–रेहान फजल
भारतकी लोकप्रिय अमृता प्रीतमले लेखेकी थिइन्-“मैले जिन्दगीभर जे पनि सोचिरहेँ/लेखिरहेँ, ती सबै देउताहरूलाई जगाउने कोशिश थियो, ती देउता, जो मानिसभित्र निदाएका छन्।‘’
अमृता र इमरोज शनैः शनैः नजिकिएका थिए। अमृताले एकजना चित्रकार सेठीसँग आफ्नो पुस्तक आखिरी खत-को कभर डिजाइन गरिदिने अनुरोध गरिन् तर, सेठीले भने -“म एकजना यस्ता व्यक्तिलाई चिन्छु, जसले यो कार्य मभन्दा धेरै राम्रोसँग गर्न सक्छ।”
सेठीकै सुझाउमा अमृताले इमरोजलाई आफूसँग भेट्न बोलाइन्। त्यस समय इमरोज उर्दू पत्रिका शमामा काम गर्थे। इमरोजले अमृताको त्यस पुस्तकको कभर डिजाइन गरिदिए।
इमरोज सम्झन्छन् – “उसलाई डिजाइन पनि मन पऱ्यो, आर्टिस्ट पनि। त्यसपछि भेटघाटको क्रम सुरु भयो। हामी दुवै नजिकै बस्थ्यौँ। म साउथ पटेल नगर, ऊ वेस्ट पटेल नगर।
इमरोज अझ सम्झन्छन् – “एकपटक म त्यसै उसलाई भेट्न गएँ। कुरैकुरामा मैले भनेँ – आजकै दिन म जन्मेको हुँ। गाउँमा मानिस जन्मन त जन्मन्छन्, तर उसको जन्मदिन हुँदैन। एक मिनटका लागि ऊ उठी र बाहिर गई। फेरि आएर बसी। केही क्षणमा एकजना नोकरले केक ल्याएर टेबुलमा राखी बाहिरियो। उसले केक काटेर एउटा टुक्रा मलाई दिई, अर्को टुक्रा आफैँले लिई। न उसले ह्याप्पी बर्थ डे भनी, न मैले धन्यवाद नै दिएँ । केवल एकार्कालाई हेरिरह्यौँ। आँखाको भाषा थियो – हामी दुवै खुसी छौँ।”
पिताको थप्पड –
यो त एउटा सुरुआत मात्र थियो। वर्षौं अघि अमृताको दिमागमा एकजना काल्पनिक प्रेमी थियो – राजन। राजन, काल्पनिक प्रेमीलाई अमृताले दिएको नाम। यसै नामलाई अमृताले आफ्नो जीवनको पहिलो नज्मको विषय बनाइन्।
“स्कुले जीवनमै मैले एउटा नज्म लेखेकी थिएँ। सहपाठीहरूलाई देखाउने सोचले त्यो नज्म गोजीमा हालेकी थिएँ’’, बीबीसीसँगको कुराकानीमा अमृताले एकपटक भनेकी थिइन्।
एक दिन अमृताले पितालाई पैसा मागिन्। पिताले पैसा अमृताको हातमा नदिएर गोजीमा हालिदिए। त्यही गोजी, जुन गोजीमा अमृताले जीवनकै पहिलो नज्म हालेकी थिइन्। पिताको हात जब गोजीमा सुरक्षित राखेको नज्ममा पऱ्यो, त्यसलाई निकालेर पढे।
“के यो तिमीले लेखेका हौ?” अमृतालाई पिताले सोधे।
“होइन, साथीले ”, अमृताले ढाँटिन् तर, पिताले अमृताको झुटो पक्रिए। दोहोऱ्याएर पढे। पढेपछि सोधे – राजन को हो?
