जीटीए भङ्ग गर्नुपर्ने माग, विनय-अनितले जीटीए छोड़्नुपर्ने सामूहिक स्वर

0
2021
चुनाउमा विजयी बनेको प्रमाण-पत्र ग्रहण गर्दै नीरज जिम्बा।

दार्जीलिङ, 23 मई : भाजपाले दार्जीलिङ लोकसभा र विधानसभा दुवै सीट जितेपछि दार्जीलिङ पहाड़मा विनय तामाङ र अनित थापाको ‘राजनीतिक करिअर’ सङ्कटमा परेको छ। यसैबीच भाजपालाई यी दुवै सीट जिताउन महत्त्वपूर्ण भूमिका खेल्ने विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा र अखिल भारतीय गोर्खा लीग प्रताप खाती गुटले विनय तामाङ र अनित थापा गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए) -मा बस्न योग्य नरहेको बताउँदै जीटीएलाई जतिसक्दो चाँड़ो भङ्ग गर्नुपर्ने माग गरेका छन्।

उनीहरूका अनुसार विनय-अनित न निर्वाचित प्रतिनिधि हुन् न त यी दुईसँग पर्याप्त जनाधार नै छ। लोकसभा र विधानसभा चुनाउमा नराम्रो घतले पराजित भएपछि यी दुईको जनाधार पहाड़मा के कति रहेछ भन्ने स्पष्ट भएको छ। जीटीए रद्द गर्ने माग गरिरहेका यी राजनीतिक दलहरूले यो व्यवस्थाको सट्टा दार्जीलिङ समस्याको स्थायी राजनीतिक समाधानका लागि पहल शुरु गरिनुपर्ने माग पनि गरेका छन्।

गोरामुमो नेता अजय एडवर्ड (फाइल फोटो)।

गोरामुमो स्टेरिङ कमिटीका सदस्य अजय एडवर्डले जीटीएलाई छिट्टोभन्दा छिट्टो रद्द गर्नुपर्ने माग गरेका छन्। जीटीए पहाड़का मानिसहरूले खारेज गरेको कुरालाई चुुनाउ परिणामले छर्लङ्ग बनाएको उनको भनाइ छ।

“हिजो चुनाउ परिणामले विनय तामाङ र अनित थापासँग जनाधार नरहेको स्पष्ट भएको छ। जनाधार नै नभएका व्यक्तिहरूले जीटीए सञ्चालन गर्नु राम्रो होइन। यसैले दार्जीलिङ पहाड़को स्थायी राजनीतिक समस्या नभएसम्म जीटीएलाई नोकरशाहीद्वारा सञ्चालन गरिनुपर्छ”, उनले भनेका छन्।

अर्कोतिर, विमलपन्थी गोजमुमो महासचिव रोशन गिरीले एक प्रेस विज्ञप्ति जारी गरी जीटीएजस्ता अस्थायी व्यवस्थाले दार्जीलिङ पहाड़, तराई र डुवर्सका  मानिसहरूको जनाकांक्षा पूरा नगर्ने भएकोले यसलाई रद्द गरी दार्जीलिङ पहाड़, तराई-डुवर्सका मानिसहरूका लागि स्थायी राजनीतिक समाधान गरिनुपर्ने माग गरेका छन्।

रोशन गिरी (फाइल फोटो)

गिरीले जीटीएको बोर्ड अव् एड्मिनिस्ट्रेटर (बीओए)-को  घरीघरी कार्यालय बढ़ाउने बङ्गाल सरकारको ‘संवैधानिक उल्लङ्घन’-माथि पनि प्रश्न गरेका छन्।

“लोकसभा र विधानसभा चुनाउमा तृणमूल कङ्ग्रेस र यसका घटक दलको नराम्रो पराजयले उनीहरूविरुद्ध पहाड़मा कति जनाधार रहेछ भन्ने स्पष्ट भएको छ। यो जनाधार दार्जीलिङ पहाड़को  समस्याको स्थायी राजनीतिक समाधानका लागि हो। हामी जीटीएका सबै मनोनित सदस्यहरूले राजीनामा दिनुपर्ने र यसलाई भङ्ग गर्नुपर्ने माग गर्दछौं”, गिरीले भनेका छन्।

