-प्रा. वासुदेव पुलामी
नेपाली साहित्य जगतमा जस योञ्जन प्यासी एकजना वरिष्ठ नाम हुन्। उनलाई समालोचक, नाटककार, कवि, गीतकार र गजलकारका रूपमा परिचित गराउन उनका प्रकाशित कृतिकार्य साक्ष्य छन्।
यहाँ विशेषत: उनका सन् २०१७-मा प्रकाशित निर्माया तिमीलाई गजलसङ्ग्रह (दिवान)-का शेरहरूबारे संक्षिप्तमा चर्चा गर्नु यस लेखको मुख्य ध्येय रहेको छ।
यस सङ्ग्रहमा उनले ११४ वटा गजल, एउटा कब्बाली र केही रूबाईलाई १५६ पृष्ठमा समेटेका छन्। गजल सङ्ग्रहको नाममा प्रयोग गरेका ‘निर्माया’ शब्दले पाठकको ध्यानलाई शुरूमै आकर्षित गर्दछ।
गजलकारले ‘निर्माया’ शब्द एकपटक मात्रै प्रयोग गरेका भए उस्तो चासो पाठकको चित्तमा सायदै उठ्ने थियो। सङ्ग्रहभित्रका गजलहरू पढ्दै जाँदा यो शब्द शेर, मतला, मकता, रदिफ, काफिया हुँदै पटक पटक ठाउँ फेर्दै आएको थाहा लाग्दछ।
एउटै शब्दलाई यसरी गजलका तत्त्वहरूभित्र घुसाएर अनेक रूपमा साटफेर गर्दै गजलकारले सचेत रूपमै प्रयोग गरेका छन्। अन्तत: गजलकारले गजल सङ्ग्रहको नाम नै पनि निर्माया तिमीलाई राख्न पुगेकाले यसको निश्चय पनि ध्वनित अर्थ छ भन्ने कुरोको केही पाइतो यहाँ समात्न सकिन्छ।
गजलकार प्यासीको आफ्नो भनाइ यस्तो छ – ‘मैले ‘निर्माया’-लाई मेरा गजलहरूमा असाध्यै माया गरेर उपस्थित गराएको छु। मेरो गजलको सास बनाएको छु, धुकधुकी-प्राण बनाएको छु। केन्द्रबिन्दु बनाएको छु, थेगो जत्तिकै बनाएको छु, सङ्गीतको टेक जत्ति नै बनाएको छु। निर्मायालाई मेरा गजलहरूमा सम्बोधनको सहज सङ्गीनी बनाएको छु। निर्मायालाई नै प्रेम-अनुराग, प्यार-मोहब्बत, प्रीति-पिरथी एवम् प्रणय पोख्ने, विरह-वेदना, पीर-व्यथा, कष्ट-पीड़ा र दुखेसो-गुनासो पोखाउने, कहीँ रिस-राग, रोष-आक्रोश देखाउने र व्यङ्ग्य कस्ने एक अनौठो सम्बोधनिक प्रयोग गरेको छु। सचेत पाठक-अध्येयताहरू अझ अरू फेला पार्लान्।’
उर्दू गजलमा प्रतीकात्मक रूपमा प्रयोग गरिने यस्ता शब्दहरू – कफस (बन्दीगृह वा पिञ्जड़ा), बुलबुल (सुरिलो स्वर भएको सानी चरी), मक्तल (वध स्थान, बलिवेदी), साकी (रक्सी खुवाउने नारी), मीना (रक्सी राखिने भाँड़ो), सबू, सय्याद, कलीसा आदि पाइन्छन्।
उर्दू गजलमा यस्ता शब्दका प्रयोगले कुनै प्रेमी वा प्रेमिकालाई सम्बोधन गर्ने क्रममा प्रयोग भएको देखिन्छ। आफ्ना प्रेमी वा प्रेमिकालाई जराफत (रसिकता), गमे-निशात (आनन्दको दुःख), सुपुर्दगी (समर्पण), वारफ्तगी (आत्माविस्मृति) आदिबारे जनाउन यस्ता शब्दको प्रयोग उर्दू गजलमा भएको पाइन्छ।
यस्ता प्रयोगले गजललाई एकातिर प्रतीकात्मक बनाएको हुन्छ भने अर्कातिर लयात्मक र प्रभावकारी पनि बनाएको पाइन्छ।
नेपालीमा प्रेमप्रीतियुक्त लोक लहरी र सवाईतिर भने सान्नानी, कान्छीनानी, मैय्या, सुन साइँली, सुनमाया, सुनबरी, हाइगोरी, सालैज्यू, निर्माया आदि जस्ता शब्दको प्रयोग हुँदै आएको देखिन्छ।
