गान्तोक, २४ अक्टोबर : पोकलोक कामराङ निर्वाचन क्षेत्रबाट रेकर्ड मतले उपचुनाउ जितेका पीएस गोले अब राज्यका निर्वाचित मुख्यमन्त्री बन्नेछन्। वर्तमानमा राज्यका मनोनित मुख्यमन्त्री रहेका गोलेले बिहीवार सम्पन्न मतगणनाअनुसार एसडीएफका उम्मेदवार मोजेस राईलाई ८ हजार ९ सय ५३ भोटले पराजित गरेका हुन्।
गोलेले कुल १० हजार ८ सय ११ मत पाउँदा मोजेस राईले केवल १ हजार ८ सय ५८ मत पाएका थिए। यो जीतसँगै एसकेएम समर्थकहरू अत्यधिक खुशी बनेका छन्। उनीहरूले नाम्चीमा विजयी उत्सव मनाउन शुरु गरिसकेका छन्।
उल्लेखनीय छ, एसकेएम पार्टीका अध्यक्षसमेत रहेका पीएस गोलेकै नेतृत्वमा एसकेएमले यसवर्षको अप्रेल महिनामा भएको सिक्किम विधानसभाको चुनाउमा परिणाम उल्ट्याउँदै पवन चामलिङको २५ वर्षे शासनलाई सिक्किमको सत्ताबाट हटाएको थियो।
यद्यपि भ्रष्टाचार मुद्दामा एकवर्ष जेल सजाय भोगेको कारण उनी पीपल्स रिप्रेजेन्टेटिभ एक्टअनुसार त्यसबेला चुनाउ लड़न पाएका थिएनन्। यद्यपि एसकेएमले जितेपछि संवैधानिक प्रावधानअन्तर्गत उनलाई एसकेएम पार्टीले राज्यका मुख्यमन्त्री मनोनित गरेका थिए।
यसैबीच महत्त्वपूर्ण घटनाक्रमअन्तर्गत पछिल्लो २९ सेप्टेम्बरको दिन निर्वाचन आयोगले मुख्यमन्त्रीलाई गोलेलाई उपचुनाउ लड़नका लागि बाटो खुला गरेको थियो। पीपल्स रिप्रेजेण्टेटिभ एक्टअन्तर्गत उनीमाथि चुनाउ लड़नका लागि लागेको प्रतिबन्धलाई घटाएर केवल १३ महिना बनाएपछि गोलेले उपचुनाउ लड़न पाएका हुन्।
उल्लेखनीय छ, उनी १० अगस्त २०१८-को दिन जेलमुक्त भएका थिए। यसै हिसाबले उक्त १३ महिने प्रतिबन्ध पछिल्लो महिना समाप्त भएको थियो।
अर्कोतिर, मार्ताम-रूम्तेकमा भाजपाका उम्मेदवार सोनाम भेन्चुङ्पाले पनि फराकिलो मतले चुनाउ जितेका छन्। गान्तोक निर्वाचन क्षेत्रको फाइनल रिजल्ट भने आउन बाँकी छ। स्मरणरोस् तीनका तीनवटा सीटमा पछिल्लो २१ अक्टोबरको दिन उपचुनाउ भएको थियो।