दार्जिलिङ, २४ दिसम्बरः विनय तामाङ र रोहित शर्मा तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्।
उनीहरू दुवै आज तृणमूल कङ्ग्रेसमा सामेल भएका हुन्।
तृणमूल कङ्ग्रेसमा सामेल हुन तामाङ र शर्मा कोलकाता गएका थिए।
जीटीएका पूर्व अध्यक्ष समेत रहेका विनय तामाङ तृणमूल कङ्ग्रेसमा सामेल भएपछि उनको राजनीतिक तेस्रो अध्याय तृणमूल कङ्ग्रेस रहेको स्पष्ट भएको छ। तत्कालीन गोजमुमो दुईबाट राजीनामा दिएपछि विनय तामाङले राजनीतिक जीवनको तेस्रो अध्याय शुरू गर्ने बताउँदै आएका थिए।
तेस्रो अध्यायकै ब्यानरमा उनले पहाड़का विभिन्न स्थानमा सभा पनि गर्दै आएका थिए।
यति मात्र होइन, दशैँ-तिहारपछि नयाँ राजनीतिक पार्टी खोल्ने सङ्केत पनि उनले दिएका थिए। तर, दशैँ तिहारपछि नयाँ पार्टी खोल्नका सट्टा तामाङ मौन बसेका थिए।
यसैबिच आज विनय तामाङ तृणमूल कङ्ग्रेसमा सामेल भए।
अर्कोतर्फ खरसाङका पूर्व विधायक रोहित शर्मा पनि आज तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। पछिल्लो विधानसभाका ठीक अघि उनले तत्कालीन मोर्चा दुई छाड़ेका थिए।
शर्मा विमल गुरुङ नेतृत्व गोर्खा जनमुक्ति मोर्चाको टिकटमा दुईपटक खरसाङमा विधायक निर्वाचित भएका थिए। तर, २०१७ पछि गोजमुमो दुई खेमामा बाँड़िएपछि शर्माले विमल गुरुङको साथ छाड़ेर विनय-अनितको हात समाएका थिए।