खरसाङ, 19 फरवरी : खरसाङ महकुमाअन्तर्गत पर्ने तराईको सिमलबारी चियाकमान बन्द भएको छ। सोमवार मेलोमा निस्केका श्रमिकहरूले चियाकमानको मूलद्वारमा ताला लागेको देखेपछि बिना सूचना चियाकमान बन्द भएको थाह पाए।
उल्लेखनीय छ, रोजवृद्धिका लागि चियामालिक र श्रमिकहरूबीचको विवादकै कारण सिमलबारी चियाकमान बन्द भएको बताइएको छ। चियाकमान बन्द भएपछि त्यहाँ 1200 स्थायी र सात अस्थायी श्रमिक/कर्मचारी बिचल्लीमा परेका छन्। बिनासूचना मालिकपक्षले चियाकमान बन्द गरेपछि उनीहरू समस्यामा फँसेका छन्।
सिमलबारी चियाकमानका श्रमिकहरूका अनुसार पछिल्लो 17 फरवरीको दिन श्रमिकहरूका प्रतिनिधिगण र मालिकपक्षबीच रोजवृद्धिलाई लिएर बैठक भएको थियो।
सभामा श्रमिकवर्गको प्रतिनिधिहरूले मासिक वेतनमा 17.50 रुपियाँको वृद्धि हुनुपर्ने माग राखेका थिए, तर श्रमिकहरूले 8 घण्टा काम गरेमात्र उल्लिखित दरको रोजवृद्धि हुने अड़ानमा अड़िग रह्यो। मालिकपक्षको तर्क श्रमिकवर्गले 8 घण्टाको सट्टामा केवल 6 घण्टा काम गर्ने गरेकोले दैनिक चिया उत्पादन घटेको छ। यसैबीच, मालिकपक्ष र श्रमिकवर्गका प्रतिनिधिहरूबीच विवाद भएको बताइएको छ।
आगामी मार्च महिना महिनादेखि चियापत्ती टिप्न शुरु भएपछि 8 घण्टा काम गर्ने प्रतिश्रुति पनि श्रमिकहरूले दिएको थिए, तर यसलाई मालिक पक्ष मान्न तयार नभएको पनि बताइएको छ।
जतिसक्दो चाँड़ो राज्य सरकारले हस्तक्षेप गरी मालिकपक्ष र श्रमिकवर्गबीच बैठक आयोजन गर्न पहल गर्नुपर्ने श्रमिकहरूले माग गरेका छन्।
यसका साथै उनीहरूले चियाकमान नखोलिएसम्म राज्य सरकारले श्रमिकहरूलाई आवश्यक खाद्य सामग्री वितरण गर्नुपर्ने माग पनि गरेका छन् छ। यदि यसो नगरिएको खण्डमा आगामी दिनमा भोक हड़ताल बस्ने चेताउनी पनि ती श्रमिकहरूले दिएका छन्।
चियाकमानको मूलगेटमा ताला देखेपछि आक्रोशित बनेका ती श्रमिकहरूले आज मालिकपक्षविरुद्ध चर्को नारा पनि लगाएका थिए।
अर्कोतिर मालिकपक्षले आइतवार काम निलम्बन गरिएको नोटिस संयुक्त श्रमायुक्त सिलगढ़ी र सहश्रमायुक्त खरसाङलाई पठाएको छ, जसको प्रतिलिपि विभिन्न श्रमिक सङ्गठनलाई पठाएको बताइएको छ।
नोटिसमा श्रमिकहरूमा कार्य संस्कार र अनुशासनबारे मालिकपक्षले 8, 16, 18 र 21 फरवरी गरी लगातार चारपटक नोटिस पठाएको तर ती नोटिसहरूमा उल्लेख गरिएका कुराहरू कार्यान्वयन नभएको दाबी गरिएको छ। स्मरणरहोस्, 1 फरवरी 2017-मा पनि सिमलबारी चियाकमान बन्द भएको थियो।