नेपालीमा यसलाई थेगो, रहनी, वचन र चरण भनिन्छ। आजभोलि गजलकार र गीतकारहरूले पनि यसको भरमार प्रयोग आफ्ना सिर्जनाहरूमा गरेको देख्न पाइन्छ। यसको उद्देश्य आफ्ना प्रेमीलाई प्रेमपूर्वक सम्बोधन गरिने प्रतीकात्मक अभिव्यक्ति नै रहेको बुझिन्छ। कहिलेकहीँ यसको प्रयोग लयान्वितिका लागि मात्रै पनि हुने गरेको पाइन्छ।
गजलकार जस योञ्जन प्यासीको यस गजल सङ्ग्रहभित्र घरीघरी दोहोरिएका ‘निर्माया’ शब्द प्रयोगमा भने निश्चित अभिप्राय लुकेको देखिन्छ। यसै ता निर्माया शब्द ‘निर्’ + ‘माया’-को योगबाट बनिएको तत्सम शब्द हो।
‘निर्’-को अर्थ निषेध, बाहिर भन्ने हुन्छ। ‘निर्माया’ शब्दको अर्थ माया नभएको, मायादेखि निषेध गरिएको, निठुरी, निर्मोही (प्रेमी वा प्रेमिकाले एकअर्काको मन बुझ्न नसकेको भन्ने गुनासो गर्दा भनिने शब्द) भनिएको पाइन्छ।
गजल यसै पनि प्रेमी वा प्रेमिकाबीच हुने आत्मीय कुराकानी वा वार्तालाप भनिएको कारण गजलकार प्यासीले ‘निर्माया’ शब्दलाई गजलमा सचेत रूपमै यसरी प्रयोग गरेको हुनसक्छ। उनका निर्माया सन्दर्भका अधिकांश गजलका स्थायी भाव (रति) प्रेम नै रहेको हुँदा यसले शृङ्गार रस नै परिपाक गर्दछ।
गजलकार प्यासीले गजलका शेरमा यो शब्द कसरी, कहाँ र कति प्रकारले प्रयोग गरेका छन्। तिनलाई केही ठम्याउने प्रयत्न यो लेखमा गरिएको छ।
गजलको आन्तरिक र वाह्य संरचनासम्बन्धी विविध प्रकारका मत मतान्तर रहँदै आएका छन्। तथापि यहाँ गजलका शेरमा ‘निर्माया’ शब्दले ओगटेका अवकाश ( स्पेस) मात्रै हेरिँदा पनि गजलकार प्यासीका गजल लेखनका आधार र सूत्रहरू समात्न सकिन्छ।
शेर अरबी भाषाको पुलिङ्गी शब्द हो। यसको अर्थ केश वा कपाल तथा स्वास्नी मानिसको कपाल भन्ने हुन्छ। फारसी भाषामा चाहिँ शेर भन्नाले बाघ वा सिंहलाई पनि बुझाउने एउटा पुलिङ्गी शब्द हो।
शेर शब्दको अर्को अर्थ ज्ञान वा विवेक पनि बताएका छन्। शेर शब्द फारसी भए तापनि गजलमा प्रयुक्त शेरहरूबारे उनीहरूको भनाइ छ- जसरी स्वास्नीमानिसको सुन्दरताका लागि केश विन्यास अनिवार्य भए जस्तै गजलमा भावसौन्दर्यको अभिव्यक्तिका लागि शेर उसरी अति आवश्यक छ।
यति मात्रै होइन गजलको आधारभूत एकाइ पनि शेर भएको हुँदा गजलको घर निर्माण गर्ने ईंटाको काम पनि यसले गरेको हुन्छ। शेरलाई बेत तथा असार पनि भनिएको छ। गजलमा शेरको निर्माण गरिने पङ्क्तिलाई मिसरा भनिन्छ।
एउटा शेरमा दुईवटा मिसरा हुन्छ। पहिलो पङ्क्तिलाई मिसरा-ए-उला र दोस्रो पङ्क्तिलाई मिसरा-ए-सानी भनिन्छ।
प्यासीका गजलमा ‘निर्माया’ शब्दको प्रयोग गजलको पहिलो शेरको मिसरा-ए-उलामा शुरूकै पदमा प्रयोग गरेका उनका गजलहरू यसप्रकार छन्-
उदाहरण –
निर्माया भए पनि तिमी मेरो अजर गीत हौ
यो हृदयकुञ्जमा गुञ्जिरहने एक अमर सङ्गीत हौ।। ( पृ ३७)
