- भविलाल लामिछाने
जिन्दगी आय-व्ययको सूची मात्र होइन। योसँग धेरै हिसाब-पत्र जोडिएका छन्। यसको हिसाब जति जोड-घटाउ गरे पनि मिल्दैन। तलमाथि परिरहन्छ। त्यसैलाई मिलाउन गरेको सङ्घर्ष नै जिजीविषा हो। देशमा शिक्षकस्तरका अरू मानिसहरू पनि छन्। सबैले आ-आफ्ना हिसाब मिलाउने प्रयत्न गर्दा पनि मिल्दैमिल्दैन। यो एउटा अर्ध-विकसित देशको कथा हो, जहाँ शिक्षक लाई ‘गुरु’ त भनिन्छ तर उसको जिउनु-मर्नुसँग कसैको सरोकार भएको देखिँदैन।
रामचरण मास्टरको पनि हिसाब कहिल्यै मिलेको भेटिँदैन।
“ए…सिउन दिनुभो ?”श्रीमती सधैँ भन्छिन्।
“के ?”
“लुगा।“
“ए ! लुगा ? मर्लक्कै बिर्सेछु, यसो गर न – बरु तिमी नै एउटा सारी किन।“रामचरण मास्टर पनि एउटै कुरो धेरैपल्ट दोहोऱ्याउँछन्।
“सारी मैले अर्को महिनामा किन्दा पनि हुन्छ। माइत गएँ भने मेरा दुइटा खसी छन्, बेचेर आउँछु। सर्ट-पेन्ट फाटिसके, एकजोर सिलाइहाल्नोस्। टालेका लुगा लाएर कति हिँड्नु……मान्छेले के भन्लान्…..मास्टर-मान्छे…. एकजोर लुगा पनि गतिला लाउँदैन।“
“कति पो पाइन्छ र खसी दुइटा बेचेर ? अनि दुइटा खसी कतिपल्ट बेच्नु…!”
“हजार रुपियाँ त पाइएला ! एउटा मर्को त टर्छ।“
“लुगा मात्र सिलाएर त हुन्न। अरू पनि खर्च छ घरको।“
“भइहाल्छ। त्यसैबाट मिलाउनु पर्छ……दालमा नुन….अल्नो छ त।“
“नुन त राखेको हो। थोरै भयोहोला। चामल, दाल, नुन, तेल सबै सकिएको छ……भात थपूँ ?”
“……………………..”
“दु……ध….दुध थाप्नोस्।“दुधवालाको आवाज।
मास्टरनी भाँडो लिएर बाहिर निस्किन्छिन्। फर्केर आउँदा उनको अनुहारका नसा तनाउमा हुन्छन्।
“दुधवालाले पैसा माग्दैछ। पचासी रुपियाँ भएछ यो महिनाको।“
“खै कति छिट्छिटो आउँछ यो पैसा तिर्ने दिन पनि ! दूध नराखे पनि मास्टर भएर दूध खान नसक्ने….भन्छन्। तनखाले ‘तँ न खा’ भन्छ……”
“पाँचसय रुपियाँ मात्र रहेका छन् हातमा अब।“
“त्यसैबाट काम चलाऊ।“
“…………………………….. !”
“सारी ल्यायौ ?”
“तपाईंले पेन्टको नाप दिएर आउनोस् न। साढे तीन सय जति बाँचेको छ। सर्ट अर्को महिनामा सिलाउँला। तनखा भएछ भने।“
“तिमीले सारी ल्याऊ न। कति पर्ला र। नपुगेको अर्को महिनामा दिउँला। तनखा पाएपछि। मैले एकसरो राम्रो लुगा दिन सकेको छैन। एउटा सारीसम्म पनि…… आफ्नै पेवाबाट भए पनि ल्याएर काम चलाऊ।“
“तपाईंको पेन्ट फाटेका कति भए ! त्यो पनि टाल्नुछ। रफु गरेको कति लिने हो ! नयाँ सिलाउँदै गरौँला।“
“साँच्चै ! मास्टर भएपछि सबै चलिहाल्छ। मास्टरले धेरै दामी र रङ्गी-चङ्गी लुगा लाउनुहुन्न भन्छन्। गाउँ-घरमा त यस्तै चलिहाल्छ। सादा जीवन उच्च विचार। तिमी त आइमाई मान्छे। इज्जतको कुरो। फाटेका लुगा तिमीलाई सुहाउन्नन्। एउटा राम्रो सारी ऋणै भए पनि किन न है…तिरौँला नि। सधैँ रात परिरहला त ? बिहानीलाई किन नपर्खनु ?”
