कोलकाता, 24 नोभेम्बरः रेभोल्युशनरी सोशल्स्ट पार्टी (आरएसपी)-का वरिष्ठ नेता एवं बङ्गालका पूर्व मन्त्री क्षिति गोस्वामीको आइतवार बिहान निधन भएको छ। पारिवारिक सूत्रका अनुसार उनी केही दिन अघिदेखि चेन्नईको एक निजी नर्सिङ होममा उपचाराधीन थिए।
77 वर्षीय गोस्वामी फोक्सोको संक्रमणबाट पीड़ित थिए। यसैकारण उनलाई अस्पतालमा भर्ती गरिएको थियो। पारिवारिक सूत्रका अनुसार बुढ़्यौलीको कारण पनि उनी विभिन्न बिमारले पीड़ित थिए। उनले आफूपछि पत्नी र छोरी छोड़िगएका छन्।
गोस्वामी वाममोर्चाको शासनमा राज्यका एक प्रभावशाली मन्त्री थिए। उनी 80 को दशकदेखि 2011 सम्म दुई दशकसम्म राज्यका पीडब्ल्यूडी मन्त्री बनेका थिए। साथै 2012 मा उनले केही वर्षका लागि आरएसपीका राज्य सचिवको पदभार पनि सम्हालेका थिए।