दार्जीलिङ, 24 मार्चः विनय तामाङपन्थी गोजमुमोका तीनैजना उम्मेदवारले आज आ-आफ्नो नामाङ्कन-पत्र बुझाए, जसमा दार्जीलिङबाट केशवराज पोख्रेल, खरसाङबाट छिरिङ लामा दाहाल अनि कालेबुङबाट रूदेन सादा लेप्चा सामेल छन्।
उनीहरूले आज नामाङ्कन-पत्र बुझाउका साथै यता संयुक्त माध्यमिक शिक्षक कल्याण सङ्गठनले उनीहरूका जीतका लागि शुभकामना दिँदै यी तीन उम्मेदवारहरूलाई जिताउन हरसम्भव प्रयास गर्ने पनि घोषणा गऱ्यो।
यसअघि आज अपराह्न करिब 1 बजी स्थानीय दार्जीलिङ रेलवे स्टेशन परिसरबाट दार्जीलिङका उम्मेदवार केशवराज पोख्रेललाई अघि लाएर एक ऱ्याली नै निकालिएको थियो, जसमा नौमती बाजाको धुनले सम्पूर्ण दार्जीलिङलाई नै गुञ्जयमान तुल्याएको थियो।
पार्टी समर्थकहरूले केशवराजलाई यस चुनाउमा जिताउने अपील गर्दै व्यापक नाराबाजी गरिरहेका थिए।
यसैबीच, आफ्नो नामाङ्कन पत्र बुझाएपछि पोख्रेलले भने, “नयाँ दार्जीलिङ, सुन्दर दार्जीलिङ अनि प्रगतिशील दार्जीलिङ बनाउनका लागि सम्पूर्ण जनताले मलाई भोट दिने आशा गरेको छु। जनताले मलाई माया अनि आशीर्वाद दिनेछन् भन्ने विषयमा पूर्णरूपले विश्वस्त छु।”
यसरी नै केशवराज पोख्रेल, छिरिङ लामा दाहाल अनि रूदेन सादा लेप्चाको जीतलाई निश्चित बनाउन संयुक्त माध्यमिक शिक्षक कल्याण सङ्गठनले दार्जीलिङ पहाड़भरिका शिक्षण तथा अशिक्षण कर्मचारीहरूलाई उनीहरूको पक्षमा मतदान गरिदिने अपील गरेको छ।
सङ्गठनका अध्यक्ष अनिल शर्माले भने, “दार्जीलिङ पहाड़का तीनवटा आसनमध्ये दुइवटा आसनबाट खड़ा भएका विनय तामाङपन्थी गोजमुमोका उम्मेदवार क्रमैले केशवराज र छिरिङ लामा दाहाल शिक्षण क्षेत्रसित जोड़िएका छन्। यस चुनाउमा उनीहरूको जीत भएपछि उनीहरूले अवश्यै दार्जीलिङ पहाड़को शिक्षाको पुरानो गरिमालाई फर्काएर ल्याउने दिशामा कार्य गर्ने आशा गरिएको छ।”
यति मात्रै होइन, दार्जीलिङ पहाड़को शिक्षा क्षेत्रलाई अझै उत्तरोत्तर विकासको मार्गमा अघि बढ़ाएर लान जे-जति बाधा र अड़चनहरू छन्, ती सबै बाधाहरूलाई पनि यी दुई उम्मेदवारले विधायक बनेर गएपछि ठोस कार्य गर्ने उनले दावी गरे। किनभने, उनीहरू यसको लागि पूर्णरूपले दक्ष रहेको शर्माको भनाइ छ।
यसैगरी उनले हाल दार्जीलिङ पहाड़भरि 3 हजारभन्दा अधिक माध्यमिक स्तरका शिक्षकहरू रहेको बताउँदै यो सङ्गठन मात्रै पहाड़का सम्पूर्ण माध्यमिक शिक्षकको सङ्गठन रहेको पनि बताएका छन्।