरूलाई ‘चैते’ भनेर पनि सम्बोधन गर्नेगरिएको पाइन्छ। राजनीतिमा मानिसहरूले जे-जस्ता चर्का, उग्र र क्रान्तिकारी कुराहरू गरे पनि आखिरमा उ आफ्नो चरित्रसँग मिल्ने राजनैतिक पार्टीमै पुग्छ भन्ने कुराका उदाहरण हुन्, यी। अहिलेघरी सिक्किमको राजनीतिमा यो वा त्यो बहाना गरेर विपक्षी पार्टी सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) छोड़ेर सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) -मा केही मानिसहरू गइरहेका छन्। यो ‘‘शक्तिको आधारमा पार्टी छान्ने’’ त्यही प्रवृत्तिको निरन्तरता नै हो।
दलबदलको यो राजनीतिको क्रममा कतिपयले एसडीएफ पार्टीमाथि युवाहरूलाई प्रोत्साहन नदिएको आरोप लगाएर पार्टीबाट बाहिरिने फ्यातुलो तर्क ल्याउनेगरेका छन्। यो अहिलेघरी मात्र होइन, धेरै समयदेखि यस्तो चर्चा सुन्नेगरिएको छ। यस विषयमा अब खुलेरै चर्चा गर्न आवश्यक छ भन्ने मलाई लागेको छ।
यसलाई सिक्किमको राजनीतिको विडम्बना नै मान्नुपर्दछ कि सैद्धान्तिक र तर्कशील राजनीतिको वकालत गरेर नथाक्ने सिक्किमको राजनीतिक क्षेत्र र विशेष गरी युवा पुस्ताको ठूलो हिस्साले एसडीएफ अनि पवन चामलिङको परिवारवादमुक्त राजनीतिलाई देख्न-बुझ्न सकेन। चामलिङले आफ्नो घरका युवा छोरा-छोरीहरूलाई राजनीतिबाट टाढ़ा राखेर समाजका गरीब परिवारका युवाहरूलाई पञ्चायत, नगरपालिका, सरकारी नोकरी, विधानसभा, संसदमा पठाएका दृष्टान्तहरूलाई देख्न नसकेर मुखले परिवारवादी राजनीतिको विरोध गर्ने तर परिआउँदा आफ्नै छोरालाई विधायक, आफ्नी पत्नीलाई ‘आधा विधायिका’ बनाउने झूटा राजनीतिकारहरूको शरणमा जाने भदौरे, चैतेहरूको सिक्किममा कुनै कमी नरहेको पुष्टि भएको छ।
सिक्किमको राजनीतिमा ‘‘युवा पुस्ताले मौका पाउनुपर्दछ’’ भन्ने चर्चा प्रायःजसो सुन्नेगरिन्छ। राजनीतिक दलभित्र युवा पुस्तालाई अघि आउने मौका दिइनुपर्दछ, उनीहरूलाई अघि बढ़ाइनुपर्दछ भन्ने आग्रह बारम्बार सुन्ने गरिन्छ। झट्ट सुन्दा यो त साँचो कुरा हो भन्ने हामी सबैलाई लाग्नसक्छ, लाग्छ पनि। तर, राजनीतिमा ‘अवसरवाद’ यस्तै झट्ट सुन्दा ‘साँचो’ लाग्ने, ‘मीठो’ लाग्ने, ‘स्वाभाविक’ लाग्ने, ‘हो त’ भन्न मन लाग्ने कुराहरूबाटै शुरू हुन्छ। जसरी ‘परिवर्तन’ भन्दा हामी सबैलाई ‘‘परिवर्तन भनेको त संसारको नियमै हो’’ भन्ने लागेर राजनीतिमा पनि गत चुनाउमा हामीले लागू गर्दा हामी भड्खालोमा जाकिन पुग्यौँ, त्यसरी नै, राजनीतिमा अवसरवाद सुन्दर, नबिझाउने, साँचो लाग्ने कुराहरूबाटै शुरू हुन्छ। अहिलेघरी सिक्किममा यस किसिमको अवसरवाद राम्रैसित फली-फुलिरहेको छ।
