लकडाउनमा पनि उत्तरबङ्गालका चियाकमानहरू खुल्लै, असमका बन्द

0
1970

दार्जीलिङ, 24 मार्चः कोरोना भाइरसको बढ़्दो खतराबाट बच्नका लागि राज्य सरकारले दार्जीलिङ पहाड़लगायत तराई डुवर्सका मुख्य बजारलाई लकडाउन गरे तापनि सुरक्षाकै दृष्टिले जोखिमपूर्ण चियाकमान भने आजका दिनसम्म खुल्लै राखेको छ।

राज्य सरकारले उत्तर बङ्गालका सबै प्रमुख शहरमा हिजैदेखि लकडाउन गरेको छ। तर, चियाकमान बन्द राख्नेसम्बन्ध यो समाचार लेखुञ्जेलसम्म कुनै निर्णय लिएको थिएन।

विभिन्न श्रमिक सङ्गठन र राजनीतिक पार्टीले चियाकमान बन्द गर्नुपर्ने माग गर्दै आइरहेका छन्। यद्यपि राज्य सरकारले चियाकमान बन्द राख्ने मागलाई उस्तो पत्तो नदिएको देखिन्छ।

महत्त्वपूर्ण कुरा के छ भने कोरोना भाइरसको खतरालाई ध्यानमा राखेर हिजैदेखि असमका चियाकमानहरू बन्द राखिएका छन्। असममा आजका दिनसम्म कोरोना भाइरसका एउटै मामिला पनि प्रकाशमा आएको छैन।

यसको विपरीत उत्तर बङ्गालका चियाकमानहरू खुल्लै राखिएका छन्। ‘पूर्ण सुरक्षा प्रतिबन्ध’ अपनाउँदै बङ्गाल सरकारले राज्यका प्रमुख शहरहरूलाई लकडाउन गर्ने घोषणा गरे तापनि चियाकमानलाई किन खुल्लै राख्ने निर्णय गरियो? श्रमिक सङ्गठनहरूको प्रश्न छ।

‘‘कोरोना भाइरसको बढ़्दो प्रकोपमा चियाकमानहरूलाई खुल्लै राख्नुले के स्पष्ट पार्छ भने राज्य सरकार र मालिकवर्गलाई चियाश्रमिकहरूको सुरक्षाको चिन्ताभन्दा बढ़ी मुनाफाको सुर्ता छ’’, सिटु नेता एवं जोइन्ट फोरमका सदस्य समन पाठकले थपे, ‘‘मुनाफाकै सुर्ता भएकै कारणले यस्तो विषम परिस्थितिमा पनि चियाकमानलाई खुल्लै राखिएको हो, जुन अत्यन्त निन्दनीय कार्य हो।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here