लङभ्यु चियाबगानमा सङ्कटः बिष्टले भने- बङ्गाल सरकार चियाश्रमिकहरूप्रति उदासीन

0
1070

खरसाङ, 24 अगस्तः श्रमिक/कर्मचारीहरूले पाउनुपर्ने रहल बोनसलाई केन्द्र गरी लङभ्यु चिया बगानमा गहिरिँदो सङ्कटलाई लिएर सांसद राजु बिष्टले चिन्ता व्यक्त गरेका छन्।

यसका साथै चिया बगानको प्रबन्धनपक्षले श्रमिकहरूसँग वार्तालाप गरी वर्तमान सङ्कटको समाधान खोज्नका सट्टा उल्टै कमानमा तालाबन्दी गरिएको घोषणाले आफू व्यथित बनेको उनले बताएका छन्।

यो समस्याका लागि बिष्टले पश्चिम बङ्गाल सरकारलाई दोष्याएका छन्। किनभने दुई किस्तीमा गरी 20 प्रतिशत बोनस दिने सम्झौताका हस्ताक्षरकर्तामध्ये एक बङ्गाल सरकारको श्रम विभाग रहे तापनि आज उक्त सम्झौता लागू नहुँदा र यो सम्झौताको ठाड़ो उल्लङ्घन हुँदा पनि मौन रहेको छ।

यसबाट पनि श्रमिकहरूप्रति बङ्गाल सरकारको उदासीनता र अवहेलना उदाङ्गो भएको उनको दाबी छ।

‘2019- मा पश्चिम बङ्गाल सरकारले नै, वार्षिक बोनसको आंशिक-भुक्तानीका लागि सबैलाई सहमत गराएको थियो। तर, आजसम्म पनि दार्जीलिङ पहाड़, तराई र डुवर्समा केही चिया बगानले बोनसको दोस्रो किस्ता भुक्तान नगरेको स्थितिमा पनि पश्चिम बङ्गाल सरकार किन मौन छ?’, राजु बिष्टले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आजसम्म यो बोनसको भुक्तानी गर्न पश्चिम बङ्गाल सरकारले किन कुनै पाइलो सारेको छैन?’

यसै केही चियाबगानले आफ्नो हिस्साको भविष्य निधि (पीएफ) योगदान जम्मा नगरेको तथा यसका कारण श्रमिकहरू, विशेषगरी उमेर पुगेका श्रमिकहरू आफ्नै बचत र जीवन धान्ने स्रोतबाट वञ्चित रहनपरेको पनि सांसदले बताएका छन्।

‘यस्तो विकट स्थितिमा पनि पश्चिम बङ्गाल सरकारको श्रम विभाग, श्रमिकहरूका अधिकारहरू खोसिँदा पनि चुपचाप बसिराख्नु दुःखद र आक्रोशपूर्ण छ’, बिष्टले भनेका छन्।

अर्कोतिर उनले लङभ्यु चिया बगानको सङ्कट, केही चिया बगानका कम्पनीहरूद्वारा भविष्य निधि (पीएफ) कोषमा आफ्नो हिस्साको योगदान जम्मा नगराइएको तथा सम्बन्धित अन्य मामिलाहरूतर्फ श्रम एवम् रोजगार मन्त्री सन्तोष गङ्गवार र वाणिज्य मन्त्री पीयूष गोयलको ध्यानाकर्षण गराएको दावी गरेका छन्।

साथै यी मामिलाहरूका समाधान लागि तत्काल हस्तक्षेप गर्ने माग पनि बताएका छन्।

बिष्टका दाबीका अनुसार उनले भारतीय चिया बोर्डलाई पनि केही चिया बगानका कम्पनीहरूद्वारा भविष्य निधि कोषमा योगदान जम्मा नगराइएका कारणहरूको जाँच गर्न तथा तत्काल जम्मा गरियोस् भन्ने सुनिश्चित गर्न अनुरोध गरेका छन्।

‘म पश्चिम बङ्गाल सरकार, दार्जीलिङ प्लान्टर्स एसोसिएशन तथा सबै श्रमिक सङ्गठनहरूलाई लङभ्यु चिया बगानको मामिलाको यथाशीघ्र समाधान लागि वार्तालाप थाल्न अनुरोध गर्दछु’, बिष्टले थप भनेका छन्, ‘चिया उद्योगलाई जिउँदो राख्नु हो भने श्रमिकहरूका लागि उच्च जीवनस्तर र स्वस्थ कार्य वातावरण सुनिश्चित गर्नु जरूरी छ। र, यसका लागि उद्योगका प्रमुखहरू, सरकार र श्रमिकहरू एकजुट भई साझा आधार खोज्ने दिशामा अग्रसर हुनु पर्दछ। श्रमिकहरू वा चिया बगान मालिकहरूलाई वर्तमान मतभिन्नता र समस्याहरूका समाधान गर्नमा कुनै पनि समयमा मेरो संलग्नताको खाँचो भएमा, हरसम्भव प्रयास र सहयोग गर्न म सदैव तत्पर छु।‘

यसैगरी सबै एकजुट भए मात्र चिया उद्योग र यससित सम्बन्धित सबैको उज्ज्वल भविष्य सुनिश्चित गर्न सकिने सांसद राजु बिष्टले बताएका छन्।

उल्लेखनीय छ, गत वर्षको 11 अगस्तका दिन दार्जीलिङका चियाबगान बोनस विषयलाई लिएर कोलकातामा त्रिपक्षीय बैठक बसिएको थियो। उक्त बैठकमा पहाड़का चिया बगानहरूमा दुई किस्तीमा गरी 20 प्रतिशतको दरले बोनस दिइने कुरामा सहमति बनेको थियो।

बैठकमा बनिएको सहमतिका अनुसार पहिलो किस्तीमा 12 प्रतिशत बोनस तिहारअघि र रहल 8 प्रतिशत बोनस तिहारपछि दिइनुपर्ने थियो।

यद्यपि लङभ्यु चियाबगानको मालिकपक्षले उक्त सम्झौताको ठाड़ो उल्लङ्घन गरेको छ। अहिलेसम्म यस चिया बगानका श्रमिक/कर्मचारीहरूले पुरै बोनस पाएका छैनन्।

उनीहरूले बोनस मात्र होइन, वेतन पनि समयअनुसार नियमित रूपमा पाइरहेका छैनन्। यसैले पछिल्लो 19 अगस्तका दिनदेखि लङभ्यु चियाबगानका श्रमिकहरू क्रमिक अनशनमा बसिरहेका छन्।

यसैबीच बगानमा कार्य संस्कृति र अनुशासन नरहेको लगायत कारण देखाएर तीन दिनअघि नै प्रबन्धनपक्षले सस्पेशन अव् वर्कको नोटिस पठाएर बगानमा ताला झुण्डाएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here