कोलकाता, २४ जूनः तृणमूल कङ्ग्रेसका वरिष्ठ नेता एवं विधायक तमोनाश घोषको बुधवार बिहानै मृत्यु भएको छ।
उल्लेखनीय छ, मई महिनाको अन्तिममा घोष कोरोना सङ्क्रमित रहेको पुष्टि भएको थियो। त्यसपछि उनको उपचार चलिरहेको थियो, तर स्वास्थ्यमा सुधार आएको थिएन।
आज बिहान उनको मृत्यु भएको हो। घोष ६० वर्षका थिए। जानकारीका अनुसार उनी पछिल्लो ३५ वर्षदेखि तृणमूल कङ्ग्रेसमा सक्रिय थिए।
तृणमूल सुप्रिमो एवं राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले उनको निधनमा गहिरो शोक व्यक्त गरेकी छन्।
‘धेरै दुखद, फल्टाबाट तीनपटक विधायक तथा १९९८ मा पार्टीका कोषाध्यक्ष रहेका तमोनाश घोष रहेनन्। उनी हामीसँग ३५ वर्षदेखि थिए’, ममताले ट्विट गर्दै भनेकी छन्, ‘उनी पार्टी र मानिसहरूप्रति समर्पित थिए। सामाजिक कार्यमार्फत् उनले ठूलो योगदान दिए।’
समाचार स्रोतः एनडीटीभी इन्डिया