एसकेएमले घोषणा गऱ्यो उम्मेदवारहरूका नाम, पीएस गोले सोरेङ-च्याखुङ र रिनकबाट चुनाउ लड्ने

0
470

गान्तोक, 25 मार्चः सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) –ले आज विधानसभाका बत्तिसवटै आसन र एक मात्र लोकसभाका लागि आफ्नो उम्मेदवारको घोषणा गरेको छ ।

आज गान्तोकको पार्टी मुख्यालयबाट एसकेएम नेतृत्वहरूले आफ्ना उम्मेदवारका नाम घोषणा गरेका हुन् ।

घोषणाका अनुसार पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिँह तामाङ गोले सोरेङ-च्याखुङ र रिनकबाट चुनाउ लड्नेछन् ।

त्यसैगरी निवर्तमान मन्त्रिपरिषदमा रहेका कुङ्गा निमा लेप्चा, सोनाम लामा, सान्डुप लेप्चा, एमएन शेर्पा, सञ्जीत खरेल, लोकनाथ शर्मा, बेदुसिँह पन्त,  एलबी दास, अरुण उप्रेती, र भीमहाङ लिम्बूलाई एसकेएमले टिकट दिएको छ । उनीहरूलाई उनीहरूकै निर्वाचन क्षेत्रबाट पुनः उम्मेदवार बनाइएको हो ।

यसपटक मुख्यमन्त्री प्रेमसिँह तामाङ (गोले)-का छोरो एवं सोरेङ-च्याखुङका विधायक आदित्य गोले, रिनकका विधायक विष्णु कुमार शर्मा, जूम-सालघारीकी विधायिका सुनिता गजमेर, योक्सम टाशिडिङका विधायक एवं विधानसभाका उपाध्यक्ष साङ्गे लेप्चा कबी –लुङ्चोकका विधायक एवं राज्यका वन विभागीय मन्त्री कर्मा लोडे भोटियाको भने टिकट काटिएको छ ।

अर्कोतिर 2019 –मा एसडीएफको टिकटमा चुनाउ जितेर पछि एसकेएममा सामेल भएका जीटी ढुङ्गेल र एम. प्रसाद शर्मामध्ये जीटी ढुङ्गेलले मात्र टिकट पाएको छ । ढुङ्गेललाई अप्पर तादोङकै उम्मेदवार बनाइएको छ । नाम्चेबुङका विधायक एम प्रसाद शर्माको टिकट काटिएको छ । त्यहाँबाट एसकेएमले राजु बस्नेतलाई चुनाउमा उतारेको छ । राजु बस्नेत केही दिन अघि स्वेच्छिक अवकाश लिएर एसकेएममा सामेल भएका थिए ।

सबैभन्दा रोचक कुरो के छ भने एसडीएफ अध्यक्ष एवं पूर्व मुख्यमन्त्री पवन चाम्लिङको निर्वाचन क्षेत्रबाट एसकेएमले कृष्ण कुमारी राईलाई टिकट दिएको छ । कृष्ण कुमारी राई एसकेएम अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिँह तामाङ गोलेकी श्रीमती हुन् । यो निर्वाचन क्षेत्रमा चाम्लिङ अहिलेसम्म अजेय छन् ।

अर्कोतर्फ, एसकेएमले मानेबुङ-देन्तामबाट सुदेश कुमार सुब्बा, रिन्चेनपुङबाट इरुङ छिरिङ लेप्चा, जूम-सालघारीबाट मदन सिन्चुरी, बर्फुङबाट रिक्सल दोर्जी भोटिया, मल्लीबाट नरबहादुर प्रधान, पोकलोक-कामराङबाट भोजराज राई,  खाम्दोङ-सिङ्तामबाट नरबहादुर दाहाल, तुमिन-लिङ्गीबाट साम्डुप छिरिङ भोटिया,  नाथाङ-माचोङबाट पमिन लेप्चा, छुजाचेनबाट पुरण गुरुङ, गान्तोकबाट दिले नामग्याल बर्फुङ्पा, अप्पर बुर्तुकबाट कला राई, कबी-लुङ्चोकबाट थिन्ले छिरिङ भोटिया पनि टिकट दिएको छ ।

यसैबिच, हिजो भारतीय जनता पार्टी त्यागेका निवर्तमान विधायक क्रमैले राज कुमारी थापा, पिन्छो नामग्याल लेप्चा र सोनाम छिरिङ भेन्चुङ्पालाई पनि एसकेएमले आफ्ना उम्मेदवार बनाएको छ । राजकुमारी थापालाई राङ्गाङ-याङ्थाङबाट, सोनाम छिरिङ भेन्चुङ्पालाई मार्तम-रुम्तेकबाट र पिन्छो नामग्याल लेप्चालाई जङ्गुबाट टिकट दिएको छ ।

अर्कोतर्फ, एसकेएमले लोकसभाको टिकट इन्द्रहाङ सुब्बालाई नै दिएको छ।

उल्लेखनीय छ ,  २०१९ को विधानसभा चुनाउमा एसकेएमले १७ सिट जितेर सरकार गठन गरेको थियो ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here