कोलकाता, २४ नोभेम्बरः इडेन गार्डन्समा खेलिएको ऐतिहासिक डे-नाइट (पिङ्क बल) टेस्ट म्याचमा टीम इन्डियाले बङ्ग्लादेशलाई एक पारी र ४६ रनले पराजित गरेको छ।
पहिलो पारीको आधारमा २४१ रनले पछि परेको बङ्ग्लादेशले दोस्रो पारीमा केवल १९५ रन सङ्ग्रह गरी सबै विकेट गुमाएपछि तीन दिनभित्रै यति ठूलो हार बेहोरेको हो। बङ्ग्लादेशका लागि दोस्रो पारीमा अनुभवी ब्याट्सम्यान मुशफिकुर रहिमले सर्वाधिक ७४ रन बनाए। उनीबाहेक मोहमदुल्लाले ३९ रनको उपयोगी पारी खेले।
यी दुई ब्याट्सम्यानलाई छोड़ेर बङ्ग्लादेशका अन्य कुनै पनि ब्याट्सम्यानले ठूलो पारी खेल्न सकेनन्। भारतका लागि उमेश यादवले ५ तथा इशान्त शर्माले ४ विकेट लिए। उल्लेखनीय छ, इशान्त शर्माले बङ्ग्लादेशको पहिलो पारीमा ५ विकेट लिएका थिए।
यसभन्दा अघि बङ्ग्लादेशले पहिलो पारीमा बनाएको १०६ रनको जवाफमा भारतले पहिलो पारीमा ९ विकेटको ३४७ रन बनाएर पारी समाप्तिको घोषणा गरेको थियो।
भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक १३६ रनको पारी खेलेका थिए भने चेतेश्वर पुजाराले ५५ तथा अजिङ्क्य रहाणेले ५१ रन बनाएका थिए। बङ्ग्लादेशको तर्फबाट अल-अमिन हुसैन र इबादत हुसैनले ३-३ तथा अबु जावेदले २ विकेट लिएका थिए।
यो जीतसँगै भारतले दुई टेस्ट म्याचको शृङ्खला क्लिन स्विप गरेको छ। यसभन्दा अघि इन्दौरमा खेलिएको पहिलो म्याचमा पनि बङ्ग्लादेश एक पारी र १३० रनले पराजित भएको थियो।
बङ्ग्लादेशविरुद्ध खेलिएका दुवै टेस्ट जितेपछि आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशिपमा ३६० अङ्क भएको छ। भारतले टेस्ट च्याम्पियनशिपअन्तर्गत् अहिलेसम्म खेलिएका सातैवटा म्याच जितेको छ।