मुख्यमन्त्री पीएस गोलेद्वारा कृषि एवं पशुधन मेलाको उद्घाटन

0
899

गान्तोक, 24 दिसम्बरः सिक्किम सरकारको कृषि, बागवानी एवं पशुपालन विभाग र सत्तारुढ़ एसकेएम पार्टीको किसान मोर्चाको तत्वावधानमा रम्फूको खेल मैदानमा एक महिनाव्यापी कृषि एवं पशुधन मेला आरम्भ भएको छ।

मुख्यमन्त्री पीएस गोलेले आज मेलाको विधिवत उद्घाटन गरे। राज्यमा पशुपालनलाई प्रोत्साहित गर्न राज्य सरकारको विशेष पहल हो।

मेलामा देशका विभिन्न प्रान्तबाट उन्नत प्रजातिका गाई, भैंसी, बाख्रा, सुङ्गुर, कुखुरा आदि बिक्रीमा राखिएको छ।

यी पशुहरू सुलभ मूल्यमा किसानहरूलाई उपलब्ध गराइने सरकारको दावी रहेको छ भने विभिन्न ब्याङ्कमार्फत् ऋण दिने व्यवस्था पनि गरिएको छ। आज पूर्व जिल्लाका लाभार्थीहरूलाई विभागद्वारा कृषि ऋण पनि प्रदान गरियो।

कुल 477 लाभार्थीको ऋण अनुमोदन भएको छ, जसमध्ये केहीलाई आज मुख्यमन्त्रीको बाहुलीबाट टोकनस्वरुप चेक प्रदान गरियो।

आज नै मुख्यमन्त्री गोलेले पाँचवटा कृषि उत्पाद अलैंची, अदुवा, हर्दी, सुन्तला र फापरमा कृषि उत्पादन प्रोत्साहन राशिको पनि घोषणा गरे।

विभागले जसरी पहिले किसानहरूलाई दूधमा प्रति लिटर 8 रुपियाँ अतिरिक्त मूल्य दिने घोषणा गरेको थियो, त्यसरी नै अबदेखि प्रतिकेजी अलैंचीमा 20 रुपियाँ, अदुवा, हर्दी र सुन्तला 10 रुपियाँ र फापरमा 5 रुपियाँ अतिरिक्त मूल्य दिने भएको छ। यसको शुरुआत पनि आजदेखि नै भएको छ।

यसै अवसरमा कोरोना सङ्कट र कृषि विषयमा कृषि विभागद्वारा विद्यार्थीहरूलाई लिएर आयोजित निबन्ध प्रतियोगिताका विजेताहरूलाई पारितोषिक पनि वितरण गरियो।

आफ्नो सम्बोधनमा मुख्यमन्त्री गोलेले राज्य सरकारद्वारा विभिन्न ब्याङ्कमार्फत् किसानहरूलाई फाइदा दिन चाहेको बताउँदै तर त्यो फाइदा लिन किसानहरू पनि तयार रहनुपर्ने बताए।

किसानहरूलाई प्रोत्साहित गर्न सरकारले प्रत्येक जिल्लामा एक-एकवटा मोडल फार्म निर्माण गर्ने उनले आज घोषणा गरे।

यसै क्रममा बोल्दै मुख्यमन्त्रीले आज मात्र आफूले 41 जना पशु चिकित्सकको नियुक्तिको प्रस्तावलाई मञ्जुरी प्रदान गरेको जानकारी गराए। कृषि उत्पादन प्रोत्साहनराशि सन्दर्भमा सरकारले यस योजनाअन्तर्गत सीधै किसानहरूको गोजीमा हालिदिन भनी 16-17 करोड़ रुपियाँ छुट्याएको पनि मुख्यमन्त्री गोलेले जानकारी गराए।

कार्यक्रमलाई सम्बोधन गर्दै कृषि मन्त्री लोकनाथ नेपालले राज्यमा कृषिलाई प्रोत्साहित गर्न थप 280 वटा फार्मर प्रड्युसर्स अर्गनाइजेसन गठन गरिने बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here