गान्तोक, २३ मई : २५ वर्षदेखि राज्यको बागडोर सञ्चालन गर्दै आएको एसडीएफ पार्टीविरुद्ध विपक्षी पार्टी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-ले परिवर्तनकारी जीत हासिल गरेको छ। राज्यको कुल 32 वटा विधानसभा समष्टिमध्ये १७ वटामा जनताले एसकेएमलाई जनादेश दिएका छन्। यद्यपि एसडीएफ पार्टी बलियो विपक्षीको रूपमा विधानसभा पुगेको छ।
एक सीटको अन्तरले एसकेएमले सरकार बनाएको छ। एकमात्र लोकसभा सीट पनि एसकेएमका उम्मेदवार इन्द्रहाङ सुब्बाले जितेका छन्। पीएस गोलेको नेतृत्वमा रहेको विपक्षी पार्टीलाई जनताले सरकार बनाउने साधारण मत दिएका हुन्।
२०१४ मा पश्चिम सिक्किममा खाता नखोलेको एसकेएमले यसपटक पश्चिम सिक्किमबाट ६ वटा सीट जितेको छ। दक्षिण सिक्किममा पनि दुईवटा सीटमा उसले खाता खोलेको छ। पूर्व सिक्किममा उसको सीट एउटा घटेर ६ वटामा झरेको छ। तर सङ्घ सीट र उत्तरका पछिल्ला दुईवटा सीटमा एसकेएमले पुनः विजय हासिल गरेको छ। सत्तारूढ़ पार्टीसँग निकै कड़ा प्रतिद्वन्द्विता गरेर एसकेएमले यो ऐतिहासिक जीत हासिल गरेको छ।
पश्चिम जिल्लामा टासीडिङ-योकसम (साङ्गे लेप्चा), गेजिङ-बर्मेक (लोकनाथ शर्मा), याङथाङ (भीमहाङ सुब्बा), दरामदिन (मिङ्मा नर्बु शेर्पा), सोरेङ-च्याखुङ (आदित्य गोले) र जुम-सालघारी (सुनिता गजमेर) विजयी भएका छन्।
यसैगरी, दक्षिण सिक्किममा एसकेएमले दुईवटा सीट प्राप्त गरेको छ। तिमी-नाम्फिङमा बेदुसिंह पन्त र नामथाङ-रातेपानीमा सञ्जीत खरेल विजयी भएका छन्। उत्तर सिक्किममा एसकेएमले कबी-लुङचोक र लाचेन-मङ्गन गरी दुई सीट जितेको छ। पछिल्लो चुनाउमा एसकेएमले कबी लुङचोक मात्र जितेको थियो। लाचेन-मङ्गबाट साम्डुप लेप्चा र कबी-लुङ्चोकबाट कर्मा लोडे भोटिया विजयी भएका छन्।
पूर्व सिक्किममा २०१४ -को तुलनामा एसकेएमको एउटा सीट घटेको छ। पूर्वमा गान्तोक र स्यारीबाट कुङ्गा निमा लेप्चा, आरिथाङबाट अरुण कुमार उप्रेती, रिनाकबाट विष्णुकुमार शर्मा, खाम्दोङ-सिङ्तामबाट एमके शर्मा, पश्चिम पाण्डामबाट एलबी दास विजयी भएका छन्।
२०१४ मा एसडीएफलाई सरकार बनाउने जनादेश दिएको पश्चिम सिक्किमका जनताले २०१९ मा आफ्नो विचार फेरेका छन्। पश्चिम सिक्किमकै जनताको उल्लेखनीय समर्थनले एसकेएम सत्तामा पुगेको छ। एसकेएमले सङ्घ सीट (सोनाम लामा) पनि जितेको छ।