“………………………………………”
“बबुआ….इन्…….! मस्सा…ला….”
“मसालावाला…..”
मास्टरनी बाहिर जान्छिन्।
“केही राख्यौ ?”
प्याज आधा किलो। अरू मसाला दिएन। भन्छ – “पहिलेको तिरिसक्नोस्।“
“हुन्छ। तनखा पाएपछि तिरिदिनू। मसाला धेरै खानुहुँदैन। ‘ग्यास्ट्रिक’ हुन्छ। नुन पनि पुऱ्याई पुऱ्याई थोरै राख्नु है। चर्को खाँदा प्रेसर हुन्छ।“
“माछावाला पनि कहिले आउने हो ! माछावालाको दिनु छ। सब्जीको दिनु छ…”
“त्यसैबाट दिनुपर्छ।“
“…………………………..”
“खै त केही सिलाउनु भएन ? पैसा सक्किइसके।“
“मैले तिमीलाई भनेको थिएँ। एउटा राम्रो सारी किन।“
“सारी भन्दा पनि जरुरी पेन्ट थियो। सर्ट थियो। तपाईं बाहिर निस्कने मान्छे। म त घरभित्रै रहन्छु। घरमा जस्तो लाउँदा पनि भयो। फाटेकै होस् कसले देख्छ र ? सर्ट पेन्ट धेरै जरूरी थिए, बाहिर पो मास्टरनी। घरभित्र त के…..!”
“तीभन्दा पनि जरुरी सारी थियो।“
“जरुरी त धेरै कुरा थिए। राजुको फिस। छाता बनाएको पैसा। माछावालाको पैसा। दाल-चामलको पैसा। अरुण सरको सापटी तिर्ने पैसा….”
“यसै त। त्यो पनि पाइएको छैन……फेरि स्ट्राइक गर्ने अरे….प्रशासनले भन्दैछ मास्टरहरू स्कुल नआए नोकरी जानेछ। मास्टरहरूले आन्दोलन, स्ट्राइक गर्न पनि नपाउने ! भोक लाग्यो भनेर बोल्न पनि नपाउने ! छात्र-छात्रामा नराम्रो सन्देश जान्छ रे ! राष्ट्रनिर्माणमा मास्टरहरूको सबैभन्दा बढी योगदान हुन्छ। तिनै राष्ट्रनिर्माताहरूको दुर्दशा जुन देशमा छ, त्यो देशका त भगवान् नै मालिक हुन्छन्। संसदमा हिलो छेपाछेप गर्न जाने भ्रष्ट सांसदको एक महिनाको तनखा जति पनि एकजना मास्टरको जिन्दगीभरिको कमाइ हुँदैन। ती मास्टरहरूको आवाजलाई आक्रोशको नाउँ दिइन्छ. …..हड्ताल त हुन्छ नै। त्यतिले पनि भएन भने हामी चुनाउ-बहिष्कार गर्छौं। तन्नेरीहरू त अर्कै बाटो लाग्ने भन्दैछन्। त्यसैले त खेतबारीमा फसलको सट्टा गगोली-गट्ठा उम्रिन्छन्। स्कुल जाने केटा-केटीका झोलामा किताप-पाटी नभएर बम भेटिन्छन्। यस्तै भएर हो… डर लाग्छ…….”
