जनसङ्ख्या विषय सङ्गोष्ठीको आयोजना

0
1233

दार्जीलिङ, 24 फरवरी भारतमा गोर्खाको जनसङ्ख्या कति छ? के भारतमा गोर्खाको जनसङ्ख्या पक्कै डेढ़ करोड़ छ? यो कहाँबाट ल्याइएको सङ्ख्या हो? जस्ता विषयलाई लिएर आउँदो 28 फरवरीका दिन गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समिति (जीएसएसएस)-ले यहाँको गोर्खा दुःख निवारक सम्मेलन भवनमा एक सङ्गोष्ठीको आयोजना गर्ने तय गरेको छ।

यसबारे जानकारी गराउँदै गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिकी कार्यकर्ता अञ्जनी शर्मा र किरण बिकेले भने, “अब आगामी केही महिनाभित्रै देशमा जनगणना शुरू हुने निश्‍चित भएको छ। यो गोर्खा जातिका लागि अति नै महत्त्वपूर्ण छ र यसबारे प्रत्येकले बुझेको असल हुनेछ।”

यसैले आउँदो 28 फरवरीका दिन सङ्गठनले यसै विषयलाई लिएर एक सङ्गोष्ठीको आयोजना गरेको पनि उनीहरूद्वयले जानकारी गराए।

उनीहरूका अनुसार यस सङ्गोष्ठीमा कानुनी विशेषज्ञदेखि जनगणना विभागका पूर्व अधिकारीहरूलाई पनि निम्ताइएको छ।

यसैले यसमा दार्जीलिङ पहाड़का सबै राजनैतिक पार्टीले पनि सहभागिता जनाएको उचित हुने किरण बिके र अञ्जनी शर्माको भनाइ छ।

यसका साथै अञ्जनी शर्माले गोर्खा जातिका लागि राजनीति गर्ने सम्पूर्ण राजनैतिक पार्टीले पनि जनगणनाको मुद्दालाई प्रमुखता दिएको उचित हुने बताइन्।

“दार्जीलिङ पहाड़का विभिन्न राजनैतिक पार्टीले विगत कैयौं दशकदेखि देशमा डेढ़ करोड़ गोर्खा रहेको कुरा गरिरहेका छन्। तर, 2011-को जनगणनाअनुसार, देशमा गोर्खाको जनसङ्ख्या केवल 28 लाख देखाइएको छ। सन् 1950-मा पनि गोर्खा जातिका विभिन्न जातगोष्ठीले आ-आफ्नो जातअनुसार, भाषा लेख्ने हुँदा नै मोठ 70 प्रतिशतबाट घटेर 19 प्रतिशत मात्रै देखाइएको थियो”, उनले थपिन्, “यसैले अब केही महिनामा शुरू हुने जनगणनामा प्रत्येक जनताले यस विषयलाई बुझ्न आवश्यक छ र यसबारे राजनैतिक पार्टीहरूले पनि जनतालाई राम्रोसित बुझाएको असल हुनेछ। ताकि गोर्खाको जनसङ्ख्या देशमा अझै घटेर नजाओस्।”

शर्माले थप भनिन्, “जनगणना हाम्रो जनसङ्ख्या देखाउने प्राथमिक आधार हो। यसैको आधारमा कुनै पनि क्षेत्रका लागि सरकारहरूले पनि परियोजनाहरू तयार पार्ने गर्छन्। यसैले यस दिशामा प्रत्येक राजनैतिक पार्टीले सर्वसाधारण जनतालाई राम्ररी बुझाएको उचित हुनेछ। ताकि जनगणना हुँदा कसैले पनि भूल नगरून्।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here