युवाहरूलाई जीवनको प्रत्येक क्षेत्रमा झैं राजनीतिमा पनि अघि बढ़्ने अवसर दिइनुपर्दछ भन्ने कुरा निर्विवाद सत्य हो। प्रकृति, समाज सबैतिर युवा पुस्ताले नेतृत्व सम्हाल्दै लगेको नै इतिहास छ। युवाहरूलाई अवसर दिनु भनेको परम्पराहरूलाई नवीनता थपेर निरन्तरता दिनु नै हो। युवाहरूलाई हस्तान्तरण गरिएन भने कुनै पनि परम्परा, संस्कृति, राजनीति, समाज बाँच्दैन। यसैले कसैले राजनीतिमा युवाहरूलाई मौका दिइनुपर्दछ भनेर खोक्रो नारा मात्र लाइरहन्छ भने त्यो अवसरवादी सोच, व्यक्तिगत अति महत्वाकांक्षाको परिणाम हो भन्ने स्वतः बुझ्नसकिन्छ।
अन्यत्रझैं एसडीएफ पार्टीभित्र पनि युवाहरूलाई मौका दिइनुपर्दछ भन्ने किसिमका आग्रहहरू बेला-मौका सुन्नेगरिन्छ। एउटा प्रजातान्त्रिक ढाँचा भएको पार्टीभित्र यस्ता आवाजहरू उठ्नु अस्वाभाविक कुरा होइन। एसडीएफ नेतृत्वले सधैँ पार्टीभित्र उठ्ने आवाजहरूलाई सुन्ने, त्यसलाई प्रजातान्त्रिक मर्मअनुसार सम्बोधन गर्ने काम गरेको छ। एसडीएफ पार्टी एउटा आन्दोलन, एउटा विचारको नाउँ हो। सन् 1990 -को दशकमा प्रजातान्त्रिक तरिकाले चुनिएर आएको तत्कालीन सरकारले राजाले जस्तो, तानाशाहले जस्तो जनतामाथि दमन गर्नथालेपछि, सम्पूर्ण सिक्किमलाई नै निस्सासिने जेलखानमा परिणत गरेपछि सिक्किममा साँचो प्रजातन्त्र स्थापनाका लागि सिक्किममा दोस्रो प्रजातान्त्रिक आन्दोलन भएको थियो। एसडीएफ त्यही दोस्रो जन आन्दोलनलाई नेतृत्व गरेर आएको पार्टी हो। एसडीएफ सिक्किममा प्रजातन्त्र, सामाजिक न्याय, समानुपातिक विकास, नारी मुक्ति, अभिव्यक्तिको स्वतन्त्रको नाउँ हो, पर्याय हो। यो एसडीएफ पार्टी नै हो, जसले समाजका ठूला-ठालु, सामन्त, धनपतिहरूको पेवा नै बनिसकेको स्थानीय निकाय अर्थात पञ्चायतमा दलीय आधारमा चुनाउ गराएर स्थानीयस्तरमा सामन्ती दबदबालाई समाप्त पार्नका साथै लगभग 70 प्रतिशत पञ्चायतमा स्थानीय युवाहरूलाई गाउँ-समाजको नेतृत्वमा ल्याएको थियो। पञ्चायतमा 33 प्रतिशत सीट महिलाहरूलाई आरक्षित गरेर युवक र युवती दुवै समूहलाई राजनैतिक नेतृत्वमा समानुपातिक जनप्रतिनिधित्व दिइयो। हाल महिलाहरूले पञ्चायतमा 50 प्रतिशतको आरक्षण उपभोग गरिरहेका छन्। एसडीएफ पार्टीको युवामुखी प्रजातन्त्रवादी सोच नभएको भए यति विशाल सङ्ख्यामा युवाहरू समाज र राज्यको नेतृत्वमा आउन सम्भव थिएन, यसको सट्टा आज पनि सिक्किमका गाउँहरू कुनै सामन्तीको बिर्ता र गरीबजनता उनीहरूका रैती नै भइबसेका हुनेथिए।
