गोजमुमो पार्टीको नाम विमल-विनय दुवै समूहले तत्कालका लागि प्रयोग गर्न पाउने

0
1029
विनय तामाङ (फाइल फोटो)।

दार्जीलिङ, 24 अप्रेल : गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) विनय खेमाले बुधबार दाबी गरेको छ-जलपाइगढ़ी हाई कोर्ट सर्किट बेञ्चले एउटा निर्देश दिँदै भनेको छ, गोजमुमो राजनीतिक पार्टीको नाममा विनय तामाङ समूह र विमल गुरुङ समूह दुवैले पार्टीको झण्डा र नाम प्रयोग गर्न पाउनेछन्। तर, दुवैले पार्टीको नामको पछि ब्रेकेटमा आफ्नो समूह उल्लेख गर्नुपर्नेछ। आगामी उप-चुनाउलाई ध्यानमा राखेर न्यायालयले तत्कालका लागि यो निर्णय सुनाएको तर चुनाउपछि भने उपल्लो खण्डपीठले यसमाथि अन्तिम निर्णय सुनाउने जनाइएको छ।

“हामीले सञ्चालन गरेको गोजमुमोमाथि विवाद गरिएपछि हामीले चुनाउ आयोगलाई आधिकारिक रूपमा हामी यसका हकदार हौं भनेर चिट्ठी लेखेका थियौं। तर, उनीहरूले दिल्लीबाट हामीलाई प्रत्युत्तर दिएनन्। त्यसपछि हामीले कलकत्ता उच्च न्यायालयमा रिट याचिका दर्ता गर्‍यौं। 11 मार्चको दिन यसमाथि सुनवाई भयो, जहाँ न्यायालयले जनप्रतिनिधि ऐनको धारा 29 (ए)-को प्रावधानअनुरूप यो समस्या 14 दिनभित्र समाधान गर्न चुनाउ आयोगलाई निर्देश दियो”, विनय तामाङले जनाए।

उनले अझ भने,“25 मार्चको दिन दुवै समूहका प्रतिनिधिहरूलाई दिल्ली बोलाइयो। हाम्रो पक्षबाट सहायक सचिव ज्योतिकुमार राई र कोषाध्यक्ष दावा लामा अनि कानूनविद् रेगन लामाले सहभागिता जनाएका थिए। त्यहाँ कुनै निर्णय हुन नसकेपछि यो मामिला न्यायालयमा रेफर गरियो। त्यसमा चुनाउ आयोगले यो निर्णयमाथि स्थगन आदेश जारी गर्न न्यायालयमा अपील गरेको थियो।” यसैमाथि आज जलपाइगढ़ी हाई कोर्ट सर्किट बेञ्चमा सुनवाइ थियो।

“यो पहिलो सुनवाईमा न्यायालयले चुनाउ आयोगको  स्थगन आदेशको अपील खारेज गरेर भनेको छ-यो संवैधानिक विषय भएकोले उपल्लो खण्डपीठले यसमाथि अन्तिम निर्णय लिनेछ। यसको प्रधान खण्डपीठ कलकत्ता उच्च न्यायालयका मुख्य न्यायाधीश हुन्, तर उप-चुनाउ मुखैमा आएकोले यसमाथि अन्तिम निर्णय चुनाउपछि हुने न्यायालयले भनेको छ। पार्टीको नाम दुवै पक्षले चलाउन सक्दैन भनेर कुनै अड़ान न्यायालयले लिएको छैन। यदि दुवै समूह चुनाउमा सहभागी हुन्छन् भने उनीहरूले पार्टीको झण्डा, नाम र लेटर प्याड प्रयोग गर्न सक्नेछन्, तर दुवै समूहले अनिवार्य रूपमा ब्रेकेटमा आफ्नो समूहको नाम उल्लेख गर्नुपर्नेछ”,विनय तामाङले दाबी गरे।

तामाङको दाबी अनुसार, 2011 मा नै पार्टीमा पुनः चुनाउ भएर नयाँ अध्यक्ष, सचिव र अन्य पदाधिकारीहरू निर्वाचित हुनुपर्ने थियो, तर त्यो काम गरिएन।

“हामी न्यायालयको निर्णयलाई स्वागत गर्दछौं। उनीहरूले भनेजस्तो हामीले पार्टीको झण्डा, नाम र लेटर प्याड प्रयोग गर्न पाउँदैनौं भन्ने उनीहरूको दाबीमा हामी पछि हट्नु परेको छैन। आजको निर्णय उनीहरूको पक्षमा छैन। हामीलाई पनि पार्टीको नाम र झण्डा प्रयोग गर्ने अधिकार दिइएको छ”, तामाङले दाबी गरे।

12 जना विधायक र 3 जना सांसद भएको पार्टीलाई मात्र राजनीतिक पार्टीको रूपमा मान्यता दिइने गरिएको अनि ती पार्टीले मात्र आरक्षित चिन्ह पाउने तामाङले बताए। गोजमुमो जस्तै जनआन्दोलन पार्टी र गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) पार्टी पनि पञ्जीकरण पार्टी मात्र भएकोले चुनाउका लागि उनीहरूले आफ्नो चिन्ह चुन्नुपर्छ। अन्य मान्यताप्राप्त राजनीतिक पार्टीका जस्तो उनीहरूमा आरक्षित चिन्ह छैन।

अर्कोतिर, दुवै समूहका दाबीबीच, न्यायालयले दुवै समूहलाई झण्डा, पार्टीको नाम र प्याड चलाउने अनुमति दिए पनि ब्रेकेटमा आफ्नो समूहको नाम अनिवार्य रूपमा लेख्न निर्देश दिएको छ भने दुवै पक्षले आधिकारिक रूपमा आफ्नो समूहको नाममा नामाङ्कन बुझाउन पाउनेछैनन्। उनीहरूले स्वतन्त्र उम्मेदवारका रूपमा नामाङ्कन बुझाउन सक्नेछन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here