26 दिसम्बरमा परिवर्तन यात्रा, तयारी धमाधम

0
969

दार्जीलिङ, 24 दिसम्बरः 26 दिसम्बरका दिन फेरि अनित थापाको लागि दार्जीलिङ तयार बन्दैछ।

यस दिन विनय तामाङपन्थी गोजमुमो महासचिव अनित थापाले सोनादादेखि दार्जीलिङसम्म परिवर्तन पदयात्रा निकाल्ने भएका छन्, जसका लागि विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चा कम्मर कसेर अघि बढ़िरहेको छ।

यसबारे जानकारी गराउँदै आज पार्टी प्रवक्ता केशवराज पोख्रेलले यो पदयात्रा दार्जीलिङको मोटर स्ट्याण्ड आइपुगेपछि एक पथसभामा परिणत हुने बताए।

पथसभामा प्रमुख वक्ताको रूपमा पार्टी महासचिव थापाले उपस्थित रहनेछन्।

उल्लेखनीय छ, पछिल्लो 19 अक्टोबरका दिन खरसाङको मन्टिभियट मैदानमा विनयपन्थी मोर्चाको भातृ सङ्गठन भूतपूर्व सैनिक/अर्धसैनिक सङ्घद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै अनित थापाले आउँदो 26 दिसम्बरका दिन सोनादादेखि एक परिवर्तन पदयात्रा निकाल्ने घोषणा गरेका थिए।

पोख्रेलका अनुसार यस परिवर्तन यात्राको मूल नारा दार्जीलिङ पहाड़का शान्ति, समृद्धि, जनाकांक्षाका साथै क्षेत्रीयता हुनेछ।

“विनय तामाङपन्थी जनताको गोर्खा जनमुक्ति मोर्चाको नयाँ सोच-नयाँ विचार नै दार्जीलिङ पहाड़मा शान्ति स्थापना गर्नु हो, बेरोजगार समस्या समाधान गर्नु हो साथै जनताको आकांक्षालाई पूर्ण गर्नु हो’’, उनले थपे, “यसै अभियानका लागि पार्टी महासचिव अनित थापाले आउँदो 26 दिसम्बरका दिन सोनादादेखि एक परिवर्तन पदयात्रा निकाल्नेछन्। यस यात्रामा दार्जीलिङ पहाड़को साँचो प्रगति चाहनेहरूले साथ दिनेछन्।’’

यस दिन कालेबुङबाट कम्ती सङ्ख्यामा पार्टी कार्यकर्ताहरूको सहभागिता रहने भएको पनि बताउँदै उनीहरू यस पदयात्रामा जोरबङ्लोदेखि जोड़िने पनि पोख्रेलले जनाए।

यसरी नै पुल-बिजनबारी, सुकेपोखरी, पोख्रेबुङ क्षेत्रका पार्टी कार्यकर्ताहरू घूमदेखि पदयात्रामा सामेल हुनेछन्।

यसका साथै पोख्रेलले पदयात्रामा सामेल हुन आउने कार्यकर्ताहरू ल्याएर आउने प्रत्येक गाड़ीका लागि ट्राफिक पुलिसले पार्किङको व्यवस्था गरिदिएको साथै प्रत्येक गाड़ी चालकले आफ्नो गाड़ीको ऐनामा आफ्नो मोबाइल नम्बर लेखेर राख्नुपर्ने पनि सुझाउ दिएका छन्। उनका अनुसार पदयात्रीहरूलाई ल्याएर आउने गाड़ीहरूले भोलि 25 दिसम्बरका दिन नै गाड़ीमा तेल हाल्नुपर्ने पनि अवगत गराए। ताकि 26 दिसम्बरका दिन गाड़ीहरूको भीड़ले गर्दा गाड़ीमा तेल हाल्न धेरै असुविधा हुनसक्ने विषयलाई ध्यानमा राखेर नै पार्टीले यस्तो योजना बनाएको बताए।

आगामी 26 दिसम्बरको बिहान 9.30 बजी सोनादाबाट शुरू हुने पदयात्रा दार्जीलिङ मोटर स्ट्याण्डमा अपराह्न लगभग 1.30 बजी आइपुग्ने र पदयात्रा यहाँ आएपछि पार्टी महासचिव थापाले पथसभालाई विशेषरूपले सम्बोधन गर्ने पनि प्रवक्ता केशवराज पोख्रेलले जानकारी गराएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here