एसडीएफको 25 वर्षको सरकारमा राज्यका लगभग 80 हजार युवाले सरकारी नोकरी पाए। एसडीएफ सरकारको नीतिको फलस्वरूप सिक्किममा औद्योगिक क्रान्ति सम्पन्न भयो, जसले गर्दा पचासौँ हजार युवाका लागि रोजगारको अवसर जुट्नगयो। सिक्किममा व्यापक पर्यटनीय पूर्वाधारहरूका विकास, नयाँ नयाँ पर्यटन क्षेत्रहरूका खुलासा, अनि शान्ति र सुशासनका कारण युवाहरूका लागि गरिखाने लाखौँ अवसरहरू सिर्जना भएका छन्। एसडीएफ पार्टी सरकारमा आउनभन्दा अघि सिक्किममा केवल 9 हजार गाड़ी रजिस्टर्ड थिए। 25 वर्षको सरकारमा सिक्किममा 1 लाखभन्दा धेर गाड़ी भए, जसले 80 हजारभन्दा धेर स्थानीय युवाहरूलाई आम्दानीको स्रोत प्रदान गऱ्यो।
‘‘युवाहरूलाई मौका’’ भन्ने कुरा केवल चुनाउमा टिकट दिनु होइन, जीवनका सबै फाँटमा युवाहरूका लागि मौका जुटाउनु हो। टिकटै दिनुलाई ‘मौका’ मान्ने हो भने एउटा विधानसभा चुनाउमा पार्टीले अधिकतम् 32 वटा टिकट दिनसक्छ। सबै टिकट युवाहरूलाई नै दिने हो भने अरू युवाहरूले हामीले मौका पाएनौँ भनेर आर्त्तनाद गर्नुपर्ने हो? ‘‘युवाहरूले मौका पाएन’’ भन्नको पछाड़ि वास्तवमा केही अति महत्वाकांक्षीहरूले ‘मेरो निजी महत्वाकांक्षा पूरा भएन’ भन्नखोजेका हुन्। यी यस्ता महत्वाकांक्षीहरू हुन्, जसले पार्टीबाट टिकटबाहेक सबै सुख-सुविधाहरू, ठेका-पट्टा पाएका छन्। धेरैले एसडीएफलाई यसका नीति, कार्यक्रम, लक्ष्य, उद्देश्यको कारण रोजेका होइनन्; उनीहरू त एसडीएफमा एमएलए, मन्त्री, चेयरम्यान, पञ्चायत, नगर पञ्चायत, काउन्सिलर, मेयर बन्नका लागि आएका थिए। आज उनीहरूले आफ्नो व्यक्तिगत महत्वाकांक्षा पूरा नहुँदा ‘युवाहरूले मौका पाएन’ भनेर पलायन गर्ने बाटो पहिल्याइरहेका छन्। एसडीएफ नेतृत्व यो प्रवृत्तिसित राम्ररी परिचित थियो र छ।
वर्तमान मुख्यमन्त्री पी.एस. गोलेले ‘एसडीएफ पार्टीमा युवाहरूले मौका पाएनन्’ भनेर भर्खरै बयान दिएको यही कानले सुन्नपाइयो। त्यसो भए के गोलेचाहिँ राजनीतिमा आकाशबाट झरेका हुन् रे? 28 वर्षअघि एउटा स्कूलमा गुरुबाबु गर्दैगरेका गोलेलाई राजनीतिमा ‘इन्ट्रड्युस’ गर्ने पवन चामलिङ हुन्, एसडीएफ हो। 30 वर्षभन्दा कम उमेरका असङ्ख्य युवालाई एसडीएफले मन्त्री बनायो। नीरू सेवा, पूरण गुरुङ, सोनाम डाडुल, दीपक गुरुङ, दाउछो लेप्चा, भीम ढुङ्गेल, विक्रम प्रधान, तेञ्जी शेर्पा, पी.एस. गोले, विनोद राई, तुलसी देवी राई, एम. प्रसाद दुलाल, एम. प्रसाद शर्मा, अर्जुन कुमार घतानी आदिलगायत सयौँ विधायक, काउन्सिलर, जिल्ला पञ्चायतहरू के बूढ़ा-खाड़ा थिए? पवन चामलिङले राजनीतिमा लिएर नआएको भए पी.एस. गोले अहिले पनि कुनै गाउँमा गुरुबाबु गर्दै हुनेथिए। उनलाई यो ठाउँमा पुऱ्याउन, यत्रो आर्थिक विकास गराउन पवन चामलिङको अतुलनीय योगदान छ।