अर्कोतिर, एसडीएफ पार्टी सत्तासीनबाट बलियो विपक्षी पार्टी बनेको छ। एसडीएफलाई सरकार बनाउने जनादेश मात्र प्राप्त भएको छैन, तर ऊ शक्तिशाली विपक्षी पार्टी बनेको छ। जनताले एसडीएफलाई बलियो विपक्षीको भूमिकामा पुर्याएका छन्। एसडीएफले पश्चिमबाट दुईवटा, दक्षिण सिक्किमबाट ६ वटा, उत्तर सिक्किमबाट एउटा र पूर्व सिक्किमबाट ६ वटा सीट जितेको छ। एसडीएफको गढ़ मानिएको पश्चिम सिक्किममा ८ मध्ये उसलाई दुईवटा सीट मात्र प्राप्त भएको छ। २०१४ मा पार्टीलाई जिताउने पश्चिम सिक्किमका जनताको जनादेश यसपटक फेरिएको छ। ‘मेजिक नम्बर’-मा दुईवटै सङ्ख्याको कमीले एसडीएफको 25 वर्षे शासनले निरन्तरता पाउन सकेन।
उल्लेखनीय छ, यसपालिको चुनाउमा सिक्किमेली जनताले परिवर्तनको पक्षमा एसकेएमलाई सत्ताको चाबी मात्र सुम्पेका छैनन्, तर भारतमा सबैभन्दा लामो समयसम्म मुख्यमन्त्री पद सम्हाल्ने कीर्तिमान राखेका पवन चामलिङलाई पराजयको स्वाद चखाउँदै सत्ताबाट बाहिर पनि गरेका छन्।
पीएस गोलेले मुख्यमन्त्री हुनेछन् : जेकब खालिङ
बहुमत पाएकोले सरकार गठन गर्न राज्यपालले डाकेपछि मुख्यमन्त्री उम्मेदवारको रूपमा पार्टी अध्यक्ष पीएस गोलेको नाम प्रस्तावित गर्ने एसकेएमले जनाएको छ। “एसकेएम पार्टीले १७ सीटको साधारण बहुमत प्राप्त गरेको छ अनि सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)-ले १५ सीट सिक्किम विधानसभामा प्राप्त गरेको छ। पार्टीका कार्यकारी अध्यक्ष कुङ्गा निमा लेप्चाको दोहोरो विजयले पार्टीलाई जिताउन महत्त्वपूर्ण भूमिका निभायो। सिक्किममा पवन चामलिङको २५ वर्षको सत्ता परिवर्तनको लागि यो पर्याप्त छ”, जेकब खालिङले पार्टीको प्रतिक्रिया दिँदै भने।
पार्टीले अघिबाटै गोलेलाई मुख्यमन्त्री उम्मेदवारको रूपमा प्रोजेक्ट गरेको उनले बताए। “आफ्नो चुनावी एजेण्डामा गोलेलाई आफ्नो मुख्यमन्त्री उम्मेदवारको रूपमा प्रस्तुत गर्ने पार्टीको अड़ानमा हामी कायम छौं। हामी भोलि वा पर्सि राज्यपालकहाँ जानेछौं अनि सरकार बनाउने दाबी राख्दै उनको नाममा मुख्यमन्त्रीको रूपमा प्रस्तुत गर्नेछौं”, खालिङले भने।
उनले अझ भने,“यो जनताको जीत हो, प्रजातन्त्रको जीत हो। जनताको अपेक्षाअनुसार सिक्किममा पूर्ण परिवर्तन ल्याउन पार्टी प्रतिबद्ध छ। सिक्किममा परिवर्तन ल्याउन पीएस गोलेले आफ्नो निजी जीवनमा ठूलो त्याग गरेका छन्। यो जीत हामी उनको त्यागप्रति समर्पित गर्दछौं। उनले एक वर्ष कष्टपूर्ण जेल जीवन बिताए, तर उनले सम्झौता गरेनन्। उनको त्यो त्यागबिना यो उपलब्धि सम्भव थिएन।”
कसले जिते? को हारे?
