सिलगढी, २५ मार्चः सिलगढ़ी नौकाघाट छेउ आज बिहानीपख भएको भीषण दुर्घटना परी २१ वर्षीय गर्भवती युवती अनिशा राईसहित तीनजनाले ज्यान गुमाएका छन्।
यो दुर्घटना आज बिहानपख करिब २ बजे भएको बताइएको छ।
विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको डब्ल्यूबी २३ सी ९५४८ नम्बरको दशचक्के मालवाहक वाहनले उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालतर्फ गइरहेको मातृ यानलाई जोडले ठक्कर दिँदा उनीहरूले ज्यान गुमाएका हुन्।
ज्यान गुमाउने अन्य दुईजनामा मातृ यानका चालक अभिषेक विश्वकर्म र मृतक युवतीकी जेठी सासु लीला राई रहेका छन्। मृतक तीनैजना कालेबुङनिवासी हुन्।
अर्कोतिर, मृतक युवतीका पति कपिल बराइली गम्भीर घाइते बनेका छन्, जसको सिलगढ़ीकै एक अस्पतालमा उपचार चलिरहेको छ।
यसैबिच, कालेबुङ अस्पतालबाट के कारण यति राति एक गर्भवती युवतीलाई उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल रेफर गरिएको हो? के कालेबुङ अस्पतालमा नर्मल या सिजर डेलिवेरी पनि हुँदैन ? के त्यस्तो समस्या थियो र ती गर्भवती युवतीलाई उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल रेफर गरिएको हो? भन्ने जस्ता प्रश्न उठिरहेका छन्।