अहिलेघरी एउटा समूह एसडीएफ पार्टीभित्र नेतृत्वको महत्वाकांक्षा लिएर सल्बलाइरहेको देखिन्छ। त्यो गुट चाहन्छ– एसडीएफ पार्टीको नेतृत्व त्यो गुटलाई सुम्पिइयोस् र पार्टीका अध्यक्षदेखि लिएर तमाम वरिष्ठ सदस्यहरू फगत ‘मार्गदर्शक मण्डल’ -का सदस्यजस्तै भएर रहून्। उनीहरूको यस्तो आग्रह बुझिन्छ कि पार्टीले उनीहरूलाई अध्यक्षको कुर्सीमा बाइज्जत बसाइदियोस्, सके पार्टीको आर्थिक कोष पनि उनीहरूलाई चढ़ाइदियोस्। उनीहरूको सोच छ – अब एसडीएफ पार्टी पूर्ण रूपले युवाहरूका हातमा जाओस्। यो सोच ठीक त्यस्तो सोच हो, जस्तो सोच हिजो ‘परिवर्तन’ भन्नेहरूले सोच्ने गर्थे। उनीहरूलाई अनुभव, ज्ञान, नीति, सिद्धान्त, दर्शन, योगदान होइन, उनीहरूलाई मूलतः व्यक्ति परिवर्तन चाहिएको थियो। एसडीएफभन्दा उम्दा नीति, कार्यक्रम, सिद्धान्त नभएकैले त आज सत्ता परिवर्तन भएपछि सिक्किम अझ तीव्र गतिमा अघि बढ़्नको सट्टा पछिल्तिर लम्किरहेछ। नयाँ मुख्यमन्त्री आएर, नयाँ पार्टी सत्तामा आएर, ‘परिवर्तनका लागि परिवर्तन’ भएर के भयो त? 21 महीनामै सिक्किम सन् 1994 -भन्दाअघिको अवस्थामा पुग्यो त! अब चाँड़ै सिक्किम सन् 1975-भन्दा पहिलाको अवस्थामा जाँदैछ। ठीक त्यस्तै, आज एसडीएफमा नेतृत्व परिवर्तन गरेर युवाहरूलाई नेतृत्वमा विराजमान गराइदिनुपर्छ भन्नेहरूको आग्रहमा कुनै वैकल्पिक सोच, सिक्किमको क्रान्तिकारी रूपान्तरणको भावना छैन। अरू त टाढ़ाका कुरा उनीहरू तर एसडीएफले अहिले लड़िरहेको लड़ाईंमा पनि छैनन्, सिक्किममा अहिले निरङ्कुश बन्दैगइरहेको वर्तमान सत्ताविरुद्ध लड़िरहेका अन्य कुनै शक्तिहरूसँग पनि छैनन्। उनीहरू त ‘नेतृत्व परिवर्तन’ शब्दको आड़मा वर्तमान सङ्घर्षहरूबाट भागेर सुरक्षित बसेका छन्। अर्थात् उनीहरू वर्तमान सरकार र सत्तारूढ़ पार्टीको कोप र आक्रमणबाट सुरक्षित बसेका छन्, अर्थात् एसडीएफ पार्टीको एउटा हिस्सालाई ‘न्युट्रलाइज’ गर्ने एसकेएम पार्टीको ग्राण्ड डिजाइनको सहभागी बनेका छन्, अर्थात् सिक्किममा बढ़्दैगइरहेको वर्तमान सत्ताको निरङ्कुशता, तानाशाही, प्रजातन्त्रविरोधिताको समर्थक बनेका छन्। गत विधानसभा उप-चुनाउमा पार्टी अध्यक्ष र समर्थकहरूमाथि आक्रमण हुँदा पनि उनीहरू पार्टी र प्रजातन्त्रको पक्षमा बोलेनन्, मुख छोपेर बसिरहे, न त आज सत्तापक्षले खुलेआम प्रजातन्त्रको हत्या गर्नलाग्दा पनि उनीहरू बोलेका छन्। एसडीएफ पार्टीमा ‘युवा नेतृत्व’ शब्दको आड़मा भइरहेको यो सबैभन्दा ठूलो अवसरवाद हो।
सन् 1992-1993 -मा सङ्ग्राम मन्त्रीमण्डल र पार्टीबाट निकालिँदा पवन चामलिङसँग सुकिला लुगा लाउने, ठूला-ठालु भनाउँदा मान्छेहरू साथी थिएनन्, पवन चामलिङलाई कसैले ‘रेड कार्पेट वेल्कम’ गरेन। पवन चामलिङलाई अँगालो हाल्न तिनै धुस्रे-फुस्रे अनुहारहरू थिए, जसका लागि चामलिङले आफ्नो जीवन जोखिममा हालेर बोल्ने साहस गरेका थिए, त्रास र आतङ्कको जगजगी