निर्माया कहिलेकहीँ त लोकोक्ति पनि बुझ्नुपर्छ
सोझै कुरा मात्र होइन वक्रोक्ति पनि बुझ्नुपर्छ ।। (पृ ४६)
यस्ता अन्य गजलहरू हुन्-
निर्माया अब के गरूँ म? (पृ ६८)
निर्माया मलाई फेक्नै सकेनौँ (पृ ७२)
निर्माया निष्काम निरपेक्ष छु (पृ ७३)
मिसरा-ए-उलामा दोस्रो पदमा प्रयोग गरेका उनका गजलका शेरहरू यसप्रकार छन्,
उदाहरण –
तिमीलाई निर्माया ( पृ २९)
नजानेरै निर्माया ( पृ ६१)
कस्सम निर्माया ( पृ ८०)
मिसरा-ए-उलामा तेस्रो पदमा प्रयोग गरेका उनका गजलका शेरहरू यसप्रकार छन्,
उदाहरण –
नसोध मलाई निर्माया (पृ ३३)
सुन्छौ भने निर्माया (पृ ३९)
तिमीलाई देखेपछि निर्माया ( पृ ५२)
ख्याल ख्यालैमा निर्माया (पृ ५७)
जसले दियो निर्माया (पृ ५८)
माया लाग्छ निर्मायाको ( पृ ६२)
आहानै छ निर्माया ( पृ ७४)
जसको प्यासमा निर्माया ( पृ ७७)
भूल भएछ निर्माया ( पृ ७९)
कति दोहोऱ्याऊ निर्माया (८१)
जसको जीवन निर्माया (पृ ८६)
उपकार भो निर्माया (पृ ८७)
जति सक्थे निर्माया (पृ १०१)
तिम्रो लागि निर्माया ( पृ १०२)
‘जस’-लाई नसम्झनु निर्माया (पृ १०५)
तिम्रै खातिर निर्माया ( १२५)
मिसरा-ए-उलामा चौथो पदमा प्रयोग गरेका उनका गजलहरू यसप्रकार छन्,
उदाहरण –
गयौ त गयौ निर्माया खोट लगाई गयौ
कहिले पनि निको नहुने चोट लगाई गयौ।।( पृ ४९)
एक पक्षे माया निर्माया कति दिन गरूँ म ?
छाती र आँखा पीर र आँसुले कति भरूँ म ? (पृ ६५)
यी शेरहरूमा पहिलो हरफ मिसना-ए-उला मा भावको उठान गरेर दोस्रो शेर मिसरा-ए- सानी मा भावको विस्तार र पूर्व सङ्केत गरेको पाउँदछौँ। यसरी हरेक शेरमा मिसना-ए-उला र मिसरा-ए- सानी को कार्य-कारण, पोष्य-पोषकका रूपमा सम्बन्धित रहेको देखिन्छ। यसले गजललाई प्रभावकारी र श्रुतिसुखदता प्रदान गरेको छ।
एउटै लय वा पदविन्यासमा बाँधिएका दुई पङ्क्तिको योगबाट नै एउटा शेरको निर्माण भएको हुन्छ। यसलाई अङ्ग्रेजीमा कप्लेट भनिएको पाइन्छ।
गजलकार प्यासीका उपरोक्त गजलका शेरहरूमा आएका निर्माया शब्दले एकातिर प्रतीकात्मक अर्थ प्रदान गरेका छन् भने अर्कातिर लयान्वितिको सिर्जनाद्वारा गजललाई प्रभावकारी बनाएको छ। अर्थात् प्यासीका गजलमा प्रयुक्त निर्माया शब्दले गजललाई रूपकात्मक बान्कीमा चमत्कार उत्पन्न गराउन पनि सफल भएको मान्न सकिन्छ।
गजलकार जस योञ्जन प्यासीले गजलको मकता एवम् अन्तिम शेरमा ‘जस’ अनि ‘प्यासी’ तखल्लुस भएका पदमा पनि ‘निर्माया’ शब्दको प्रयोग गरेको पाइन्छ,
उदाहरण –
मेरो भन्नु केही छैन कसैलाई लौ निर्माया
‘जस’-सँग अब्जस पनि पाइन्छ सरीबरी यसरी। (पृ ५०)
झुपड़ीभित्रको जिउँदो लाश नै सम्झ मलाई निर्माया
‘जस’-ले तर कामना गर्छ सधैँ होस् तिम्रो महलबास भनेर। (पृ ५१)
संसार सागर बगिरहेछ तर म छु सदा ‘प्यासी’
मुक्त छु म भन्नु मात्रै जीवन नै हो कारा निर्माया। (पृ ९०)
