गान्तोक, 23 मईः राज्यमा कोभिड-19-को पहिलो मामिला अघि आएपछि यस सम्बन्धमा भाजपा विधायक विधायक डीटी लेप्चाले प्रतिक्रिया व्यक्त गरेका छन्।
डीटी लेप्चाले यस सम्बन्धमा प्रतिक्रिया व्यक्त गर्दै भने, “राज्य सरकारकै लापरबाहीको कारण राज्यमा कोविड-19 भित्रिएको हो।‘’
राज्य सरकारले बाहिर फँसेका व्यक्तिहरूलाई राज्य फर्काउने क्रममा लापरबाही गरेको कारण यस्तो भएको विधायक लेप्चाले गम्भीर आरोप लगाएका छन्।
“देशका विभिन्न ठाउँबाट राज्यमा आएका व्यक्तिहरूलाई जोन छुट्याएर कोरेन्टिन गर्नुपर्ने थियो। रेड जोनबाट आएको व्यक्तिलाई एक ठाउँमा ओरेञ्ज जोनबाट आएका व्यक्तिलाई एक ठाउँमा अनि ग्रीन जोनबाट आएका व्यक्तिलाई एक ठाउँमा गर्नुपर्ने थियो’’, लेप्चाले थपे, ‘‘तर त्यसो नगरेर राज्य सरकारले अलग-अलग जोनबाट आएका व्यक्तिहरूलाई क्षेत्रको रूपमा छुट्याउँदै एकै ठाउँ कोरेन्टिन गर्ने काम गर्दैछ। ग्रीन जोनबाट आएका मानिस र रेड जोनबाट आएका मानिसहरू एकै ठाउँमा राख्ने काम भइरहेको छ, यो राज्य सरकारको सबैभन्दा ठूलो लापरबाही हो।‘’
विधायक लेप्चाको दाबीका अनुसार राज्यमा अहिले केही खुल्ला भएका कारण फ्रण्ट लाइन वारियर्स खुल्ला घिमिरहेका छन्। उनीहरूले क्वारेन्टिनमा भएका व्यक्तिहरूसँग भेट गरी खुल्ला घुमिरहेका छन् यस्तो नहुनुपर्ने हो।
“फ्रण्ट लाइन वारियर्सका लागि राज्य सराकरले छुट्टै व्यवस्था गर्नुपर्ने हो’’, लेप्चाले थपे, ‘‘तर यस्तो नगर्नु राज्य सरकारको गल्ती हो।‘’
राज्य सरकारप्रति व्यङ्ग्य कस्दै यी भाजपा विधायकले भने, “राज्य सरकारका केही व्यक्तिले सिक्किम कोभिड-19 मुक्त भएकोमा भविष्यमा यो शोधको विषय हुने भन्दैथिए। शोधको धमास दिनेहरू अहिले कहाँ गए। सिक्किम ल्याण्ड लक राज्य रहेको र मानिसहरू अनुशासित भएकाले राज्यमा कोरोना भित्रिएको थिएन। शोधको बकवास गर्नेहरूले राज्यवासीलाई अब जवाफ दिनुपर्छ।‘’
विधायक डीटी लेप्चाले थप भने, ‘‘सिक्किममा कसरी कोरोना भित्रियो? अब शोधको बकवास नगरेर राज्यलाई सुरक्षित कसरी राख्न सकिन्छ, यस विषयमा राज्य सराकरले काम गरोस्।‘’