रहेको रहेको विधानसभामा एक्लो विधायक उभिएर चामलिङले प्रजातन्त्रको मोमबत्ती बालेका थिए। पार्टी खोल्नलाग्दा पवन चामलिङलाई बिटा बिटा पैसा सघाउने कोही थिएन, पवन चामलिङको ‘गड् फादर’ कोही थिएन। उनीसित ठेलीका ठेली पुस्तकको ज्ञान भएका, दर्शन-साहित्य-राजनीति बुझ्ने बुज्रुकहरूको डफ्फा थिएन; उनीसित त केवल न्याय र अन्याय बुझ्ने, शोषक र शोषित चिन्ने क्रान्तिकारी जनता थिए, जसले चामलिङमा आफ्नो र आफ्ना नानीहरूको सुन्दर भविष्य देखे। यस्तो विकट, अँध्यारो अनि हाहाकारको युगमा चामलिङले बाटो खने, त्यसलाई प्रजातन्त्रको राजमार्ग बनाए। प्रजातन्त्र, समानता, सामाजिक न्याय, आत्मनिर्भरता र समृद्धिको घड़ेरी निर्माण गरे। चामलिङ त समाज, राज्य र जीवनका एउटा प्रवाहमान धारा हुन्, एउटा बाटो हुन्। 25 वर्षमा पवन चामलिङले विचार र कर्मद्वारा प्रजातान्त्रिक सिद्धान्त र दर्शनको समृद्ध परम्पराको निर्माण गरेका छन्। यो विचार र कर्मको साफल्य देश र विश्वले देख्यो, अनुकरणीय मान्यो। तिमी चामलिङको के विकल्प खोज्छौ? चामलिङ नै एक सशक्त विकल्प हुन्। जब जब समाजमा प्रतिगमन, प्रतिक्रियावाद, पुनरूत्थानवादले शिर उचाल्छ; तानाशाही र निरङ्कुशताले आफ्नो पखेटा फिजाउँछ – पवन चामलिङ त्यहाँ प्रजातन्त्रवादको विकल्प बनेर उभिन्छन्। जो आफै विकल्प हुन् जम्मै बेथितिहरूको, को उसको विकल्प हुनसक्छ। तपाईंले यति मात्र गर्न सक्नुहुन्छ – कि तपाईं पवन चामलिङभन्दा अझ राम्रो हुनुपर्छ, उच्च स्तरको वैचारिक धरातलमा उभिएको हुनुपर्छ, चामलिङ विचार र कर्मको उत्तरोत्तर विकासको रूप हुनुपर्छ।
एसडीएफ पार्टी आज सत्तामा छैन। 25 वर्ष लगातार जनताको पक्षमा सत्तामा बसेर काम गरेपछि यसचोटि जनताले एसडीएफलाई आराम दिएका छन्। एउटा विराट् पार्टी, सबैलाई समेटेर अघि बढ़्ने नीति, आउँछु-जोड़िन्छु भन्नेहरूलाई अँगाल्ने पार्टी र सरकार हुनाले केही कमी-कमजोरी भए होलान्। विपक्षमा बसेर विपक्षको भूमिका निर्वाह गर्दै एसडीएफले कतिपय आत्ममन्थन गर्नुपर्ने विषयहरू पनि होलान्। तर यो त जनताले पनि आत्ममन्थन गर्नुपर्ने समय हो। किनभने विगत 25 वर्षको एसडीएफको कार्यकाल सिक्किमेली जनताको पनि जीवनकाल हो। जनताले आफ्नो हिजो र आजको तुलना गर्नुपर्ने हुन्छ। किनभने यो जीवन त जनताले बाँच्नुपर्ने हुन्छ। किनभने यो जीवन र सिक्किम सिक्किमे जनताको हो। यसरी नै एसडीएफ कार्यकर्ताहरूले पनि सोच्नुपर्दछ, यो उनीहरूको पनि सिक्किम हो। एसडीएफ पार्टी सिक्किमको इतिहासमा वर्गहरूको चर्को द्वन्द्वबीच मिहिनेती, न्यायप्रेमी जनताले आफ्नो सङ्घर्षको साधनको रूपमा जन्माएको पार्टी हो। पवन चामलिङले त्यो युगको आह्वानलाई