दार्जीलिङ, 24 मार्चः विश्वलाई नै कोरोनाले लकडाउन गर्ने स्थिति आइरहेको भए पनि दार्जीलिङ पहाड़का चियाश्रमिकहरू आफ्नो काम गर्न बाध्य बनिरहेका छन्।
आज पनि दार्जीलिङका लगभग सय प्रतिशत चियाबगानमा नै काम भयो भने चियाश्रमिकहरू चियाकमानमा खटिरहेको देखियो।
गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए) जोइण्ट फोरम र विनय तामाङपन्थी गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनले चियाकमानमा पनि लकडाउन गर्नुपर्ने माग गरेको भए तापनि चियाकमान मालिकवर्गले यसलाई टेरपुच्छर लगाएका छैनन्, जसमाथि गोरामुमो (गोर्खा राष्ट्रिय मुक्ति मोर्चा) नेता अजय एड्वर्डले चिन्ता व्यक्त गर्दै भोलिदेखि चियाश्रमिकहरूलाई काममा नजाने अपील गरेका छन्।
यसैगरी गोरामुमोको श्रमिक संगठन एचपीडब्ल्यूयू (हिमालयन प्लान्टेशन वर्कर्स युनियन)-ले भोलि अर्थात् 25 मार्चदेखि दार्जीलिङ पहाड़का चियाकमानहरूमा बन्दको आह्वान गरेको छ।
यसबारे एचपीडब्ल्यूयूका महासचिव एसके लामाले एक बयान जारी गर्दै चियाश्रमिकहरूलाई यो कोरोना भाइरसको चपेटबाट बचाउनका लागि भोलिदेखि चियाकमान बन्द गर्ने आह्वान गरेका हुन्।
यसैबीच, चियाकमान मालिकहरूको सङ्गठन दार्जीलिङ टी एसोसिएशन (डीटीए) -का मुख्य सल्लाहकार सन्दीप मुखर्जीले जीटीए अध्यक्ष अनित थापालाई एक पत्र पठाएर उनले चियाकमानमा लकडाउन गर्नुपर्ने माग गरी लेखिएको अनुरोध सरकारसमक्ष पठाएको बताएका छन्।
यसका साथै मुखर्जीले आफ्नो पत्रमा सरकारको सम्पूर्ण निर्णय वा निर्देशलाई पालन गर्ने पनि उल्लेख गरेका छन्।
यसरी नै अर्कोतर्फ गोरामुमो दार्जीलिङ शाखा समिति अध्यक्ष अजय एड्वर्डले भनेअनुसार, सारा विश्व नै कोरोना भाइरसको सङ्क्रमणबाट त्रस्त बनिरहेको स्थितिले विश्वलाई नै लकडाउनको स्थितिमा पुऱ्याएको बेला चियाश्रमिकहरूलाई काममा लगाउनु कहाँको न्याय हो।
‘वर्तमान समयमा एक स्थानमा 7 जनाभन्दा अधिक मानिसहरूलाई एकत्र हुन वञ्चित गराइएको छ, जसको कारण देशका धेरैवटा राज्यमा कर्फ्यु पनि लागू गर्न परिरहेको छ। तर चियाकमान मालिकहरूले चियाश्रमिकहरूको जीवनसित खेलवाड़ गरिरहेका छन्’, एड्वर्डले थपे, ‘सरकारले अन्य विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकहरूका लागि विभिन्न राहतका सुविधाहरू उपलब्ध गराउने घोषणा गरिरहेको छ, तर चियाश्रमिकहरूका लागि कुनै व्यवस्था छैन।’
उनले यसप्रकारको नीतिको विरोध पनि गरेका छन्। यी गोरामुमो नेताले चियाकमानहरूबाट धेरै युवावर्ग कामको खोजीमा देशकै अन्य राज्य साथै विदेश गएको बताउँदै ती युवाहरू हाल आफ्नो घर फर्किरहेकाले त्यस्ता युवाहरूमार्फत यो महामारी आफ्नो गाउँमा भित्रिन सक्तैन कसरी भन्न सकिन्छ भन्ने आशङ्का पनि व्यक्त गरेका छन्।
यसैले चियाकमान मालिकहरूले आजदेखि नै सम्पूर्ण चियाकमानमा लकडाउन गर्नुपर्ने पनि माग गरेका छन्।
यस विषय लिएर दार्जीलिङका सांसद राजु विष्ट, विधायक निरज जिम्बाहरूले पनि ठोस पहल गर्नुपर्ने एड्वर्डले माग गरेका छन्।