‘प्यासी’-लाई प्यार देऊ या दिँदै नदेऊ
तिम्रो साथ नपाए पनि कहिल्यै एक्लो म हुन्न निर्माया। (पृ १००)
यसरी गजलमा काफियासित आएका निर्माया शब्दले मकतासहित तखल्लुसको प्रयोग प्रभावकारी ढङ्गमा प्रयोग गर्नमा गजलकार प्यासी सफल भएका छन्। गजलमा सिद्धान्तलाई निर्वाह गरिनुले मात्रै गजलकार होइने होइन भन्ने कुरोको हेक्का राखेर गजलमा भावगत सौन्दर्य र गम्भीरतालाई उत्तिकै वहन गरेर उनी गजल सिर्जना गर्दछन्।
कहीँ कतै आंशिक काफिया र रदिफका प्रयोगमा उनी चुकेका छन् तर त्यसले गजललाई ठुलै हानी पुऱ्याएका छैनन्। बरू त्यहाँ गजलको भाव गम्भीरतालाई आत्मासात गरेका छन्।
यसरी नै रदिफसित काफियाका रूपमा आएका उनका गजलहरू यसप्रकार छन्,
उदाहरण –
सुनाउँछु मनको बह निर्माया तिमी सुन्छौ भने
होस् सुनाउँदिन नसुनाई नै तिमी रून्छौ भने। (पृ ३९)
एवम्
देख्लान् भनेर दुनियाँले निर्माया अनुहार लुकाउँदै लुकाउँदै आएँ।
वर पर कतै नहेरी आँखाहरू झुकाउँदै झुकाउँदै आएँ। (पृ ४१)
प्यासीको गजलमा ‘निर्माया’ शब्द कहिले पूर्ण रदिफको ठाउँमा पनि आएर बसेका छन्,
उदाहरण –
दुईदिने जिन्दगानी यो निर्माया
बिर्सिजाने कहानी हो निर्माया।( पृ १११)
एवम्
तन गलिसक्यो मन गलिसक्यो भनेर हुन्न निर्माया
बाहिरै निस्केला भइसक्यो मुटु सक्दिनँ म थुन्न निर्माया। (पृ १००)
यसप्रकार प्रस्तुति र प्रयोगका दृष्टिले पनि प्यासीका गजलका आन्तरिक र बाह्य संरचनामा निर्माया शब्दले गेयात्मकता, लयात्मकता सिर्जना गर्दै गजललाई गतिशील, गम्भीर र जीवन्त बनाएको देखिन्छ।
गजलमा प्रयुक्त यस शब्दले गजलका संरचना र बुनोटमा समेत घुसेर गजललाई रूपकात्मक बनाउन सफल भएको मान्न सकिन्छ। गजललाई गम्भीर भावविन्यासमा लाक्षणिकतासहित कोमल पदावली भएका मिसराहरूमार्फत् प्रभावकारी ढङ्गमा गजल प्रस्तुत गर्न धेरै गजलकार चुकेका हुन्छन्। गजलकार प्यासी यसमा माहिर देखिएका छन्।
यसैले गजलका भाव गाम्भीर्यतामा प्रभावोत्पादनका लागि उनी भाषिक शिल्प (शब्द चयन, पद बिन्यास)-मा सचेत रहेको देख्न सकिन्छ। यो उनको गीत लेखनमा पनि देखिएको एउटा विशेषता हो भन्न सकिन्छ।
यस सङ्ग्रहमा पनि कहिलेकहीँ उनका गीतकार व्यक्तित्व पछिल्तिरबाट घरीघरी झुल्किन खोजेका छन्। यद्यपि यसपटक उनका गजलकार व्यक्तित्व गजधम्म उभिएको छ। निर्माया तिमीलाई गजल सङ्ग्रह (दिवान)-मा निसन्देह उनले इबारत (सारतत्त्व), इसारत (विम्ब, प्रतीक वा सङ्केत) र अदा (शिल्प वा कला) को सन्तुलन हरेक शेरहरूमा राख्न सफल बनेका छन्।
समग्रमा उनका सिर्जनशील गाम्भीर्यतालाई निर्मायाले सहज उच्छलनसित प्रस्तुत गर्न सक्षम बनेका छन् भन्न सकिन्छ।
सन्दर्भ सूची-
१. भीमकान्त उपाध्याय, सन् २०१९ नेपाली लहरीकाव्य, प्रकाशक- मलयादेवी उपाध्याय, तुम्बाजोत, सिलगडी, पृ १८.
