सिलगढ़ी, 25 अप्रेल : सिलगढ़ीको समर नगरमा भएको वृद्धा पुकी उराँव (80)-को हत्याको मामिलामा प्रधान नगर पुलिसले आरोपी दुई युवकलाई पक्राउ गरेको छ। पक्रा परेका दुई आरोपी युवकको नाम कार्तिक उराँव र लड्डु बताइएको छ।
प्रधाननगर पुलिसका अनुसार बुधवार राति नै दुवैलाई पक्राउ गर्न पुलिस सफल बनेको हो।
उल्लेखनीय छ, यी दुई युवकले नै ती वृद्धालाई मङ्गलबार घरबाट बोलाएर कतै लिएर गएका थिए, त्यसपछि वृद्धा पुकी उराँव बेपत्ता बनेकी थिइन् भने घर परिवारले रातभरि खोज्दा पनि उनको सुइको लागेको थिएन। तर, बुधबार बिहानै घरबाट प्रायः 100 मिटरमा सिमलगढ़ीको एक मैदानबाट वृद्धाको शव बरामद गरिएको थियो।
वृद्धाको अनुहारलगायत शरीरमा गहिरो चोटको दाग थियो भने शव निवस्त्र अवस्थामा पाइएको थियो।
यसपछि पुलिसले दुवै आरोपीलाई पक्राउ गर्न अभियान शुरु गरेको थियो। प्रधान नगर थानाका अनुसार गोप्य सूत्रबाट प्राप्त जानकारीको आधारमा एक अभियान चलाएर पुलिसले हिजो राति दुवै आरोपीलाई पक्राउ गरेको हो।