‘पृथ्वीलाई 10 मिनट’ -मा डा. सुनिता नारायणले पनि सहभागिता जनाउने

0
987

गान्तोक, 24 जूनः धरतीलाई 10 मिनट कार्यक्रम सिक्किममा गत वर्ष 2009 देखि एसडीएफ सरकारको कार्यकालमा प्रारम्भ गरिएको एउटा उल्लेखनीय पर्यवारणमुखी कार्यक्रम हो।

एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङको पर्यावरणमुखी अवधारणाअनुरूप प्रत्येक वर्ष 25 जूनको दिन यो कार्यक्रमलाई एसडीएफ पार्टीले पालन गर्दै आइरहेको छ।

यो वर्ष पनि एसडीएफ पार्टीले यो कार्यक्रमलाई नयाँ परिपाटीमा पालन गर्ने निर्णय लिएको छ।

पार्टीले भोलि अर्थात् 25 जूनका दिन यो कार्यक्रमलाई दुई सत्रमा विभाजित गरी पालन गरिरहेको छ।

पहिलो सत्रमा बिहानको 10 बजेर 10 मिनटमा कोविड प्रोटोकललाई पालन गर्दै बिरुवा रोपनको साथमा सर-सफाइ अभियान गरिनेछ।

कोरोना महामारीलाई ध्यानमा राख्दै यो वर्षको ‘टेन मिनट्स टू अर्थ’ कार्यक्रम एकै ठाउँमा भेला नभएर पार्टीका सहयोद्धाहरूले बिरुवा रोपन साथै सर-सफाइ आ-आफ्नो स्थान, घर-प्राङ्गणमा गर्नेछन्।

यो कार्यक्रमको दोस्रो सत्र साँझ चार बजे भर्चुअल रूपमा पालन गरिनेछ।

भर्चुअल कार्यक्रममा ‘धरतीलाई 10 मिनटः भविष्यका लागि एक पाठ’-को नारासहित आधा घण्टाको वेबिनार हुनेछ।

वेबिनारबाटै एसडीएफ पार्टीद्वारा आयोजित ‘एभरी ट्री म्याटर्स’ फोटोग्राफी प्रतियोगिताको घोषणा पनि हुनेछ।

महिनाव्यापी यो प्रतियोगितामा राज्य र राज्यबाहिरका फोटोग्राफी विशेषज्ञहरूको निर्णायक मण्डलीले दिएको फलाफलपछि विजेताको घोषणा गरिनेछ।

विजेतालाई आकर्षक नगद् पुरस्कार तथा प्रमाण-पत्र पार्टीले प्रदान गर्नेछ।

यसरी नै वेबिनारमा पार्टी अध्यक्षले प्रत्यक्ष सम्बोधन गर्नेछन्।

यसका साथै कार्यक्रममा देशका प्रसिद्ध पर्यावरणविद् एवं विज्ञान तथा पर्यावरण केन्द्र, नयाँ दिल्ली (सेन्टर फर साइन्स एण्ड इन्भायरोन्मेन्ट, सीएसई)-की डाइरेक्टर जेनरल डा. सुनिता नारायणले 20 मिनटको सम्बोधन गर्नेछिन्।

यसपछि राज्य र राज्यबाहिरका प्रतिष्ठित पर्यावरणविद्, जीवविज्ञानी तथा शोधार्थीहरू जस्तै अम्बर जमिर, श्रीमती उषा लाचुङ्पा, श्रीमती अर्चान वैद्य तथा डा. स्मृति बस्नेतद्वारा ‘धरतीलाई 10 मिनट: भविष्यका लागि एक पाठ’- माथि प्यानल चर्चा गरिनेछ।

यो भर्चुअल कार्यक्रमलाई वेबिनार लिङ्कलगायत एसडीएफ पार्टीको आधिकारिक फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण गरिनेछ।

पृथ्वीको संरक्षण र संवर्द्धन सबैको अहम् दायित्व रहेको जनाउँदै एसडीएफ पार्टी ‘10 मिनट्स टू अर्थ’ कार्यक्रममा सबैलाई सहभागी बन्न आग्रह गरेको पार्टी महासचिव (प्रशासनिक मामिला) आमोस आर लेप्चाले विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here