शहीद बीआर देवानको सालिक अनावरण, पर्जापट्टा दिलाएरै छोड़्ने विनयको घोषणा

0
1047

दार्जीलिङ, 25 फरवरीः शहीद बीआर देवानको सालिक अनावरण कार्यक्रमको अवसरमा गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङले कसै गरी पनि चियाकमानका मानिसहरूलाई उनीहरूको जमिनको पर्जापट्टा दिलाएरै छोड़्ने घोषणा गरेका छन्।

केवल चियाकमानका मानिसहरूलाई मात्र होइन, तर सिन्कोना बगान, डीआई फण्ड,  वनबस्ती र अन्य भूमिहीन मानिसहरूलाई पनि उनीहरूको जमिनको पर्जापट्टा दिलाउने आजका दिन प्रण गरेको तामाङले बताए।

उनले पर्जापट्टाका लागि गर्नुपर्ने कार्य सबै लगातार रूपमा गरिरहेको र चाँड़ै यो विषयमा सफलता प्राप्त गर्ने दाबी गरे।

आज चुङथुङमा आयोजित बीआर देवान सालिक अनावरण कार्यक्रममा तामाङ प्रमुख अतिथिको रूपमा उपस्थित थिए।

देवानको सालिक चुङथुङको सल्लाघारीस्थित प्रमिला पार्कमा स्थापित गरिएको छ।

सामाजिक र साहित्यिक चेतका जुझारु बीआर देवानले चियाश्रमिकहरूमाथि मालिकपक्षले गर्नेगरेको अन्याय-अत्याचार र शोषणको विरुद्ध 2006 -मा आजकै दिन आत्महत्या गरेका थिए

 किनभने  ससाना बहाना बनाएर घरी घरी चुङथुङ चियाकमान बन्द गर्ने तत्कालीन मालिक अजीत कुमार अग्रवालले चियाश्रमिकहरूमाथि गरेको अन्याय-अत्याचार र शोषणबाट देवान आजित भएका थिए।

जसको फलस्वरूप मालिक अग्रवालको विरोधमा उनले आत्महत्या गरेका थिए। उल्लेखनीय छ, अजीत कुमार अग्रवालले चुङथुङ कमान चलाएको 25 वर्षमा करिब 24 चोटि कमान बन्द भएको थियो।

आज उनको 14औं पुण्यतिथिको अवसरमा सालिक  अनावरण गरिएको हो। 3 लाख रुपियाँको लागतमा फाइबरद्वारा बनाइएको  उक्त सालिकका मूर्तिकार अमिर सुन्दास हुन्।

अर्कोतिर, चियाश्रमिकहरूमाथि मालिकपक्षले गर्ने गरेको अन्याय-अत्याचार र शोषणको विरोधमा आफ्ना पिता बीआर देवानले प्राणको आहुति दिए तापनि अझै चियाकमानमा शोषण, अन्याय-अत्याचार पहिलाजस्तै रहेको बताए।

पिताको बलिदानपछि चियाश्रमिकहरूको अवस्था उस्तै रहेको तथा उनीहरूले पहिलाजस्तै शोषण, अन्याय-अत्याचार सहन बाध्य भइरहेको छोरो लक्ष्मण देवानले बताएका छन्।

उनका अनुसार अहिले पनि चुङ्थुङ चियाकमानका श्रमिकहरूले 15-15 दिनमा दिने तीन महिनाको रोज र कर्मचारीहरूले दुई महिनाको वेतन पाएका छैनन्। त्यस्तै अन्य सहुलियत पनि यस चियाकमानका श्रमिक-कर्मचारीहरूले नियमित रूपमा पाउन नसकिरहेको उनले बताएका छन्।

यसैबीच, आज स्व. देवानका परिवार र मूर्तिकार अमिर सुन्दासलाई पनि कार्यक्रममा सम्मान जनाइएको थियो।

उल्लेखनीय छ, 25 फरवरी 2006 मा बीआर देवानले चुङथुङ चियाकमान र चियाश्रमिक अवस्था सुधारका लागि प्राणको बलिदान दिएपछि  यसको करिब एक वर्षपछि यस चियाकमानलाई बन्सल टी. कम्पनीले सञ्चालन गरिरहेको छ।

यद्यपि बीआर देवानले सोचेजस्तो यस चियाकमानको पूर्ण कायाकल्प भने हुनसकेको छैन।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here