“कोही होइन” अमृताले भनिन्। विश्वास नै भएन। पिताले जोडले थप्पड हाने र, च्यातिदिए नज्म लेखिएको कागज।
अमृता भन्छिन् – “यसरी अन्त्य भएको थियो मेरो पहिलो नज्म। ढाँटेर आफ्नो नज्ममा कसैको नाम लगाउन चाहन्थेँ, तर एक थप्पडसँग त्यो नज्ममा मेरो नाम टाँसियो।“
बेग्ला-बेग्ला कोठा
आफ्नो प्रेम व्यक्त गर्ने संसारका प्रत्येक प्रेमीलाई इच्छा हुन्छ यद्यपि, यसका लागि अमृता र इमरोज अपवाद थिए। उनीहरूले एकार्कालाई प्रेम गर्छु भनेर कहिल्यै भनेनन्।
इमरोज भन्छन् – “प्रेम छ भने भनिरहने अवश्यकता नै किन? फिल्ममा पनि तपाईंहरू उठ्-बसका ढङ्ग हेरेरै भन्न सक्नु हुन्छ – नायक-नायिकाले एकार्कालाई प्रेम गर्छन् तर, तिनीहरूले परस्परमा पटक पटक भनिरहन्छन् – म तिमीलाई प्रेम गर्छु। तिनीहरू अझ भन्छन् – साँचो प्रेम गर्छु, जस्तो कि प्रेम पनि झुटो हुन्छ। परम्परा नै छ – पुरुष-स्त्री एउटै कोठामा बस्छन्, यद्यपि हामी पहिलो दिनदेखि नै एउटै छानोमुनि बेग्ला-बेग्लै कोठामा बस्यौँ। ऊ रात्रिको समय लेख्थिन्, जब वातावरण सुनसान बन्थ्यो। टेलिफोन गहिरो निदाउँथ्यो। मानिसका आउजाउमा विश्राम लाग्थ्यो। त्यस समय म सुतिसकेको हुन्थेँ। लेखिरहेको समय उसलाई चिया चाहिँदा ऊ आफैँ चिया बनाउन जान सक्थिनन्, त्यसैले एक बजी राति मैले उठ्न सुरु गरेँ । चिया बनाएर चुपचाप उसको अघिल्तिर राखिदिन्थेँ। ऊ लेखनमा यति निमग्न हुन्थी, ध्यान हटाएर कहिल्यै मतिर हेरिन। यस्तो क्रम चालिस-पचास वर्षसम्म चलिरह्यो।“
उमा त्रिलोक, इमरोज र अमृता दुवैका नजिकका साथी, जसले उनीहरूमाथि पुस्तकै लेखेकी छन् – अमृता एन्ड इमरोज- ए लव स्टोरी।
उमा भन्छिन् – “अमृता र इमरोजको प्रेम सम्बन्ध त थियो, तर त्यसमा स्वतन्त्रता धेरै थियो। थोरै मानिसलाई थाहा छ- उनीहरू एउटा घरका बेग्ला-बेग्लै कोठामा बस्थे। यसबारे प्रसङ्ग उठ्दा, इमरोज भन्थे – एकार्काको सुगन्ध त आउँछ। यस्तो जोडी मैले धेरै कम्ती देखेको छु – एकार्कामाथि यति धेरै निर्भर, तर परस्परमाथि दाबी थोरै पनि छैन।“
भाग्यो ज्वरो
सन् १९५८। इमरोजले मुम्बईमा नोकरी पाए । अमृताको मन खल्लो भइरह्यो। अमृतालाई लाग्यो – साहिर लुधियानवी जस्तै अब इमरोज पनि आफूबाट टाढा हुनेछन्।
इमरोज भन्छन् – “गुरु दत्त मलाई आफूसँग राख्न चाहन्थे। वेतनलाई लिएर कुरा अड्केको थियो। एक दिन अचानक नियुक्ति पत्र आयो। मैले चाहे जति नै पैसा दिने सहमति पनि थियो। धेरै खुसी थिएँ। दिल्लीमा अमृता मात्र थिई, जसलाई म आफ्नो खुसी साझा गर्न सक्थेँ। मलाई खुसी देखेर ऊ खुसी त भई, तर उसका आँखा रसायो। अमृताले कुरा घुमाई – ऊ मलाई मिस गर्नेछ, तर केही भनिनन्। म मुम्बई जान अझै तीन दिन थियो। उसले भनी – यी तीन दिन जस्तो कि मेरो जिन्दगीका अन्तिम दिन हो। तीनै दिन उसले जहाँ जान मन गरी, त्यहाँ गयौँ। त्यसपछि म मुम्बई गएँ। म जाने बित्तिकै अमृतालाई ज्वरो आयो। मुम्बईमा नोकरी नगर्ने तय गरिसकेको थिएँ। दोस्रो दिन मैले फोन गरेँ – म दिल्ली फर्किँदैछु। उसले सोधी – सबै कुरा ठिकै छ होइन? मैले भने – ठिकै छ तर, यो सहरमा म बस्न सक्दिनँ। मैले अमृतालाई सुनाइनँ – म उसकै लागि फर्किँदैछु। मैले उसलाई ट्रेन र कोच नम्बर बताइसकेको थिएँ। जब म दिल्ली पुगेँ, ऊ मेरो कोच बाहिर उभिरहेकी थिई। मलाई देख्नसाथै उसको ज्वरो हरायो।“
साहिरसँग पनि प्रेम
