कोलकाता, 24 अक्टोबर : बङ्गालको सत्ताबाट वाममोर्चालाई हटाउनका लागि कुनै समय तृणमूल कङ्ग्रेस प्रमुख ममता ब्यानर्जीलाई माओवादीहरूको एक समूहले सक्दो समर्थन गरेको थियो। यद्यपि अहिले परिस्थिति फेरिसकेको छ। अब माओवादीहरूको झुकाउ राज्यमा भाजपातिर देखिन थालेको छ। आगामी वर्ष हुने लोकसभा चुनाउलाई हतियार बनाएर माओवादी अहिले आफैलाई बलियो बनाउने कोशिशमा जुटेको छ।
उल्लेखनीय छ, सिङ्गुर र नन्दीग्राम जमिन आन्दोलनको समय माओवादीका शीर्ष नेतृत्वहरूले तृणमूल कङ्ग्रेसलाई पूर्ण समर्थन गरेका थिए। तृणमूल कङ्ग्रेसको समर्थनमा त्यससमय माओवादी नेता किशनजीको बयान प्रतिदिनजस्तो प्रकाशमा आउनेगर्थ्यो।
लालगढ़ आन्दोलनका प्रमुख छत्रधर महतोको पनि तृणमूल कङ्ग्रेसले साथ पाएको थियो। यद्यपि सन् 2011-मा शीर्ष माओवादी नेता किशनजीको मृत्युपछि बङ्गालमा एकप्रकारले माओवादी निमिट्यान्न भएको थियो।
छत्रधर महतो अहिले अनलफुल एक्टिभिटिज प्रिभेन्शन एक्ट (यूएपीए) –को मुद्दामा जेलमा बन्दी जीवन बिताइरहेका छन्। माओवादीका शीर्ष नेतृत्वलाई सखाप पारिएको थियो। र रहेका केही क्याडर पनि शीर्ष नेतृत्वको अभावमा छरपस्ट भएका थिए।
यद्यपि नयाँ जानकारीअनुसार माओवादी पुनः एकजुट हुने प्रयासमा जुटेको छ। सूचनाका अनुसार पछिल्लो जुलाईदेखि माओवादी एकपटक फेरि एकजुट हुने प्रयासमा जुटेको छ। यसका लागि माओवादीहरूद्वारा पर्चा बाँड़िँदैछ।
अर्कोतिर नेतृत्वको सङ्कट र तृणमूलस्तरमा क्याडरको कमीलाई पूर्ण गर्नका लागि भाकपा (माओवादी) अब शहरी र बुद्धिजीवी युवाहरूलगायत दलित र आदिवासीहरूलाई सङ्गठनमा सामेल गर्ने कोशिश गरिँदैछ।
फेरिँदो राजनीतिक समीकरण
कुनै समय तृणमूल कङ्ग्रेसलाई साथ दिने माओवादीहरूको झुकाउ अहिले राज्यमा भाजपातिर ढल्किँदैछ। मानिँदैछ, माओवादी क्षेत्रमा बनिरहेको नयाँ राजनीतिक समीकरणको फाइदा उठाउन चाहन्छन्। राज्य सरकारद्वारा छत्रधर महतोलाई जेलमुक्त गर्ने अनुमान चुलिएको अवस्थामा नै भाजपा नेता मुकुल रायले महतोकी पत्नीसँग भेटवार्ता गरेका छन्।
अपुष्ट खबरका अनुसार मुख्यमन्त्री ममता ब्यानर्जी छत्रधर महतोलाई जेलमुक्त गर्न चाहन्छिन्। ममतालाई माओवादीहरूको नयाँ झुकाउको अनुमान भइसकेको छ। भर्खरै सम्पन्न पञ्चायत चुनाउमा आदिवासी बहुल क्षेत्रमा भाजपाको बढ़्दो कदमले उनलाई चिन्तित बनाएको थियो।
यसै वर्षको मई महिनामा भएको पञ्चायत चुनाउमा आदिवासी क्षेत्रमा भाजपालाई धेरै सफलता प्राप्त भएको थियो। यसैलाई केन्द्र गरी अहिले यी क्षेत्रहरूमा तृणमूल कङ्ग्रेस र भाजपाबीच हिंसक सङ्घर्षका घटनाहरू बढ़िरहेको छ। क्षेत्रमा भाजपाका दुई कार्यकर्ताको हत्या पनि भइसकेको छ।
राजनीतिक जानकारहरू मान्छन्, झाड़ग्राम र पुरुलियामा सत्तारुढ़ तृणमूल कङ्ग्रेसको पकड़ विस्तारै कमजोर भइरहेको छ।
विशेषज्ञहरूका अनुसार 90 –को दशकको अन्तिम चरणमा पनि आदिवासी बहुल क्षेत्रमा यस्तै प्रकारको राजनीतिक फेरबदलको कारण माओवादीहरूले प्रभुत्व जमाएको थियो।
वर्ष 2010-11 –को अवधि किशनजीको नेतृत्वमा माओवादीहरूले झाड़ग्रामलगायत पुरुलिया, बाँकुड़ा र पश्चिमी मेदिनीपुरका धेरजसो भागमा आफ्नो पकड़ बनाएका थिए। यद्यपि किशनजीको मृत्युपछि रातोरात माओवादी सङ्गठन भताभुङ्ग बन्यो। यसपछि राज्य कमिटीको अस्तित्व मेटिएको थियो। रहेका केही सदस्यहरूले कि त आत्मसमर्पण गरे, कि त पक्रा परे। कुनै समय यी क्षेत्रहरूमा पाँच सयभन्दा बढ़ी माओवादी सक्रिय थिए। वर्ष 2008 देखि 2011-बीच माओवादीहरूद्वारा लगभग सात सय मानिसको हत्या गरिएको आरोप छ।