कालेबुङ, 25 फरवरीः अहिलेघरी गोरामुमोले जिद्दी गरिरहेको छैटौं अनुसूचीको मुद्दालाई केन्द्र गरी घटक दलहरूबीच चर्किएको बाझाबाझले गोर्खाल्याण्डविरोधी तत्त्वहरूलाई फाइदा पुगिरहेको अखिल भारतीय गोर्खा लीग प्रताप खाती गुटले बताएको छ।
सोमवार भाजपाका विधायक नीरज जिम्बाले ‘गोरामुमोले भाजपालाई छैटौं अनुसूचीको मुद्दामा सघाएको’ र ‘छैटौं अनुसूचीको विरोध गरिरहेको विमलपन्थी गोर्खा जनमुक्ति मोर्चाले भाजपालाई कुन मुद्दामा सघाएको छ, त्यसको पोल खोल्ने’ भन्नेजस्ता बयान दिएपछि घटक दलहरूमा देखिएको झगड़ालाई केन्द्र गरी परस्परविरुद्धको बयानले गोर्खाल्याण्डविरोधीहरूलाई सजिलो बनाइदिने कार्य भइरहेको प्रताप खातीले बताएका छन्।
गोरामुमो र विमलपन्थी मोर्चाबीच छैटौं अनुसूचीलाई केन्द्र गरी चर्किएको बाझाबाझमाथि प्रतिक्रिया व्यक्त गर्दै खातीले भने, “केही पाउन लागिरहेको समयमा हामीहरू आफैबीच झगड़ा परेर आफ्नै खुट्टामा बञ्चरो हान्ने प्रयास गरिरहेका छौं। यस्तो गर्नु सबैभन्दा ठूलो मूर्खता हो। यसपालि पनि हामी चुक्यौं भने कहिले केही प्राप्त गर्नसक्दैन। यो जनतालाई सबैभन्दा ठूलो भूल हुनेछ।”
उनका अनुसार स्थायी राजनीतिक समाधानअन्तर्गत बङ्गालबाट छुट्टिनका लागि अन्य राजनीतिक दलहरूलाई पनि समेट्नुको सट्टा उल्टै बाझाबाझ गरेर फुट्न काम भइरहेको छ।
“सबैले स्थायी राजनीतिक समाधानमार्फत् बङ्गालबाट छुट्टिन चाहन्छन्। त्यो गोर्खाल्याण्ड या केन्द्रशासित प्रदेशबाट मात्र सम्भव छ”, प्रताप खातीले थपे, “हाम्रो माग बङ्गालभित्रको व्यवस्था कदापि हो। हामीले आजका दिनसम्म गरिरहेको सङ्घर्ष र माग पनि बङ्गालबाट छुटनाम नै हो। यसैले सबैले बाझाबाझ छोड़ेर राज्यकै लागि एकजुट हुनपर्नेछ।”
अर्कोतिर, उनले सबै घटक दललाई मनमुटाउ र विवादलाई सुल्झाइहाल्ने अनुरोधसमेत गरेका छन्।
“जनताले जुन सपना देखेर हामीलाई जिताएका छन्, त्यसको हामीले कदर गर्नुपर्छ। जनताले चाहेको भनेको छुट्टै राज्य हो। यसलाई हामी सबैले बुझेर परस्परविरुद्धको मनमुटाउ र विवादलाई सुल्झाउन पर्नेछ। नभए हामीलाई जनताले कहिल्यै माफी गर्नेछैनन्”, उनले भने।