अमृताको साहिर लुधियानवीसँग पनि अत्यधिक प्रेम थियो। आफ्नो आत्मकथा रसीदी टिकटमा उनले साहिरसँगको किस्सा, सिगरेटको लतबारे लेखेकी छन्।
अमृताले साहिरलाई आजन्म भुल्न सकिनन्। इमरोजलाई पनि यस कुराको हेक्का थियो। अमृता र इमरोजको मित्रताबारे उमा भन्छिन् – यो उदेक लाग्दो कुरै थिएन। दुवै यसबारे सहज थिए।
उमा त्रिलोक अझ सुनाउँन्छिन् – “अमृता भन्थिन् – ‘साहिर एक प्रकारले आकाश हो, इमरोज मेरो घरको छानो।‘ साहिर र अमृताको प्लेटोनिक प्रेम थियो। इमरोजले मलाई एउटा कुरा भनेका थिए – “जब ऊसँग कार थिएन, त्यसबेला अमृतालाई उसले स्कुटरमा लाने गर्थे। अमृताका औँलाले सधैँ केही न केही लेखिरहन्थ्यो, चाहे उसको हातमा कलम होस् अथवा नहोस्। उसले धेरैपटक पछि बसेका बेला मेरो पिँठ्यूमा साहिरको नाम लेखेकी थिई। यसैबाट मैले थाहा पाएँ- उसले साहिरलाई कतिसम्म मन पराउँछिन् यस कुराले मलाई त फरक पार्दैन थियो। उसले साहिरलाई मन पराउँथिई, म पनि उसलाई मन पराउँथेँ।“
साथी पनि, चालक पनि
अमृता जहाँ पनि जान्थिन्, इमरोजलाई सँगै लिएर जान्थिन्। कतिसम्म भने जब ऊ राज्यसभाका लागि मनोनीत भइन्, इमरोज प्रत्येक दिन अमृतासँग संसद भवनसम्म जान्थे। बाहिर इमरोज अमृतालाई पर्खिबस्थे।
उनी अमृताका साथी पनि थिए, र थिए चालक पनि। इमरोज भन्छन् – “अमृता धेरै चर्चित थिइन्। उसलाई धेरै दूतावासबाट सधैँजसो भोजनका लागि निम्तो आउने गर्थ्यो। म नै उसलाई लान्थेँ-ल्याउँथेँ। कार्डमा मेरो नाम नभएका बेला म भित्रसम्म जान्थिनँ। मेरो डिनर सँगै लान्थेँ। कारमा बसेर सङ्गीत सुन्दै अमृताको प्रतीक्षा गरिरहन्थेँ। बिस्तारै अमृताको प्रेमी पनि भएको कुरा थाहा भयो। त्यसपछि कार्ड मेरो नाममा पनि लेखिन थालियो। जब ऊ संसद भवनबाट बाहिर निस्कन्थिन्, उद्घोषकलाई इमरोजलाई बोलाउन भन्थिन्। उद्घोषकलाई लाग्थ्यो – म उसको चालक हुँ। ऊ कराएर बोलाउँथ्यो।”
शरीर छाडी, साथ छोडेन
अमृताको अन्तिम समय धेरै कष्ट र पीडामा बित्यो। ऊ बाथरूममा लडेकी कारणनितम्बको हड्डी भाँचियो। त्यसपछिको पीडाले अमृतालाई कहिल्यै छोडेन।
उमा त्रिलोक सुनाउँछिन् – “इमरोजले अमृताको सेवामा आफुलाई पूर्ण रूपले समर्पित गरे। ती दिनहरूलाई अमृताका लागि इमरोजले सुन्दर बनाए। अमृताको बिरामीलाई इमरोजले सँगै सहे- उनलाई खुवाउनु, पिलाउनु, नुहाउनु, लुगा फेरिदिनु। ऊ लगभग शाकाहारी बने त्यसपछि, इमरोज अमृतासँग बात गर्थे, ऊमाथि कविता लेख्थे, उसको रुचिका फूल लिएर आउँथे, तर अमृता हाँ हुँ गरेरै भए पनि इमरोजलाई उत्तर दिनसम्म सक्षम थिइनन्।”
३१ अक्टोबर २००५ मा अमताले अन्तिम श्वास फेरिन्, तर इमरोजका लागि अमृता अझै उनीसँगै छन्। उनको एकदमै नजिक।
इमरोज भन्छन् – “उसले शरीर छाडी, तर साथ होइन। अहिले पनि ऊ भेटिन्छन् कहिले ताराको छायाँमा, कहिले बादलको छायाँमा, कहिले किरणका रोशनीमा, कहिले विचारको उज्यालोमा। हामी यसैगरी भेट्छौँ चुपचाप। हामी हिँडेको देखेर फूलले बोलाउँछ। हामी फूलको घेरामा बसेर एकाअर्कालाई आ-आफ्ना कुरा सुनाउँछौँ। उसले शरीर छाडी, साथ होइन।“
अनुवाद- सौजन्य
(प्रख्यात लेखिका अमृता प्रीतमका प्रेमी विख्यात चित्रकार-कवि इमरोज (इन्द्रजीत सिंह) पनि अब यो संसार सशरीर रहेनन्। तीन दिन अघि उनको ९७ वर्षको उमेरमा निधन भयो। रेहान फजलले यो लेख इमरोज जिउँदो हुँदै बीसीसीमा लेखेका हुन्, जसलाई अनुवाद गरी दार्जिलिङ टक्सका पाठकहरूका लागि यहाँ राखेका छौँ। सं-दार्जिलिङ टक्स)
पढौँ-पढाऔँ।