आत्मसात गरेका हुन्। उनले युगले सुम्पेको ऐतिहासिक जिम्मेवारीलाई पूरा गरेका हुन्। उनको जिम्मेवारी सकिएको छैन, उनको प्रासङ्गिकता सकिएको छैन। किनभने जनताले प्रतिक्रियावाद, प्रतिगमनविरुद्ध लड़्नुपर्ने लड़ाईं कहिल्यै सकिँदैन। जबसम्म जनताको लड़ाईं सकिँदैन, तबसम्म पवन चामलिङको लड़ाईं र प्रासङ्गिकता सकिँदैन। युवा पुस्ताले त चामलिङले समातेका मशाललाई अझ प्रज्ज्वलित पारेर अघि बढ़्नुपर्ने हो। एसडीएफको झण्डामुनि बसेर जनताको पक्षमा सङ्घर्ष गर्न कसले रोकेको छ? एसडीएफ त यही नै चाहन्छ कि जनताको पक्षमा सङ्घर्षको लड़िने उसको सङ्घर्षलाई युवा पुस्ताले युग युगसम्म अघि बढ़ाएर लैजाओस्। तर तिमी त अध्यक्षको चौकी ताकेर बसेका छौ, फण्ड कल्पेर बसेका छौ।
युगीन नेतृत्व हासिल गर्न योग्यताको विकास गर्नुपर्दछ। अहिलेको सिक्किमको नेतृत्व जालझेलबाट आएको हो, सेटिङबाट आएको हो, बाटोछेउको झाड़ीबाट अचानक खलपात्रझैं निस्किएर हावी भएको हो। तर एसडीएफ पार्टी र नेतृत्व सिक्किमे इतिहासको अनिवार्य उत्पादन हो। यो राजतन्त्र होइन, जसमा खेतमा काम गरिरहेका फुन्सोग नामग्यालहरूलाई हठात् सत्ता थमाइन्छ। यो त प्रजातन्त्र हो, यहाँ त नेतृत्वको लागि योग्य उत्तराधिकारी बन्नुपर्दछ।
यहाँनेर युवा पुस्ताले बुझ्नैपर्ने हुन्छ – एसडीएफ पार्टी, पवन चामलिङ व्यक्तिवादी महत्वाकांक्षीहरूलाई एमएलए, मन्त्री बनाइदिन अस्तित्वमा आएको होइन, व्यक्तिगत स्वार्थहरू पूरा गरिदिन पवन चामलिङ राजनीतिमा आएका होइनन्। पवन चामलिङ त एउटा युगलाई सम्बोधन गर्न, सिक्किमलाई दिशा दिन राजनीतिमा आएका हुन्। पवन चामलिङ राजनीतिमा सिक्किमलाई बदल्न आएका हुन्, 25 वर्षको सरकारमा उनले सिक्किमको क्रान्तिकारी रूपान्तरण गरिदिए। आज पनि उनी सिक्किमे जनताले एसडीएफ सरकारमा हासिल गरेका उपलब्धिहरूलाई, जनताको प्रजातन्त्रिक हक र अधिकार बचाउनलाई राजनीतिमा छन्। कोही आफ्नो महत्वाकांक्षाका कारण, एसडीएफमा त्यो महत्वाकांक्षा पूरा हुन नसक्दा भट्किन्छ भने त्यो उसको समस्या हो। सत्ता र शक्तिको अघि लम्पसार पर्ने, राजनीतिलाई आफ्नो निजी स्वार्थ र महत्वाकांक्षा पूरा गर्ने साधनको रूपमा प्रयोग गर्नेहरू कहिल्यै क्रान्तिकारी हुनसक्दैनन्, चाहे तिनीहरू उमेरले युवै किन नहोऊन्। पवन चामलिङको उद्देश्य र कर्म प्रजातान्त्रिक विचार र आन्दोलनलाई नेतृत्व दिनु हो, जसमा अझ प्रखर, प्रबुद्ध र प्रतिबद्ध नयाँ पीढ़ीका युवा पुस्ताहरू जोड़िँदैजानेछन्। किनभने क्रान्ति कहिल्यै निःसन्तान हुँदैन। जनतामाथि विश्वास, भावी पुस्तामाथि विश्वास, क्रान्तिको सुखद भविष्यमाथि विश्वास नै एसडीएफ पार्टीको सिद्धान्तको मूल मर्म हो।