गान्तोक, 25 सेप्टेम्बरः आउँदो 10 अक्टोबरदेखि सिक्किममा रोकिएको पर्यटन व्यवसाय पुनः आरम्भ गरिने सिक्किम सरकारले निर्णय लिएपछि यसबारे दिशानिर्देश तयार गर्न राज्य सरकारको पर्यटन विभागको अगुवाइमा राज्यस्तरीय कार्यदल गठन गरिएको छ।
यस महामारीसँग जुझ्दै पर्यटनसित सम्बन्धित विभिन्न सेवा पुनः थालनी गर्न सकिने सम्भावनाबारे पर्यटन विभाग र पर्यटन व्यवसायीहरूबीच आगामी 28 सेप्टेम्बरका दिन एउटा महत्त्वपूर्ण बैठक हुने भएको छ।
पर्यटन विभागका अतिरिक्त मुख्य सचिवको अध्यक्षतामा बैठकमा सिक्किम आउने पर्यटकहरूका लागि प्रवेश अनि पर्यटनसित सम्बन्धित दिशानिर्देश तयार गर्न विस्तृत चर्चा गरिनेछ।
स्मरण गराइन्छ, राज्य सरकारले अगावै अन्तर-राज्य आवगमनको अनुमति 1 अक्टोबरदेखि प्रदान गर्ने घोषणा गरिसकेको छ भने 10 अक्टोबरदेखि पर्यटकहरूको प्रवेशलाई पनि अनुमति दिने भएको छ। अर्कोतिर, 27 सेप्टेम्बरदेखि होटलहरूले बुकिङ पनि लिनसक्ने सरकारी आदेशमा उल्लेख गरिएको थियो।