दार्जीलिङ, २५ नोभेम्बरः भारतको सर्वोच्च नागरिक पुरस्कारमध्ये एक पद्मश्री पुरस्कारले यसवर्ष तीनजना गोर्खा सम्मानित हुने भएका छन्।
प्रतिवर्ष गणतन्त्र दिवसको पूर्वसन्ध्यामा घोषणा गरिने यो प्रतिष्ठित नागरिक पुरस्कारबाट यस वर्ष असमनिवासी वरिष्ठ साहित्यकार लीलबहादुर छेत्री, सिक्किमनिवासी आर्चरी खेलाड़ी तरुणदीप राई र उत्तर प्रदेशनिवासी जितु राई सम्मानित हुनेछ।
आउँदा केही दिनभित्र उनीहरूलाई राष्ट्रपतिले एक समारोहबीच उनीहरूलाई यो सर्वोच्च पुरस्कारबाट सम्मानित गर्नेछन्।
बसाइँ र ब्रह्मापुत्र छेउछाउजस्ता चर्चित उपन्यासका लेखक लीलबहादुर छेत्री नेपाली साहित्यमा एक सम्मानित नाम हो। ब्रह्मापुत्रको छेउछाउ कृतिका लागि छेत्रीले १९८७ मै साहित्य अकादमी पुरस्कार प्राप्त गरिसकेका छन्।
त्यसैगरी जितु राई र तरुणदीप राई क्रमैले ओलम्पियन खेलाड़ी हुन्। जितु राई भारतीय सेनामा कार्यरत् छन्। तरुणदीप आर्चरी र जितु सुटर खेलाड़ी हुन्।
अर्कोतिर, लीलबहादुर छेत्रीलाई पद्मश्री पुरस्कारका लागि चयनित गरिएपछि असम नेपाली साहित्य सभा (अनेसास)-ले आभार प्रकट गरेको छ।
अनेसासका मूल सचिव रूद्र बरालका अनुसार उनीहरूले ८७ वर्षीय लीलबहादुर छेत्रीलाई उनले साहित्य र शिक्षामा पुऱ्याएको योगदानको मूल्याङ्कन गरी पद्मश्री पुरस्कार प्रदान गर्नुपर्ने माग पछिल्लो तीनवर्षदेखि गर्दै आएका थिए।
स्मरणरहोस्, पद्मश्री पुरस्कार पाउने उनी असमका पहिलो गोर्खा हुन्।
पछिल्लो १४ नोभेम्बरका दिन पनि अनेसासले असमका मुख्यमन्त्री सर्वानन्द सोनोवालसँग भेट गरी यो माग राखेका थिए।
यसका साथै छेत्रीले पद्मश्री पुरस्कार पाउनुपर्ने मागमा अनेसासले दार्जीलिङका सांसद राजु विष्ट र असमका विधायक गणेश लिम्बूसँग कुराकानी गरिसकेको थियो।
हामी गर्वित छौं पुरस्कार प्राप्त गर्नेहरूप्रति