योकसम-टासिडिङ
साङ्गे लेप्चा (एसकेएम) 5686
दिछेन ओङ्मु भोटिया (एसडीएफ) 5607
याङथाङ
भीमहाङ सुब्बा (एसकेएम) 5184
डीबी सुब्बा (एसडीएफ) 5137
मानेबुङ-देन्ताम
एनके सुब्बा (एसडीएफ) 6211
पूर्णहाङ सुब्बा (एसकेएम) 4885
गेजिङ-बर्मेक
लोकनाथ शर्मा(एसकेएम) 5862
लक्ष्मण शर्मा (एसडीएफ) 4048
रिञ्चेनपोङ
केएस लेप्चा (एसडीएफ) 6582
फूर्ब छिरिङ भोटिया (एसकेएम) 5513
दरामदिन
मिङ्मा नर्बु शेर्पा (एसकेएम) 2676
पेम नर्बु शेर्पा (एसडीएफ) 2663
सोरेङ च्याखुम
आदित्य गोले (एसकेएम) 6580
सञ्चराज सुब्बा (एसडीएफ) 6372
जूम-सालघारी
सुनिता गजमेर (एसकेएम) 4400
धनकुमारी कामी (एसडीएफ) 4307
बर्फुङ
टीटी भोटिया (एसडीएफ) 5936
लोब्जाङ भोटिया (एसकेएम) 5839
पोकलोक-कामराङ
पवन चामलिङ (एसडीएफ) 7731
केबी राई (एसकेएम) 4832
नाम्ची-सिङ्गीथाङ
पवन चामलिङ (एसडीएफ) 5054
गणेश राई (एसकेएम) 4677
मल्ली
फरवन्ती तामाङ (एसडीएफ) 6354
तिलक बस्नेत (एसकेएम) 5489
नामथाङ-रातेपानी
सञ्जीत खरेल (एसकेएम) 6848
बिर्जन तामाङ (एसडीएफ) 5543
तिमी-नाम्फिङ
बीएस पन्त (एसकेएम) 6084
जीएम गुरुङ (एसडीएफ) 5314
राङगाङ-याङगाङ
राजकुमारी थापा (एसडीएफ) 6146
राजकुमार बस्नेत (एसकेएम) 4621
तुमिन-लिङ्गी
उगेन टी. ग्याछो भोटिया (एसडीएफ) 6357
साम्डुप छिरिङ भोटिया (एसकेएम) 6151
खाम्दोङ-सिङताम
डा. एमके शर्मा (एसकेएम) 5347
जीएम गुरुङ ‘जुनियर’ (एसडीएफ) 4474
पश्चिम पाण्डाम
एलबी दास (एसकेएम) 5799
गोपाल बराइली (एसडीएफ) 4901
रिनाक
विष्णु कुमार शर्मा (एसकेएम) 8039
हेमेन्द्र अधिकारी (एसडीएफ) 4953
छुजाचेन
केबी राई (एसडीएफ) 6896
डीके प्रधान (एसकेएम) 5733
नाथाङ-माछोङ
डीटी लेप्चा (एसडीएफ) 6380
छिरिङ भोटिया (एसकेएम) 3460
नाम्चेबुङ
ईएम प्रसाद शर्मा (एसडीएफ) 6141
डेनिस राई (एसकेएम) 5170
स्यारी
केएन लेप्चा (एसकेएम) 6638
कर्मा वाङ्दी भोटिया (एसडीएफ) 5282
मार्ताम-रुम्तेक
डीटी लेप्चा (एसडीएफ) 6244
सोनाम छिरिङ भेनचुङ्पा (एसकेएम) 6171
अप्पर तादोङ
जीटी ढुङ्गेल (एसडीएफ) 3844
आनन्द लामा (एसकेएम) 3428
आरिथाङ
अरुण कुमार उप्रेती (एसकेएम) 3150
आशिष राई (स्वतन्त्र) 2676
श्याम प्रधान (एसडीएफ) 1545
गान्तोक
केएन लेप्चा (एसकेएम) 3838
पिन्छो छोपेल (एसडीएफ) 2950
अप्पर बुर्तुक
डीआर थापा (एसडीएफ) 6107
एनबी गुरुङ (एसकेएम) 5350
कबी-लुङचोक
कर्मा लोडे भोटिया (एसकेएम) 5705
उगेन निडुप भोटिया (एसडीएफ) 4268
जङ्गु
पिन्छो नामग्याल लेप्चा (एसडीएफ) 5613
छुङ्किपु लेप्चा (एसकेएम) 2612
लाचेन-मङ्गन
साम्डुप लेप्चा (एसकेएम) 3615
टीडब्ल्यू लेप्चा (एसडीएफ) 3031
सङ्घ
सोनाम लामा (एसकेएम) 1488
छिरिङ लामा (एसडीएफ) 858
लोकसभा
इन्द्रहाङ सुब्बा (एसकेएम) 1,61,143
डीबी कटुवाल (एसडीएफ) 1,49,158