विनय तामाङको बयान गलत र कोर्टको अर्डरको अवमानना हो : बीपी बजगाईं

0
1344
जर्नलिस्ट क्लबमा पत्रकारहरूलाई सम्बोधन गर्दै बीपी बजगाईं।

सिलगढ़ी, 25 अप्रेल : बुधबार गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) –को अधिकारको दाबीबारे जलपाइगढ़ी सर्किट बेञ्चले सुनाएको फैसलाबारे गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङले झूटो बयान दिएको विमल गुरुङपन्थी गोजमुमो प्रवक्ता बीपी बजगाईंले बताएका छन्।

बिहीवार सिलगढ़ीको जर्नलिस्ट क्लबमा एक पत्रकार सम्मेलन आयोजन गरी उनले भने, ‘‘हिजो जलपाइगढ़ी सर्किट बेञ्चले सुनाएको फैसलाबारे जीटीए बोर्ड अव् एड्मिनिस्टेटरका अध्यक्ष विनय तामाङले भिडियो जारी गरेका छन्। उक्त भिडियोमा उनले गोजमुमोका उम्मेदवारको रूपमा चुनाउ लड़्न सक्ने बताएका छन्। उनले कोर्टको कुरालाई  रेफरेन्स दिँदै यस्तो बताएका छन्, तर विनय तामाङले दिएको रेफरेन्स गलत छ।’’

तामाङले गलत रेफरेन्स दिएर कोर्टको फैसलालाई अवमानना गरेको पनि बजगाईंले बताएका छन्। किनभने गोर्खा जनमुक्ति मोर्चाले 1 सेप्टेम्बर 2017 –मा विनय तामाङलाई पार्टीबाट निष्कासित गरेको पनि बताए।

‘‘आज हामीसँग ती सबै दस्तावेज छन्। र, हामीले भारतीय चुनाउ आयोगमा यी सबै दस्तावेज सुम्पिएका छौं’’, उनले थपे, ‘‘गोजमुमो पार्टीलाई नै अपहरण गर्ने विनय तामाङको जुन उद्देश्य थियो, त्यसलाई हिजो अदालतले हुन दिएन।’’

विमलपन्थी गोजमुमोका प्रवक्ताले थपे, ‘‘गोजमुमो विनय खेमा भनेर उनीहरूले चुनाउ लड़न पाउने बताउनेछ भनेर हिजो विनय तामाङले भनेका थिए, यो सरासर गलत हो।’’

यसअवधि बजगाईंले पत्रकारहरूलाई कोर्टको अर्डर पनि देखाउनका साथै पढ़ेर सुनाए। अर्डरमा दुवैले पार्टीले निर्दलीय उम्मेदवार उठाउनु पर्ने स्पष्ट बताइएको पनि उनले जनाए।

‘‘जुन उम्मेदवार हुनेछ, उ निर्दलीय हुनेछ। कोर्टको फैसला हामीलाई स्वीकार छ। कोर्टले निर्दलीय उम्मेदवारको रूपमा चुनाउ लड़ने फैसला यसकारण सुनाएको हो, किनभने चुनाउ नजिक छ। यसमाथि फैसला गर्ने समयको कमी छ’’, उनले थपे, ‘‘कोर्टको फैसलालाई हामी स्वागत गर्छौं। हामी कोर्टको कुरालाई मान्छौं। हाम्रो अहिले नै उम्मेदवार तय भएको छैन। हामी गठबन्धनमा छौं। गठबन्धनका पार्टीहरूबीच चर्चा भइरहेको छ।’’

उनले कोर्टको कुरालाई मान्ने र मानिसहरूलाई दिग्भ्रमित नपार्ने पनि बताए। यसअवधि बजगाईंले विनय तामाङको बयान गलत मात्र नभएर मानिसहरूलाई दिग्भ्रमित पार्ने रहेको पनि बताए। साथै तामाङको गलत बयानबारे कोर्ट र चुनाउ आयोगले संज्ञान लिनुपर्ने माग गरेका छन्।

अर्कोतिर उनले दार्जीलिङ विधानसभाको उपचुनाउमा विनय तामाङ आफै खड़ा भएकोले तामाङलाई पराजित गरी उनीहरूसँग कुनै जनाधार नरहेको स्पष्ट पार्ने गठबन्धनका दलहरूले एउटा राम्रो मौका पाएको पनि बताए।

उल्लेखनीय छ, बुधबार जलपाइगढ़ीस्थित डिभिजन बेञ्चले चुनाउ आयोग र गोजमुमोका दुवै पक्षको कुरा सुनेर दार्जीलिङ विधानसभा चुनाउको उपचुनाउको नोटिस जारी भइसकेकोले अनि २९ अप्रेलभित्र नामाङ्कन-पत्र बुझाउनुपर्ने भएकोले गोजमुमो पार्टीको नाममा यो चुनाउ दुवै पक्षले लड़न नपाउने आदेश दिएको छ। यद्यपि दुवै पक्षका निर्दलीय उम्मेदवारलाई उनीहरूको दलीय पक्षले सघाउन सक्ने आदेश सुनाएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here