रामचरण मास्टरका आँखामा विवशता मुछिएको आक्रोश झल्किरहेको थियो। जुन देशमा जनता शिक्षित र जाग्रत हुँदैन, त्यो देशमा गणतन्त्र भ्रष्टाचारको पर्यायवाची हुन्छ। चुनाउ आएको छ। अब झोली फैलाएर नेता आउँछन्। पैसा बाँड्छन्। रक्सी बाँड्छन्। जाति देखाउँछन्। धर्म केलाउँछन् अनि भोट माग्छन्। जनता भोट हालेर पाँच वर्ष बन्धक बस्छन्। नेता उम्केका साँढेजसरी संसदभित्र कुर्लेर आफ्नो दुनो सोझाउनतिर लाग्छन्। सत्ता हात लागेपछि तिनैले जनताको शोषण गर्छन्। रामचरणलाई यो कुरोले साह्रै बिथोल्छ। किसानहरू आत्महत्या गरिरहेछन्। पानीको हाहाकार छ। कति वर्षदेखि खडेरी परेको पऱ्यै छ। व्यवस्थाको कुम्भकर्णे निद टुट्दैन। अनि त फसल नहुने बाँझो जग्गामा बन्दुक नउम्रेर के उम्रुन् ? कहिलेसम्म कारागारमा थुनिराख्नु बन्दुकको आवाजलाई ? सबैले ठुला-ठुला कुरा गर्छन्। मास्टर र किसानका कुरा कसैले गर्दैनन्।
बिचरा रामचरण ! मास्टर हुन्। मास्टरले त्यो पनि गर्नुहुन्न। यो पनि गर्नुहुन्न…..देशका निर्माता जन्माउने स्कुलहरू बन्दुकका कारखाना बने भने ? त्यो दुर्दिन नआओस् ! उनको मुटु थर्थरी काम्छ। उनको हिसाब मिलेकै छैन…….भोलि बिहानको घाम उनको जिन्दगीमा कुन पाखोबाट उदाउने हो ! …………………….
“के गर्नु खै! व्यवस्था नै त्यस्तो छ। सबै विवश छन्। देशमा आधाभन्दा बढी मान्छेको हाम्रोजस्तै हाल भएको टिभीले फुकेको फुकै छ”मास्टर्नी भन्छिन्।
“अब हामी चुप बस्दैनौँ. हाम्रो आन्दोलन चर्किन्छ….चर्किन्छ…..”
“हो. तर घर पो कसरी चलाउनु…..?”
“त्यसैले चलाउनुपर्छ…”
“………………………………….”
“सुन्यौ !….छ क्यै आनो ? छ महिना भयो माछा-मासु नखाएको। खोज-खन्तर गरी निकाल न..”
“पचास रुपियाँ जति होला।”
“लिन पठाऊ। आज मासु नै खानु पऱ्यो। मिठो पकाऊ है…..पिरो-पिरो पारेर….अदुवा लसुन पनि मज्जाले राख्नू……..झोलैसँग भात खाउँला आज। अब सब्जीको झोल बनाउने गर। दाल महँगो हुँदैछ। युरिक एसिडले खुट्टा दुख्न थालेको छ। गेडा-गुडी धेरै नखाने।’ मासुको कुरा सोचेर उनको मुखमा पानी भरिएर आयो। एकछाक मीठो-मसिनो खानका लागि एकजना मास्टरले कति सोच्नु परेको !
“मासु त खै आएन……!”
“किन ?”
“भाउ बढेछ। त्यतिले त नानीलाई पोलेर दिनेजति पनि पाइन्न अरे !”
“कति औधी बढेको भाउ ? हुन्छ त….त्यतिको अण्डा त आउला….मगाऊ….अण्डाकै झोल खाऊँ। अलिक तिक्खर बनाउनू।“
“त्यो पैसा पनि मासुवालाले नै राखिदियो। पहिलेको उधारो दिनु थियो…”
“ओ…..हो…”रामचरणको अन्तरबाट एउटा अल्नो आवाज निस्कँदानिस्किँदै हरायो।
(सालबारी)