अर्कोतिर आज  चुनाउ जितेको प्रमाण-पत्र थापेपछि राजु विष्टले भने पनि अजय एडवर्ड र रोशन गिरीकै भाषामा विनय-अनितहरू जीटीएको चौकीमा बस्न योग्य नरहेको बताए।

उनले भने “जनाधार नभएका विनय तामाङ र अनित थापाहरूलाई जीटीएको चौकीमा बस्ने कुनै अधिकार छैन।” उनले चाँड़ोभन्दा चाँड़ो जीटीए चुनाउ हुनुपर्ने कुरामा जोड़ दिए। “जीटीए चुनाउमा जनताले जसलाई विजयी बनाउनेछन्, उनीहरूले यसलाई सञ्चालन गर्नेछन्।”

यसअवधि उनले दार्जीलिङ पहाड़को समस्याको स्थायी राजनीतिक समाधान र गोर्खा समुदायका 11 जातगोष्ठीलाई जनजातिको मान्यता  प्रदान गर्न भाजपा प्रतिबद्ध रहेको पनि बताए। यसका साथै उनले केन्द्रिय विश्वविद्यालय र राम्रो अस्पताल, दार्जीलिङको ट्राफिक जाम र पानीको समस्या, पर्जा-पट्टालगायत चियाश्रमिकहरूलाई रोज वृद्धिजस्ता मुद्दामा पनि काम गर्ने बताए।

उल्लेखनीय छ, राजु विष्टले तृणमूल कङ्ग्रेसका उम्मेदवार अमरसिंह राईलाई 4,13, 443 भोटले पराजित गरेका छन्। भाजपा उम्मेदवार विष्टले 7,50,067 मत पाए भने अमरसिंह राईले 3,36,624 भोट पाए।

यसैगरी दार्जीलिङ विधानसभाको उपचुनाउमा विजयी बनेका भाजपा उम्मेदवार नीरज जिम्बाले पनि आजै चुनाउमा विजयी बनेको प्रमाण-पत्र प्राप्त गरे। उनले दार्जीलिङको स्थायी समाधानका लागि पहल गर्ने वचनबद्धता जाहेर गरे। उनले दार्जीलिङमा लोकतन्त्रको पुनर्वहाली पनि एउटा प्रमुख मुद्दा हुने बताए।

स्मरणरहोस्, दार्जीलिङको उपचुनाउमा भाजपा उम्मेदवार नीरज जिम्बाले स्वतन्त्र उम्मेदवार विनय तामाङलाई 46,538 भोटले जितेका छन्। उक्त चुनाउमा जिम्बाले 88161 भोट पाएका थिए , जबकि विनय तामाङले 41,627 मत प्राप्त गरे।

यसैबीच दुवै चुनाउमा भारतीय जनता पार्टीलाई समर्थन गरेका अखील भारतीय गोर्खा लीग प्रताप खाती गुटले पनि विनय तामाङ खेमा गोजमुमोले जीटीए छोड़्नु पर्ने बताएको छ। अभागोली महासचिव प्रताप खातीले भने, “जीटीएको चौकीबाट विनय तामाङ खेमा गोजमुमोले नैतिक रूपमा राजीनामा दिइयोस्। अहिले जो जीटीएको चौकीमा छन्, उनीहरू जनताद्वारा निर्वाचित होइनन्, तर बङ्गाल सरकारले मनोनित गरेर राखेको हो। यदि उनीहरूसँग नैतिकता छ भने चाँड़ोभन्दा चाँड़ो छोड़ुन्।”

जीटीएले जनताको जनाकांक्षा पूरा नगर्ने हुनाले यसलाई पूर्ण रूपले भङ्ग गर्नुपर्ने माग खातीको छ। यसका साथै उनले दुवै चुनाउ दार्जीलिङ जनता र गणतन्त्रको जीत रहेको बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here