चियाकमान खुल्ला राखिएकोमा आक्रोशित बने अनित थापा, बन्दका लागि गरे अन्तिम अपील

0
1060
अनित थापा (फाइल फोटो)।

दार्जीलिङ, 25 मार्च: आज पनि दार्जीलिङ पहाड़का अधिकांश केही कमानमा पूर्णरूपले काम चल्यो।

चियाश्रमिकहरू आफ्नो ज्यानको माया मारेर दैनिक १७६ रुपियाँ रोजी पकाउन काममा जान बाध्य बने। यसमाथि जीटीए अध्यक्ष अनित थापाले आक्रोश व्यक्त गर्दै फेरि चियाकमानका  मालिकहरूलाई शीघ्र चियाकमानहरू बन्द गरिदिने अपील गरेका छन्।

उनले यस अपीललाई आफ्नो अन्तिम अपील हो भन्दै अबोप्रान्त कुनै अपील नगर्ने पनि चेताउनी दिएका छन्।

यति मात्रै होइन, यी चियाकमानका मालिकहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वान वा अपीललाई पनि टेरपुच्छर नलाएको स्पष्ट भएको छ।

हिजो प्रधानमन्त्री मोदीले आज २५ मार्चदेखि सम्पूर्ण देश नै लकडाउनको घोषणा गरेका थिए। यसअवधि प्रत्येक राज्य, जिल्ला, नगरपालिका क्षेत्र, ग्रामीण इलाकामा यो लकडाउन पूर्णरूपले लागू हुने घोषणा गरेका थिए।

उनले आज फेरि भनेका छन्, “चियाकमानहरू चाँड़ोभन्दा चाँड़ो बन्द गरिदिनुपर्छ। मैले धेरैपल्ट चियाकमानहरू बन्द गरिदिने अपील गरिसकें, तर अझैसम्म पनि चियाबगान मालिकपक्ष आफ्नो कानमा तेल हालेर बसिरहेका छन्।’’

थापाले थप भनेका छन्, “चियाश्रमिकहरूको आर्थिक अवस्थामा कुनै प्रभाव नपरोस् भनेर नै मैले जीटीए चेयरमेन रिलिफ फण्डको पनि स्थापना गरिसकेको छु। यसमा कसैले पनि आर्थिक सहयोग प्रदान गर्न सक्नेछन्।’’

उनका अनुसार चियाश्रमिकहरूलाई केही हदसम्म भए पनि सहयोग पुऱ्याउनु नै यो रिलिफ फण्ड शुरु गरिएको हो।

“चियाकमानमा काम गर्नेहरू सबै मेरा सन्तान हुन्, म उनीहरूको सुरक्षा र स्वास्थ्यका लागि कुनै पनि हदसम्म जानसक्छु’’, अनितले भनेका छन्, “यसैले चियाकमान मालिकहरूले चियाश्रमिकहरूको हितमा आफ्नो दायित्व निर्वाह गर्नुपर्छ।’’

जीटीएले आफ्नो क्षमता र आफूसँग उपलब्ध साधानको आधारमा चियाश्रमिकहरूलाई सहयोग गर्ने उनको भनाइ छ।

यसैले यी चियाश्रमिकहरूलाई सहयोग प्रदान गर्न सबैले सहयोगको हात अघि बढ़ाउनुपर्ने थापाले बताएका छन्।

“म सधै चियाश्रमिकहरूको हितमा थिएँ अनि सधैं उनीहरूकै साथमा रहनेछु’’, अनित थापाले थपे, “यसैले चियाश्रमिकहरूलाई न्याय दिलाउन म सधैं अघि बढ़िरहनेछु।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here