२. जस योञ्जन प्यासी, सन् २०१७, निर्माया तिमीलाई, प्रकाशक – श्री के एन राई जारोङ, दक्षिण सिक्किम।
३. डा सैय्यद असद अली, सन् २०१२, व्यावहारिक उर्दू-हिन्दी शब्दकोश, राजपाल एन्ड सन्ज, काश्मीरी गेट, दिल्ली-६।
४. हेमाङ्ग राज अधिकारी, वि सं २०७४, प्रयोगात्मक नेपाली शब्दकोश, विद्यार्थी प्रकाशन, प्रा लि, काठमाडौं, पुनः मुद्रण।
५. ज्ञान प्रकाश विवेक, सन् २००६, हिन्दी गजल की विकास यात्रा, हरियाणा साहित्य अकादमी, पंचकूला, प्रथम संस्करण।
६. डा कृष्णहरि बराल, सन् २०१६, गजलमा सेरको कार्य, गजल सिद्धान्त एवम् विकासयात्रा, (सम्पा) जमदग्नि उपाध्याय, असम साहित्य सभा, असम ।
७. घनेन्द्र ओझा, वि सं २०६७, नेपाली गजल: सिद्धान्त र विवेचना, , बी एन् पुस्तक संसार प्रा लि, बागबजार, काठमाडौँ।
(कालिपद घोष तराई महाविद्यालय, बाघडुग्रा।)
– लेखक प्रध्यापक पुलामी जी ले आफ्ना गहन अध्ययनहरु कै आधारमा गम्भीर विषयवस्तुलाई अति सहजरुपमा विश्लेषण गर्नु सक्षम भएको देखिन्छ।
– वरिष्ठ आलोचक डा. जस योन्जन प्यासी कै ओडारमा आलोचनात्मक सिकार खेल्ने रहर पनि एड्भेन्चर नै हो भन्छु।
– तर यो सत्य हो कि जानेका र बुझेका भानहरु हुने मेरो बुझाईहरुलाई अति सरल ढंगबाट सम्झाउँनुमा सक्षम भएकोमा लेखकलाई आभार प्रकट गर्दछु।
– सिकारु युवा कविहरुले काव्यिक अभिव्यक्तिहरुको निम्ति विषयगत उपयोगी जानकारी प्राप्त गर्न सक्नेछन् भन्ने मेरो मान्यता रहेको छ।
– लेखक प्रध्यापक पुलामी जी ले आफ्ना गहन अध्ययनहरु कै आधारमा गम्भीर विषयवस्तुलाई अति सहजरुपमा विश्लेषण गर्नु सक्षम भएको देखिन्छ।
– वरिष्ठ आलोचक डा. जस योन्जन प्यासी कै ओडारमा आलोचनात्मक सिकार खेल्ने रहर पनि एड्भेन्चर नै हो भन्छु।
– तर यो सत्य हो कि जानेका र बुझेका भानहरु हुने मेरो बुझाईहरुलाई अति सरल ढंगबाट सम्झाउँनुमा सक्षम भएकोमा लेखकलाई आभार प्रकट गर्दछु।
– सिकारु युवा कविहरुले काव्यिक अभिव्यक्तिहरुको निम्ति विषयगत उपयोगी जानकारी प्राप्त गर्न सक्नेछन् भन्ने मेरो मान्यता रहेको छ।